अनुमान गरिएभन्दा १० वर्ष अगावै पृथ्वीको तापक्रम १.५ डिग्री बढ्ने, राष्ट्रसंघले भन्यो– मानव जाति जिम्मेवार

बीबीसी।संयुक्त राष्ट्रसंघको इन्टरगर्भनमेन्टल प्यानल अन क्लाइमेट चेन्ज(आईपीसीसी)ले जलवायु परिवर्तन सम्बन्धी एक गहन प्रतिवेदन सार्वजनिक गरेको छ।प्रतिवेदनमा सन् २०३० सम्म पृथ्वीको औसत तापक्रम १.५ डिग्री सेल्सियसले बढ्ने दाबी गरिएको छ।यो तापक्रम वृद्धि यसअघि अनुमान गरिएभन्दा १० वर्ष पहिला हुनेछ।संयुक्त राष्ट्रसंघले तीव्र गतिमा भइरहेको जलवायु परिवतर्नको जिम्मेवार मानवजाति भएको जनाएको छ।तापक्रम बढ्दा विश्वभर कल्पना नगरिएको विपद्को सामना गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

सम्बन्धित सामग्री

जलवायु परिवर्तन र अनुकूलन

जलवायु परिवर्तन संसारभरिकै जल्दोबल्दो मुद्दा हो । निकै वर्षअघि नै जलवायु परिवर्तन हुँदै गए पनि पछिल्ला दिनमा यसको चर्चा, परिचर्चा अलि बढी नै हुने गरेको छ । जलवायु परिवर्तनको बारेमा मुख्यगरी दुईटा मत बलियो रूपमा रहेको पाइन्छ । एउटा, जलवायु परिवर्तन केवल होक्स (हौवा) हो भन्ने मत छ भने अर्को यो मानव जाति र सिंगो प्रकृतिका लागि गम्भीर विषय हो भन्ने छ । यस्ता मतमा जुन बलियो भए पनि प्रकृतिमा जलवायु परिवर्तन भइरहेको छ । यस्तो परिवर्तनले समाजमा नकारात्मक र सकारात्मक दुवैखाले प्रभाव परिरहेको छ ।  नेपालकै कुरा गर्ने हो भने हिमालमा हिउँ जम्न छाडेको छ । हिमनदी पग्लिएका छन् । गर्मी बढेको छ । कृषिजन्य उत्पादनमा असर परेको छ । संकटापन्न जनावरहरूको संरक्षणमा उल्लेख्य उपलब्धि प्राप्त गरे पनि नेपाल जलवायु परिवर्तनका दृष्टिकोणले उच्च जोखिममा छ । यद्यपि नेपालले कुल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरेको छ भने दक्षिण एशियाका १ अर्बभन्दा बढी जनसंख्याका लागि पानीको स्रोत सुनिश्चित गरेको छ । तापक्रममा वृद्धि भएसँगै हिजो ज्यादै जाडो हुने ठाउँमा अहिले गर्मी हुन थालेको छ । अब ती ठाउँमा धानखेती गर्न सकिन्छ । त्यस्तै जलवायु परिवर्तनकै कारण चैत वैशाखमा फुल्ने गुराँस पुसमै फुल्न थालेको छ । स्याउखेतीमा पनि यस्तै देखिन थालेको छ । अर्थात् जलवायु परिवर्तनका कारण वनस्पति र जीवजन्तुमा देखिएको असरबाट हामीले के फाइदा लिन सक्छौं भन्नेमा लाग्नुपर्छ । हिजो जुन हावापानीमा कुनै फलफूल हुँदैनथ्यो अहिले त्यसका लागि अनुकूल भएको हुन सक्छ । तापक्रम वृद्धि हिमाली क्षेत्रतिर सरेसँगै ती क्षेत्रमा खेतीपाती प्रणालीमा परिवर्तन ल्याउन सकिन्छ । यसका लागि अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रलाई अध्ययन गर्न लगाउन सकिन्छ । जलवायु परिवर्तनले खेतीपाती र पशुपालनमा