नागरिकलाई रोजगारी प्रदान गर्न सरकारले रोजगारीका अवसरहरूको सृजना गर्छ । यसका लागि सरकारले देशभित्र उपलब्ध स्रोतसाधनको विकास गर्न लगानी गर्छ । यसो गर्नका निमित निजी र सरकारी क्षेत्र दुवैको सहभागितामा औद्योगिक र पूर्वाधारको विकासका निमित्त लगानी बढाउनुका साथै आयात व्यापारलाई निरुत्साहित गर्दै निर्यात व्यापारलाई प्रोत्साहन गर्नुपर्छ । उपलब्ध स्रोतसाधनको विवेकशील ढंगले विकास गर्नुपर्छ । आजको जमाना विशिष्टीकरणको हो । पर्यटन, स्वस्थ खानेपानी, जलविद्युत्, उच्च हिमाली भेगका जडीबुटी, मध्यपहाडमा फलफूल खेती र मधेशमा खाद्य उत्पादनका साथै कलकारखानाको विकास गरी विशिष्टीकरणको आवश्यकता पर्छ । पर्यटन, स्वस्थ खानेपानी, जलविद्युत्, उच्च हिमाली भेगका जडीबुटीका क्षेत्रहरूमा लगानीका साथै विशिष्टीकरण गर्नाले निर्यात व्यापार बढाउन सकिन्छ । स्वस्थ खानेपानीको विशिष्टीकरणले खाडी क्षेत्रका मुलुकहरूमा निर्यात गर्न सकिन्छ । जलविद्युत्को विकास गरी भारत र बंगलादेशमा निर्यात गर्न सकिन्छ । जडीबुटीको निर्यात संसारभरका मुलुकहरूमा गर्न सकिन्छ । पर्यटन क्षेत्रको सम्भावना अझ खँदिलो छ । सुविधा, सुरक्षा, यातायात विशेष गरेर रज्जुमार्गको साथै सुविधाजनक होटेलहरूको विकासले पर्यटन क्षेत्रलाई खँदिलो बनाउन सक्छ । यी क्षेत्रहरूको विकासले एकातिर निर्यात व्यापार र सेवा क्षेत्रमा विस्तार गराउँछ भने अर्कोतिर उत्पादनशील जनशक्तिलाई देशभित्रै रोजगारीका अवसरहरूको सृजना गर्छ । तर, यसतर्फ सरकारको ध्यान जान सकेको देखिँदैन ।
विप्रेषणले मानिसको क्रियाशील रहने इच्छाशक्तिमा कमी ल्याएको छ अर्थात् जीवनलाई विप्रेषणमा आश्रित गराएको छ । नेपालमा रहेका नागरिक अनुत्पादक भएर बसिरहेका छन् । उपलब्ध जनशक्ति अनुत्पादक हुँदा आर्थिक वृद्धिदरमा कमी आउँछ र आइरहेको पनि छ ।
विचाररहित कार्य
माथि उल्लिखित क्षेत्रहरूको विकास गरेर निर्यात बढाई रोजगारीका अवसरहरूको सृजना गर्नुको सट्टा नेपालको सरकार (चाहे त्यो एकल दलको होस् वा धेरै दलहरू मिलेर बनेको होस्) सँग नेपाललाई स्वस्थ र समृद्ध बनाउने एजेन्डा नै छैन । बरु करीब ५० लाखको हाराहारीमा नेपाल सरकारको आफ्नै संलग्नतामा होनहार युवायुवतीहरू चाहे तिनीहरू दक्ष होऊन् वा अदक्ष, तिनको संसारका कुनाकुनामा निर्यात गरिरहेको छ । यो कार्यले नेपालका गाउँ र शहर युवायुवतीविहीन हुन पुगेका छन् । यसरी विदेशिनेहरूमा अधिकांश शिक्षा र शीप नभएकाहरू छन् जसको रोजगारीको थलो इजरायललगायत खाडी र पूर्वी एशियाका सबै मुलुकहरू हुनपुगेका छन् । यी मुलुकमा जाने अधिकांश युवायुवतीहरू गाउँबाट आएका हुन् । दक्ष वा तीक्ष्ण बुद्धिका शहरवासीको गन्तव्य थलो अस्ट्रेलिया, जापान, यूरोप, अमेरिका र क्यानडामा भइरहेको छ । यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने सरकारको प्रमुख कार्य शिक्षित तथा अशिक्षित दुवैथरीलाई राहदानी वितरण गर्नु र आफन्त तथा आसेपासेहरूलाई म्यानपावर निर्यात गर्ने एजेन्सी खोल्न इजाजतपत्र प्रदान गर्नु रहेको छ । यसरी युवायुवतीलाई विदेशमा बहिर्गमनका निमित्त सरकार आपैmले दलालीको कार्य गरिरहेको छ । यसबाट राज्यले पर्याप्त कर असुली गरिरहेको छ, जसले सरकारको दैनिक खर्च धानिरहेको छ ।
