रुस-युक्रेन युद्धः अमेरिकाद्वारा रुसमा थप आर्थिक प्रतिबन्धको घोषणा, डलर आयातमा पनि रोक

फागुन १३. काठमाडौं । रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको बताइएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीवार ह्वाइट हाउसमा रुसमाथि नयाँ र थप प्रतिबन्धहरुको घोषणा गरेको हुन् ।  बाइडेनले रुसले गर्नसक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्नेगरी र डलर आयातमा समेत प्रतिबन्ध लगाउने गरी नयाँ नाकाबन्दीको घोषणा गरेका छन् ।  रुसले युक्रेनमाथि आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै पनि हजारौँ नागरिकहरू सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ ।  रुसले केही महीनाको प्रयासपछि बिहीवार युक्रेनमा हमला गरेको थियो । सैन्य हमलामा परी युक्रेनको राजधानी लगायतका सहरमा केही नागरिकको ज्यान पनि गएको छ ।  सो हमलापछि राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौँ मुख्य सहरमा प्रदर्शनहरू नै भएको थिए । ती प्रदर्शनमा परेर अहिलेसम्म १ हजार ७०० जनालाई पक्राउ गरिएको छ । रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शुक्रवार दोस्रो दिन हो । रुसले गरेको सो आक्रमणका विरुद्धमा रुसी राजधानीमा नै युद्धविरोधी नाराहरू लेखिएका प्लेकार्डसहित हजारौँ मानिस सडकमा आएका थिए ।  रुसी सहरमा मात्र नभएर विश्वका अन्य कैयौँ सहरमा पनि युद्धको विरोधमा प्रदर्शन भएका छन् । ती प्रदर्शनहरुमा रुसले युक्रेनमा गरेको हमलाको विरोध गरिएको छ । (रासस/सिन्ह्वा)