केकस्तो परिवर्तन ल्याएर लाभ लिन सकिन्छ भन्नेमा उसलाई अध्ययन गर्न दिएर त्यसलाई कार्यान्वयनमा लैजान सकिन्छ । नेपाल कृषि अनुसन्धान परिषद्लाई पनि त्यसतर्फ काममा लगाउन सकिन्छ । हुम्ला जुम्लामा बढी धान फलाउन सकिन्छ जसको मूल्य उच्च छ । त्यसैले जलवायु परिवर्तन समस्या हो तर समस्यामात्रै होइन लाभ पनि लिन सकिन्छ भनेर बुझ्नुपर्छ । वातावरण प्रदूषणमा नेपालको त्यति धेरै योगदान नभए पनि केही वर्षयता जथाभावी सडकलगायत भौतिक पूर्वाधार निर्माणका कार्य भने जारी नै छन् । त्यसैले धेरैथोर असर गरेको छैन भन्न सकिँदैन । त्यसैले जलवायु परिवर्तन अकस्मात् नियन्त्रणमा लिन सकिँदैन । तर, यसमा भइरहेको परिवर्तनअनुसार आफूलाई अनुकूलन गर्दै जान भने सकिन्छ ।  जलवायु परिवर्तन हुनुका कारण खोजी त्यसमा कमी ल्याउन विश्वस्तरमै काम हुन थालेको छ । तर, जलवायु परिवर्तन जुन मुलुकका कारण बढी भएको छ तिनले त्यसमा अकस्मात् नियन्त्रण गर्न सक्दैनन् । उनीहरूले प्रकृतिको अतिदोहन गरेर विकासको उचाइ चुमेका छन् तर, तिनकै कारण भएको जलवायु परिवर्तनले विपन्न र अविकसित मुलुक बढी मर्कामा छन् । त्यसैले विश्व रंगमञ्चमा नेपालले यो समस्यालाई उठाइरहेको छ ।  यी सबै कुरा सही छन् तर जलवायु परिवर्तनले असर गर्‍यो भन्दै त्यसको विरोध गर्नुको मात्रै अर्थ रहँदैन । बरु जलवायु परिवर्तनले दिएको अवसरको उपयोग गर्नेतर्फ लाग्नुपर्छ । वास्तवमा मानिसले आफूलाई जलवायु परिवर्तनसँगै अनुकूलन गर्दै ल्याएकाले नै ऊ अहिलेसम्म बाँचिरहन सकेको हो । त्यसैले अहिले जलवायु परिवर्तनले नेपालमा केके परिवर्तन आएको छ र त्यसबाट कसरी लाभ लिन सकिन्छ भन्नेमा काम गर्न ढिला गर्नु हुँदैन । जति नै रोइकराई गरे पनि विकसित देशहरूले जलवायु परिवर्तनको मुद्दालाई सजिलै समाधान गर्न सक्दैनन् । जलवायु परिवर्तनको आर्थिक लागतको विश्लेषण गर्दा अर्थतन्त्रलाई उनीहरूले बढी प्राथमिकतामा राख्छन् । त्यसो हुुँदा यो समस्या तत्काल समाधान हुन सक्ने देखिँदैन ।  जलवायु परिवर्तनसम्बन्धी सम्मेलनहरूले पृथ्वीको तापक्रम औद्योगिक क्रान्तिको अवस्थामा जति थियो त्यो तहमा ल्याउने भनी वचनबद्धता व्यक्त गरेका छन् । तर, त्यसको कार्यान्वयन र अवधिमा भने विकसित र ठूला देशहरूबीच नै मतैक्य छैन । एक देशले अर्कोलाई आरोप लगाए पनि कुनै पनि देश अर्थतन्त्रलाई सुस्त पारेर जलवायुको पक्षमा काम गर्न तयार देखिएका छैनन् । त्यसैले नेपालले पनि केकस्ता असर परेको छ र त्यसबाट के कति लाभ लिन सकिन्छ भनेर काम थाल्न ढिला गर्नु हुँदैन । मुख्य कुरा अनुकूलन नै उपाय हो । कृषि उत्पादन, पशुपालन, जीवनशैलीलाई जलवायु परिवर्तनअनुसार अनुकूलन गर्नु बुद्धिमानी हुन्छ ।