सदरमुकामका होटल रेस्टुरेन्टहरुलाई गुणस्तरीय बनाउन खाद्य डिभिजनको आग्रह

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन उदयपुरले सदरमुकामका होटल, रेस्टुरेन्ट र खाजा घरहरुलाई गुणस्तरीय सामग्री मात्र बिक्री बितरण गर्न गराउन आग्रह गरेको छ। केहीदिनयता डिभिजनले अनुगमन थाल्दै मानव स्वास्थ्यसँग सम्बन्धित खानेकुरा गुणस्तरीय नभए निशंकोच कारबाह...

सम्बन्धित सामग्री

मुलुकलाई चामलमा आत्मनिर्भर बनाउने लक्ष्यमा वीरेन्द्रबहादुर बस्नेत

काठमाडौ । संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि-मुनले कार्यकालको उत्तरार्धतिर विश्व खाद्य सम्मेलनमा ‘भात खाने बानी हटाऊ : अरु चिज खानेतर्फ ध्यान दिउँ’भनेका थिए । विश्वमा धान चामल उत्पादनमा उल्लेखनीय ह्रास आएपछि उनले विश्वका उपभोक्तालाई यस्तो आग्रह गरेका थिए । संयुक्त राष्ट्र सङ्घका अनुसार अहिले विश्वभर सात करोड ८० लाख मानिस भोकमरीमा छन् भने करिब एक तिहाइ खाद्य उत्पादन कम भएको छ । साथै करिब तीन अर्ब मानिसले सन्तुलित भोजनको पहुँचमा पुग्न सकेका छैनन् । विश्वमा पछिल्लो समय देखिएको भूराजनीति तथा अर्थतन्त्रको आपूर्ति शृङ्खलामा आएको अवरोधले खाद्य सुरक्षाको चिन्ता बढाएको छ । यसै सन्दर्भमा हालै छिमेकी मुलुक भारतले पनि आगामी निर्वाचनलाई मध्यनजर गर्दै चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । एकातिर धान उत्पादन हुने उर्बर भूमि घट्दो क्रममा छ भने कृषिमा काम गर्ने जनशक्ति विदेश पलायन भइरहेका छन् । जसले कृषि उत्पादन घटाउँदै परनिर्भरता बढाएको छ । गत आर्थिक वर्षमा मात्रै नेपालले रु ३६ अर्ब ६६ करोड बराबरको चामल आयात गरेको भन्सार विभागको तथ्याङ्क छ । विश्वभर खाद्यसङ्कट निम्तन सक्ने सम्भावित जोखिम र नेपालले आफ्नै भूमिमा उत्पादन बढाएर धान चामलमा आत्मनिर्भरताको बाटोमा अघि बढ्न हालको निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायमुखी बनाउन अपरिहार्य भइसकेको छ । यही आवश्यकतालाई मध्यनजर गर्दै एयरलायइन्स व्यवसायमा सफल वीरेन्द्रबहादुर बस्नेत कृषिकर्ममा लागेका छन्  । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरका प्रबन्ध निर्देशक बस्नेतले मोरङको डाँगिहाटमा रु ५० करोडभन्दा बढी लगानीमा अत्याधुनिक उपकरणयुक्त ‘आरजु राइस मिल’ सञ्चालनमा ल्याएका हुन  ।  कम्पनीका कार्यकारी अध्यक्षसमेत रहेका बस्नेतले निर्वाहमुखी धानखेतीलाई आत्मनिर्भरतर्फ लैजाने उद्देश्यले किसानलाई प्रेरित गर्दै मिल सञ्चालनमा ल्याएका हुन । नेपाली किसानले उत्पादन गरेको धानको चामल नेपाली उपभोक्तामाझ पुर्‍याउने र किसानलाई धानको न्यूनतम समर्थन मूल्य तोकेर उपभोक्तालाई कम मूल्यमा चामल उपलब्ध गराउने उद्देश्यले उनि कृषि क्षेत्रमा लागेका हुन । किसानलाई प्रोत्साहित गर्दै उपभोक्तालाई स्वदेशी गुणस्तरीय चामल विभिन्न देशमा समेत पुर्‍याउने उद्देश्यले कृषिमा हामिएको भन्दै उनले यसबाट बढ्दो खाद्य सङ्कट समाधानमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । उनले यसमार्फत आफू मात्रै होइन, २० हजारभन्दा बढी किसानलाई पनि सँगै लैजाने योजना छ । “बढ्दो खाद्य सङ्कट कम गर्न नेपाली उपभोक्ताले नेपाली चामल खरिद गरेर खानुपर्छ”, रासससँगको कुराकानीमा कार्यकारी अध्यक्ष बस्नेतले भने, “यस्ता मिलले गर्दा किसानलाई प्रोत्साहित गर्छ, उनीहरुलाई सही मूल्य दिन्छ । यो मोडल सफल भए देशभर विस्तार गर्ने लक्ष्यसमेत छ ।” लामो समयदेखि एयरलाइन्स व्यवसायमा संलग्न बस्नेतको परिवार त्यसअघि पनि कृषि पेसामै