गुल्मीको सत्यवती र मुसिकोटमा राजमोको विरोध शभा

शंकरप्रसाद पोख्रेल, तम्घास । राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभा विघटनको विरुद्ध गुल्मीका विभिन्न स्थानमा विरोध सभाको आयोजना गरेको छ । शुक्रबार रावजमोले सत्यवती र मुसिकोटमा विरोध सभा सम्पन्न गरेको हो । सत्यबती गाउँपालिकामा भएको विरोध सभालाई राजमोका केन्द्रीय सदस्य एवम् कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष तारा थापाले सम्बोधन गर्नुभएको थियो । त्यस क्रममा उहाँले प्रधानमन्त्री केपी ओलीले चालेका असंवैधानिक कदम सच्याउन माग गर्नुभयो । उहाँले प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्नेमा जोड दिँदै संघीयता खारेज हुनुपर्ने बताउनुभयो । नेत्री थापाले बलात्कार पछि हत्या गरिएकी किशोरी भागिरथी भट्टका बलात्कारी र हत्यारालाई छिटो पत्ता लगाएर कारबाही गर्न पनि माग गर्नुभयो ।   मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता रामकुमार क्षेत्रीले पनि सम्बोधन गर्नुभएको कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता ओमेन्द्र कुँवर, राजमो जिल्ला कोषाध्यक्ष टेकबहादुर केसी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य गुमान सिहं पुन,अखिल नेपाल युवक संघका खिम बुचा मगरलगायतको आतिथ्यता रहेको थियो । राजमो सत्यवती गाउँपालिका अध्यक्ष मित्रलाल तरामुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कमल पुलामी र सन्चालन नेत्र रानाले गर्नुभएको थियो भने रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले विभिन्न प्रस्तुतीहरु दिएका थिए । त्यसैगरी मुसिकोटमा सम्पन्न विरोध सभालाई राजमो जिल्ला अध्यक्ष जीवन राना, सचिव छविलाल सर्तुङ्गी, राजमो नेताहरु हरि न्यौपाने, इस्वरी आचार्य, गोपाल नेपालीलगायतले सम्बोधन गर्नुभएको थियो । राष्ट्रिय जनमोर्चा मुसिकोट नगरपालिकाका अध्यक्ष भानुभक्त खरेलको अध्यक्षयता र अर्जुन परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय जनमोर्चा गुल्मीले फागुनमा पनि संगठन र संघर्ष अभियान संचालन गर्ने जनाएको छ ।