उज्यालो पक्ष
द्वन्द्व र राजनीतिक अस्थिरताको समयमा पनि विप्रेषणले नेपाली अर्थव्यवस्थालाई लगातार टेवा दिने काम गरेको र आज पनि देशको अर्थतन्त्रलाई टेवा दिइरहेको छ । निकट भविष्यमा पनि यसले योगदान गरिरहनेछ । यसले नेपाली बैंकहरूमा तरलता पर्याप्त मात्रामा उपलब्ध गराइरहेको छ । सरकारी राजस्वमा वृद्धि गराउन मद्दत गरेको छ । नेपाली अर्थतन्त्रलाई ऋणको पासोमा पर्नबाट जोगाइरहेको छ । करीब ७० प्रतिशत घरपरिवारको जीविका यसैले गराएको छ । १९९० को दशकदेखि नेपालमा द्वन्द्व भयो, जसले राजनीतिक अस्थिरताको प्रादुर्भाव गरायो । यस अवस्थामा पनि नेपालको गरीबीको कुचक्रमा परेका मानिसहरूको उल्लेख्य संख्यामा कमी गराउन यसले मद्दत गर्यो । त्यतिमात्र होइन, गरीबहरूको जीविकोपार्जनको आधार विप्रेषण नै बन्यो र यो हालसम्म निरन्तर रूपले बनिरहेको छ । गरीब बच्चाबच्चीहरूलाई पाठशालामा पठाउन मद्दत गरेको छ । नेपालको भुक्तानी सन्तुलनको खाडल गहिरिएर रहेको छ । केही हदसम्म विप्रेषणले यस खाडललाई कमी गराउन सहयोग गरिरहेको छ ।
अँध्यारो पक्ष
विप्रेषणका अँध्यारा पक्षहरू पनि छन् । नेपालमा ठूलो मात्रामा विप्रेषण भित्रिएको छ । यसले नेपाली आर्थिक जगत्मा नकारात्मक असर पनि पारेको छ । पहिलो, नेपाली मुद्राको अवमूल्यन गराइरहेको छ । फलस्वरूप यसले नेपाली अर्थतन्त्रलाई अन्तरराष्ट्रमा कम प्रतिस्पर्धात्मक बनाएको छ । दोस्रो, विप्रेषणले मानिसहरूको क्रियाशील रहने इच्छाशक्तिमा कमी ल्याएको छ अर्थात् जीवनलाई विप्रेषणमा आश्रित गराएको छ । नेपालमा रहेका नागरिकहरू अनुत्पादक भएर बसिरहेका छन् । उपलब्ध जनशक्ति अनुत्पादक हुँदा आर्थिक वृद्धिदरमा कमी आउँछ र आइरहेको पनि छ । तेस्रो, जति विप्रेषणको मात्रामा वृद्धि हुँदै जान्छ त्यति घरपरिवारको उपभोगमा वृद्धि हुन्छ । अर्थात् उपभोग खर्च र विप्रेषणको सम्बन्ध सकारात्मक हुन्छ । उपभोगमा करीब ८० प्रतिशत विप्रेषणको भाग खर्च हुने गर्छ । उपभोग गरेर बाँकी रहेको विप्रेषणको भाग शहरकेन्द्रित घरजग्गा र गरगहनामा लगानी गरिएको छ । यसले शहरबजारका घरजग्गाको मूल्य बढाइरहेको छ । मानव विकास र उत्पादक क्षेत्रमा विप्रेषणको नगण्य भागमात्र खर्च हुने गरेको छ । उपभोग प्रवृत्तिमा भएको वृद्धिले विदेशी वस्तुको आयात बढाइरहेको छ । विप्रेषणको उपयोगमा ध्यान नदिने हो भने आउँदा दिनहरूमा नेपाली अर्थतन्त्र धराशयी बन्न सक्छ । चौथो, युवायुवतीको