रहेको उनको भनाइ छ । “हाम्रो परिवार ३५/३६ वर्षदेखि कृषि क्षेत्रमै छ । बुध्द एयर शुरु गर्नुभन्दा अघिको परिवारको मुख्य पेसा नै कृषि थियो”, उनले भने । व्यावसायिक खेती हुन नसक्नु आजको ठूलो समस्या भएको भन्दै बस्नेतले जलवायु परिवर्तनका कारण पनि धानखेतीका लागि चुनौती थपिएको उल्लेख गरे । उनले भने, “धान उत्पादनमा ह्रास आएको छ । धानको सङ्कट चुलिँदै गएको मैले अनुभव गरेको छु र वास्तविकता पनि त्यस्तै छ ।” पर्यटन पूर्वाधार, होटल, बैंक तथा वित्तीय संस्था, ऊर्जा, शिक्षा र सूचना प्रविधिमा ठूला–ठूला लगानी भएका छन् तर, कृषि प्रधान देश नेपालमा कृषिलाई प्राथमिकता दिन नसकिरहेको अवस्थामा आफू यसको आवश्यकता महसुस गर्दै विभिन्न चुनौतीका बाबजुद कृषिमा होमिएको उनिको भनाइ छ । “हामी नपाली किसानको मात्रै धान खरिद गर्छौं”, उनले भने, “निर्वाहमुखी कृषिलाई औद्योगीकरण गर्नु हाम्रो २० वर्षे योजना पनि हो ।” कृषि विभागका अनुसार नेपालमा समुद्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थानमा जुम्लाको छुमचौरमा तीन हजार ५० मिटर उचाइसम्म धानको खेती गरिन्छ । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा करिब २४ दशमलव एक प्रतिशत कृषिको योगदान रहेकोमा कृषि क्षेत्रको गार्हस्थ उत्पादनमा धानको १५ प्रतिशत योगदान छ । आव २०७९/८० मा १४ लाख ४७ हजार हेक्टर क्षेत्रफलमा धान खेती भई ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यद्यपि अझै पनि मुलुकमा १० देखि १२ लाख मेट्रिक टन धान अपुग हुँदै आएको छ । “खाद्य सुरक्षा चुनौतीपूर्ण छ । मित्रराष्ट्र भारतबाट खाद्यान्य आयात नगरेको खण्डमा हामी भोकमरीमा पर्छौं”, बस्नेतले भने, “अहिले जसरी भारतले चामल निर्यातमा प्रतिवन्ध लगाएको छ । त्यसले ठूलो हाहाकार मञ्चिएको छ, हल्लाखल्ला भएको छ तर, अहिले भारतमा पनि खाद्यान्य सङ्कट ठूलो समस्याको रुपमा आएको छ ।” बस्नेतको बुझाइमा भारतले कुनै दबाब सिर्जना गर्न चामल निर्यात प्रतिबन्ध गरेको होइन । जलवायु परिवर्तनका कारण विश्व खाद्य कार्यक्रमजस्ता विश्व प्रसिद्ध सङ्गठनले खाद्यान्न सङ्कट आउने प्रक्षेपण गरिरहेका छन् ।  जलवायु परिवर्तनका कारण पर्याप्त पानी नपरेकाले धान उत्पादन कमजोर भएको छ । बेमौसमी वर्षा हुनेजस्ता कारण धान उत्पादन कमजोर बन्दै गएको उनिको बुझाइ छ । यो समस्या अर्को वर्ष अझ बढ्ने छ । अघिल्लो वर्ष पनि भारतले चामल निर्यातमा प्रतिबन्ध गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार २०८० साउन ६ गतेसम्म मुलुकभर ६८ प्रतिशत रापाइँ सम्पन्न भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ८८ प्रतिशत रोपाइँ भएको थियो । मुलुकलाई खाद्यान्न विशेष गरी चामलमा आत्मनिर्भर बनाउन निर्वाहमुखी किसानलाई व्यवसायमुखी बनाउन जरुरी भएको व्यवसायी बस्नेतले उल्लेख गरे । मुलुकमा चामलको सङ्कटलाई समाधान गर्न नेपालनै आत्मनिर्भर हुनुपर्छ भन्ने उद्देश्यले अत्याधुनिक राइस मिल सञ्चालन गरिएको उनले बताए ।  “चामल निर्यात प्रतिबन्ध लगाउने भारतको हालैको निर्णयले चामलको भाउ बढे पनि हामीले उत्पादन र आपूर्ति गर्ने चामलको भाउ बढ्दैन, किन भने हामीलाई भारतको निर्णयले असर गर्दैन”, उनले भने, “किसानसँगै धान किनेर चामल सस्तो मूल्यमा उपभोक्तामाझ लगिरहेका छौँ । त्यसैले गर्दा किसान र उपभोक्ता दुवैलाई फाइदा पुगेको छ ।”  उनिका अनुसार ठूलो लगानीमा अत्याधुनिक मिल खोलेर किसानबाट धान पनि खरिद गरिए पनि बजार व्यवस्थापनमा निकै चुनौती भने कायमै छ ।–सिबी अधिकारी, रासस

