धरान स्मार्ट बसपार्कको निर्माण तीव्र

धरान (अस) । राजनीतिक खिचातानी र विवादको कारण स्मार्ट बसपार्क निर्माणमा देखिएको अन्योल हटेर काम सुचारु भएपछि धरान उपमहानगरपालिका–८ सुन्दरबस्ती आयोजना स्थलका जग्गाधनी उत्साहित भएका छन् । बसपार्क निर्माणका लागि निःशुल्क जग्गा दिएको दुई दशकपछि कामले गति लिएपछि स्थानीयवासी उत्साहित भएका हुन् । दुई महिनाअघि बसपार्क निर्माणका लागि बजेट सुनिश्चित भएको थियो । अहिले बसपार्कको काम धमाधम भइरहेको छ । बसपार्क निर्माणका लागि सुनसरीकै बिकोइ गिताञ्जली जेभीले ठेक्का पाएको छ । कम्पनीले भ्याटबाहेक २० करोड १८ लाख ४६ हजार १३१ रुपैयाँमा ठेक्का पाएको थियो । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनिसकेपछि बसपार्क निर्माणले गति लिएको हो । डीपीआर अनुसार स्मार्ट बसपार्क बेसमेन्ट (अन्डरग्राउन्ड पार्किङ) सहित तीन तलाको हुनेछ । डिजाइनअनुसार बेसमेन्ट २०० साना गाडी र १५० ओटा मोटरसाइकल अट्ने क्षमताको हुनेछ । यसैगरी भुइँतलामा ४९ बस र १५ ओटा साना गाडी राख्ने ठाउँ हुनेछ । उपमहानगरका अनुसार सतहबाट गन्तव्यमा छुट्ने गाडी मात्र राखिनेछ । त्यहाँ १२ ओटा विभिन्न रूटमा जाने गाडीको पार्किङ संरचना निर्माण हुनेछ । धरान उपमहानगरपालिकाका योजना महाशाखा प्रमुख सुरज श्रेष्ठका अनुसार ड्रेनसहित बसपार्कको बेसमेन्ट र मदन भण्डारी राजमार्ग जोड्ने सडकको काम पनि अघि बढेको छ । ड्रेन निर्माणका लागि धरानका निर्माण व्यवसायी जनसेवक भण्डारीले ६ करोड रुपैयाँमा ठेक्का लिएका छन् । बसपार्कको निर्माणमा संघीय सरकारको ५० प्रतिशत लगानी रहनेछ भने लागतको ५० प्रतिशत धरान उपमहानगरपालिकाले बेहोर्ने भएको छ । त्यसैगरी ड्रेन निर्माणका लागि सम्पूर्ण बजेट उपमहानगरकै रहेको छ । बसपार्क टर्निमल भवनको तेस्रो तला यात्रुको प्रयोगमा आउनेछ । सो तलामा क्याफे, पुस्तकालय र व्यापारिक कक्ष रहनेछन् । धरानको बसपार्क साँघुरो भएको भन्दै धरान उपमहानगरपालिकाले २०५८ सालमा धरान–८ सुन्दरबस्तीमा सार्ने योजना ल्याएको थियो । तत्कालीन कार्यवाहक नगरप्रमुख मञ्जु भण्डारीको पहलमा विवाद समाधान भएको थियो । भण्डारीकै पहलमा संघीय सरकारले बजेट सुनिश्चित गरिदिएपछि निर्माण प्रक्रिया अघि बढेको हो ।