पारिवारिक सम्बन्धमा विकृति ल्याएको छ । कति युवायुवतीहरू घरबारविहीन हुन पुगेका छन् । श्रीमान् श्रीमतीबीचको सम्बन्ध विच्छेद हुने घटनाहरू सामान्य हुन थालेका छन् । यसले परापूर्वकालदेखि चल्दै आएको सामाजिक मान्यतामा विकृति ल्याइरहेको छ । यसबाट धेरै युवायुवतीहरूले सुख, शान्ति र अमनचैनको जिन्दगी बिताउन पाइरहेका छैनन् । पाँचौं, विदेशमा रोजगारीका निमित्त जाने युवायुवतीहरूले रोजगारीका अवसरहरू नपाउन सक्छन् जसको खोजतलासमा समय कटाउनुपर्छ । यस अवस्थामा रोजगारी खोज्ने जोखिम लिनुपर्ने हुन्छ । त्यस्तै गरेर विदेशिँदा ऋणको भारी बोकेर गएका हुन्छन् । विदेशमा गएर उनीहरूको जीवन ऋणचुक्ता कसरी गर्ने भन्ने चिन्तामा गुज्रिरहेको हुन्छ । यसले युवायुवतीहरूको कार्य दक्षतामा ह्रास गराउने मात्र होइन, जीवन जोखिमको खतरा पनि हुन्छ । छैटौं, नेपालबाट दक्ष र अदक्ष दुवै प्रकारका युवायुवतीहरू विदेशिएका छन् । यदि नेपालले विकास आयोजनाहरू सञ्चालन गर्न चाह्यो भने त्यसका निमित जनशक्ति अभाव हुन्छ र भइरहेको पनि छ । सातौं, प्रत्येक दिन ३–४ का दरले युवायुवतीहरूको लास काठमाडौं विमानस्थलमा आउने गरेको छ । यसले के पुष्टि गर्छ भने नेपालले प्राप्त गरेको विप्रेषण युवायुवतीको ज्यानको बलिदानको उपज हो ।
अन्तिममा, पूँजीगत र उपभोग्य दुवै वस्तुहरूको आयात बढिरहेको छ । आयातको तुलनामा निर्यात नगण्य छ । सन् २०२० मा निर्यात कुल गार्हस्थ्य उत्पादनको ६ दशमलव ८ प्रतिशत थियो भने आयात ३३ दशमलव ९ प्रतिशत थियो । सन् १९९० को दशकमा विप्रेषण कुल गार्हस्थ्य उत्पादनको अनुपातमा १ दशमलव ५ प्रतिशत थियो भने सन् २०१० को दशकमा २४ दशमलव ४ प्रतिशत पुग्यो । यस अवधिमा विप्रेषणको योगदान १६ गुणाले बढी छ । यसले के देखाउँछ भने विप्रेषणको वृद्धिसँगै आयातको वृद्धि भइरहेको छ । माथिका हरफहरूले के प्रमाणित गर्छन् भने विप्रेषणका सुखद पक्षभन्दा दुःखद पक्ष बढी छन् ।
नेपाली जनशक्तिको माग विश्वबजारमा निर्भर रहेको छ । विश्वबजारमा भएको मागमा कमी आउनासाथ नेपालका युवायुवतीहरूको वैदेशिक रोजगारीको ढोका बन्द हुन्छ । नेपालभित्र आएको विप्रेषणको मात्रा सबै अनुत्पादक क्षेत्रमा प्रयोग भएको छ । यसको निरन्तरताले नेपालको अर्थतन्त्रलाई विकराल दिशातिर धकेल्न सक्छ । नेपालको जनशक्तिको मागमा कमी आउनासाथ विप्रेषणमा कमी आउँछ । विप्रेषणको बदलामा बेरोजगार युवायुवतीको जमातको थुप्रो लाग्न सक्छ । यसले अन्य धेरै विकृति जस्तै, भोकमारी, रोगव्याधि, द्वन्द्व आदिलाई प्रवेश गराउँछ र नेपाललाई असफल राज्यको सूचिमा धकेल्छ । भविष्यमा आउन सक्ने सम्भावित डरलाग्दो परिस्थितिको समाधानका निमित्त सरकारले विप्रेषणको मात्रालाई उत्पादक क्षेत्रमा लगाई युवायुवतीका लागि रोजगारी सृजना गर्न जरुरी छ ।
ढुंगेल अर्थशास्त्रका प्राध्यापक हुन् ।