सेवासुविधा पर्याप्त नहुँदा धमाधम अवकाश लिँदै सुरक्षाकर्मी

काठमाडौं । नेपालका सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मीले जागीर छोड्ने क्रम बढेको छ । नेपाली सेना र प्रहरी दुवैतिरका ठूलो संख्याका सुरक्षाकर्मीले पछिल्लो समय स्वैच्छिक अवकाश रोजिरहेका छन् । निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार विगत ५/६ वर्षदेखि सुरक्षाकर्मीले चाँडै अवकाश लिने क्रम बढेको हो । आर्थिक वर्ष (आव) २०७४/७५ सम्म ७१ हजार २ सय ८२ नेपाली सेना र ४४ हजार २ सय ७३ प्रहरीले निवृत्तिभरण बुभ्mथे । आव २०७८/७९ मा ९२ हजार ८ सय ८५ नेपाली सेना र ५८ हजार ३ सय ९८ प्रहरीले पेन्सन बुझेको तथ्यांकले देखाउँछ । चालू आव २०७९/८० को १० महीनामा ४ हजार ९ सय ४९ नेपाली सेना र १ हजार ४ प्रहरीले अवकाश लिएका छन् । पछिल्ला वर्षहरूमा स्वैच्छिक अवकाश लिनेमा तल्लो दर्जा (सिपाही, हवल्दार) का सुरक्षाकर्मीको संख्या धेरै छ ।  अहिले नेपाली सेनाले १६ वर्ष र प्रहरीले २० वर्षमा स्वैच्छिक अवकाश दिने गरेको छ । तालीमप्राप्त र अनुभवी सुरक्षाकर्मी अनिवार्य अवकाशको अवधिसम्म सेवामा नबस्दा राज्य उनीहरूबाट लिन सकिने फाइदाबाट वञ्चित भइरहेको छ । साथै आफ्नो ऊर्जाशील समय देशको शान्ति सुरक्षामा लगाएका सुरक्षाकर्मी दीर्घकालसम्म यहीँ किन टिकिरहेका छैनन् त भन्ने प्रश्न पनि उठिरहेको छ ।  पूर्वसुरक्षाकर्मी परिषद् नेपालले कम सेवासुविधाका कारण तल्लो दर्जाका सुरक्षाकर्मीले छिटो अवकाश लिने गरेको बताएको छ । परिषद् अध्यक्ष कमल रावत चौबीसै घण्टा शान्ति, सुरक्षा एवं सीमा रक्षामा खटिने सुरक्षाकर्मीको सेवासुविधा राज्यले बढाउनुपर्ने बताउँछन् ।  ‘स्वैच्छिक अवकाश लिने वा अनिवार्य अवकाशको समयपहिले नै जागीर छोड्ने सुरक्षाकर्मीको संख्या ठूलो छ । सेवासुविधा पर्याप्त नहुँदा यस्तो भएको हो । तल्लो दर्जाका सुरक्षाकर्मीलाई अहिलेको तलब भत्ताले परिवारको गुणस्तरीय जीवनयापन एवं बालबच्चाको शिक्षादीक्षा पुर्‍याउन कठिन परिरहेको अवस्था छ,’ उनले भने, ‘सुरक्षा निकायबाट छिटो बाहिरिने सुरक्षाकर्मीमध्ये अधिकांश वैदेशिक रोजगारीमा जाने गर्छन् । नेपालको सुरक्षा निकायमा काम गरेको प्रमाणपत्र भइसकेपछि विदेशमा सुरक्षा गार्डका रूपमा काम गर्दा राम्रो सुविधा पाइने गरेको छ ।’ सुरक्षासम्बन्धी जानकारहरू जीवनको ऊर्जाशील समयमा देशको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन योगदान गरेका सुरक्षाकर्मी आधारभूत आवश्यकताकै लागि विदेशिनु विडम्बनापूर्ण स्थिति भएको बताउँछन् । सुरक्षाकर्मीको सेवासुविधा कम भएको गुनासोमा राज्य गम्भीर हुनुपर्ने सरोकारवालाको भनाइ छ । नेपाल प्रहरीका प्रवक्ता कुवेर खडायत भने साह्रै कम तलब भत्ताका कारण मात्रै सुरक्षाकर्मीले छिटो अवकाश लिने गरेको तर्कसँग सहमत छैनन् । ‘छिमेकी देशहरूको तुलनामा नेपालका सुरक्षाकर्मीको सेवासुविधा कम छ । तर, नेपाल सरकारको मापदण्डअनुसार पाइराखेकै छन् । अझ भन्नुपर्दा तलब भत्ता, सेवासुविधा भन्ने कुरा त शुरूमै थाहा भइहाल्छ नि ⁄ सबै कुरा थाहा पाएर नै त सेवामा प्रवेश गरेका हुन्छन्,’ उनले भने । प्रवक्ता खडायतका अनुसार पछिल्लो समय स्वैच्छिक अवकाश बढ्नुको कारण अर्को क्षेत्रमा झन् आकर्षक अवसर र पेन्सन गरी दोहोरो फाइदा लिन सकिने सम्भावनालगायत हुन् । कतिपय सुरक्षाकर्मीले पारिवारिक बाध्यताले गर्दा पनि छिटो अवकाश लिइरहेको उनको भनाइ छ ।