नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले गठबन्धनबाहेकका कुनैपनि राजनीतिक दलहरुसँग परामर्श नगरी निर्वाचन आचारसंहिता बनाएको भन्दै आपत्ति जनाएका छन् ।
आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आयोगले काँग्रेसको कुरा मात्रै सुनेर निर्वाचन मतपत्रको रङ परिवर्तन गरेकोले यो मुद्दा हाल्नुपर्ने विषय भएको बताए ।
अध्यक्ष ओलीले मतपत्रको रङ फेर्ने कुरा स्वच्छ नभएको भन्दै रातो सूर्यलाई पनि हरियो बनाउने षड्यन्त्र गरेको आरोप लगाए । उनले निर्वाचन आयोगलाई पहिला आफूले गरेको आचारसंहीताको आफै कार्यान्वयन गर्न पनि सुझाव दिए ।
ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा दिएको धम्कीका कारण प्रधानमन्त्री शेरबहादुर देउवा डराएर रेणु दाहाललाई आफैले भरतपुरको मेयरमा उठाएको भन्ने भाषण गरेको पनि आरोप लगाए । उनले ठूला नेताहरुले आचारसंहीता मिच्दा आयोग आँखामा पट्टी लगाएर बसेको भन्दै यस्ता कुरामा नमुछिन आयोगलाई आग्रह गरे ।
अध्यक्ष ओलीले भने, ‘निर्वाचन आयोगले गठबन्धनका राजनीतिक दलहरुसँग बाहेक अरुसँग परामर्श गरेन । गठबन्धनसँग परामर्श गरेर अरुले पनि मान्नुपर्ने आचारसंहीता ल्यायो । अरु दलले हामीलाई त छलफल गराइएन भन्दा हस्ताक्षर गरे गर्नुहोस् नगरे नगर्नुहोस् तर नियम यही लागू हून्छ भन्यो । त्यसपछि हाम्रो दलले त्यहाँ हस्ताक्षर गर्नुपर्ने आवश्यक्ता सहमति जनाउनुपर्ने आवश्यक्ता रहेन । त्यसकारण हामीले हस्ताक्षर गरेनौँ ।'
उनले अगाडि भने, 'नेपालमा राजनीतिक दल भनेको काँग्रेस मात्रै हो ? रङ फेर्न पर्छ भने अरु राजनीतिक दललाई बोलाउनु पर्दैन ? यो मुद्दा हाल्नुपर्ने विषय हो र यसलाई बदर गर्नुपर्ने विषय हो । यो स्वच्छ ढंगले आएन । रातो सूर्य पनि हरियो हुने, हरियो रुखलाई हरियो पार्नका लागि रातो सूर्य पनि हरियो बनाउने यो कुनै न्यायको कुरा होइन ।'
अध्यक्ष ओलीले विष बमन गर्ने काम गठबन्धनको भएको पनि बताए । उनले जनतालाई भयरहीत वातावरणमा चुनावमा सहभागी गराउनु पर्ने भएपनि जनतालाई त्रास र धम्की दिइरहेकोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।
उनले केहीदिनअघि एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले रेणु दाहालले चुनाव नजिते देश दुर्घटनातिर जानसक्ने भन्दै दिएको अभिव्यक्ति दिन पाइन्छ कि पाइँदैन भन्ने प्रश्न समेत गरे ।
उनले प्रचण्डले दिएको अभिव्यक्ति आचारसंहीता विपरित भएको र यो अराजनीतिक वक्तव्य भएको तर्क गरे । अध्यक्ष ओलीले आफ्नो पार्टीले चाहेमा गठबन्धन हप्ता दिनमा भत्काउन सक्ने दाबी गर्दै अहिलेको गठबन्धनका दलहरुलाई जता धेरै दुध दिन्छ त्यतै पल्किने बिरालोको संज्ञा दिए ।
अध्यक्ष ओलीले भने, ‘गठबन्धनको एउटा हर्ताकर्ता मैहुँ भन्ने नेताले जनतालाई लल्कालेर, धम्क्याएर, होइन भने दुर्घटनामा देश जान्छ भनेर तर्साएर बसेका छन् । यसरी तर्साएर भोट मागन पाइन्छ ? निर्वाचनका बेला त्रासको वातावरण सिर्जना गर्नु आचारसंहीता विपरित हो कि होइन ? धम्क्याउँदै प्रचण्डले हँसिया हतौडामा छाप लगाइन्न भन्ने हो भने दुर्घटना हुन्छ भनेका छन् । भोट दिएन भने चाँखौला, पखौला भन्ने ? यो अत्यन्तै गलत हानिकारक कुरा हो । आचारसंहीता विपरित कुरा हो । अराजनीतिक कुरा हो ।’