झापा । झापाको दमकमा फनपार्क सञ्चालनमा आएको छ । दमक फनपार्क एन्ड एग्रो टुरिजम प्रालिले करिब १३ करोडको लागतको उक्त पार्क फनपार्क सञ्चालनमा ल्याएको हो । करिब ६ बिघा क्षेत्रफलमा सवारी पार्किङको व्यवस्थासहित सुरु भएको पार्कमा प्रमुख आकर्षणका रूपमा गोल्डेन टापु, फनपार्क र बोटिङ छन् ।
पार्कभित्रै स्तरीय रेस्टुराँ पनि सञ्चालनमा ल्याइएको कम्पनीका अध्यक्ष योगराज दंगालले जानकारी दिए । होटल तथा पर्यटन व्यवसायका अनुभवी युवा संलग्न भएर सञ्चालनमा ल्याइएको दमक फनपार्कलाई पूर्व क्षेत्रकै पर्यटकीय गन्तव्यका रूपमा स्थापित गराउने प्रयत्न गरिएको उनले बताए । सो फनपार्कमा दमकका युवा व्यवसायी दीपेन्द्र ढुंगेल, दीपक पौडेल, पुष्प, किशोर र कुमार खनाललगायत ११ जनाको संयुक्त लगानी रहेको बताइएको छ । जिल्लाका मुख्य सहरी क्षेत्रमा पछिल्ला समय व्यावसायिक रूपमा फनपार्कलगायत मनोञ्जन स्थलका संरचना निर्माण हुने क्रम बढ्दै गएको छ । रासस