लुम्बिनीमा पर्यटक छन्, पर्यटन छैन

लुम्बिनी । ‘पसलमा राखिएका हस्तकलाका सामग्रीहरू विक्री नभएको २० दिन बितेको छ,’ लुम्बिनी बसपार्कस्थित सिद्धार्थ ह्यान्डी क्राफ्टसका सञ्चालक विष्णुबहादुर बस्नेतले भने, ‘वैकल्पिक व्यवसाय पनि छैन, गुजारा चलाउनै गाह्रो छ ।’ व्यवसायको आम्दानीबाट बिजुली, पानी र सटरभाडाको जोहोसमेत गर्न नसकेको उनले दुखेसो पोखे ।  पिन्टुलाल बनियालाई पनि होटेल ग्रिन लुम्बिनी भ्यू कसरी सञ्चालन गर्ने भन्ने चिन्ताले सताएको छ । ‘रु पाँच करोडको लागतमा आठ वर्षअघि निर्माण गरेको होटेलले आम्दानीले खर्च धान्न छाडेको छ, लगानी त परै जाओस् सञ्चालन खर्च समेत धान्न गाह्रो छ,’ उनले भने, ‘मौसमी कमाईले वर्ष दिन धान्नुपर्ने बाध्यता छ ।’ यही अवस्था रहेमा होटल बन्द गर्नुबाहेक उनले अर्को विकल्प देखेका छैनन् ।  केही समययता देखिएको आर्थिक मन्दीको असर धेरैतिर परेको अर्का व्यवसायी अब्दुल मोबिन बताउँछन् । ‘केन्द्रीय नहरमा डुङ्गा चलाउन ठेक्का लिएकै वर्ष कोरोनाले थला पारेको व्यवसाय सुध्रन दुई वर्ष कुर्नुप¥यो,’ ठेकेदार (डुङ्गा सञ्चालक) अब्दुल मोबिन मुसलमानलले भने, ‘अवस्था सुधारात्मक छ, पर्यटकको सङ्ख्या पनि बढ्दो छ । तर, दुई वर्षको घाटा पूर्तिको विकल्प छैन ।’  लुम्बिनीमा प्रतिवर्ष हजारौं तीर्थयात्री धार्मिक पूजा–अर्चना तथा अध्यात्म पाठ गर्न आउँछन् । ठेकेदार मुसलमानलले भने, ‘संसारभरका बुद्धमार्गीहरूका लागि पवित्र गन्तव्य लुम्बिनीभित्र प्रवेश, बहिर्गमन मार्ग र व्यवसाय स्थलको तालमेल नमिल्दा लाभ लिन सकिएको छैन ।’  सन् २०२३ को जनवरीदेखि मे महीनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ पर्यटक लुम्बिनी भित्रिएका छन् । गत वर्ष सन् २०२२ को यसै पाँच महीनामा तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । यसरी गत वर्षको भन्दा यस वर्षको सङ्ख्या एक लाख आठ हजार चार सय ८६ ले बढी रहेको तथ्याङ्क छ ।  ‘लुम्बिनीमा पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि व्यापार भने बढ्न सकेको छैन,’ लुम्बिनी पर्यटन व्यवसायी सङ्घका अध्यक्ष ५८ वर्षीय हुसेनी लोधले भने, ‘लुम्बिनीको प्रमुख पर्यटकीय गन्तव्य बुद्ध जन्मस्थल (मायादेवी मन्दिर)देखि बसपार्क छेउमा रहेको हाम्रो व्यवसाय स्थलको दूरी झण्डै दुई किमी छ, जुन त्यसै पनि व्यवसायका लागि हितकर छैन ।’  लुम्बिनी घुम्न आउने जोसुकैले कम्तीमा एकपटक मायदेवी मन्दिर पस्ने नै भएकाले पर्यटन व्यवसायीलाई सोही नजिक व्यवसाय सञ्चालन गर्न पुनः व्यवस्था मिलाउनु पर्ने उनको माग छ । अहिलेको व्यवसाय स्थल र पर्यटकको सम्बन्ध व्यावहारिक नरहेको उनको भनाइ छ । ‘विसं २०६९ अघि मायादेवी मन्दिर नजिक सञ्चालनमा रहेका पर्यटन व्यवसाय राम्रै चलेको थियो । तर, त्यसपछि सञ्चालनमा सहज भएको छैन,’ अध्यक्ष लोधले भने ।   ‘लुुम्बिनी विकास कोषले २०६९ सालमा व्यवसायीको सङ्ख्या ३४ बाट बढाएर ७० पु¥याई बसपार्क छेउमा ल्याएर राखेपछि नै व्यवसाय बिग्रिएको हो,’ लोधले भने, ‘२०६९ सालदेखि हामी पीडित छौं, पछिल्लो दुई वर्ष त कोरोनाले भ्यायो । पहिला मायादेवी मन्दिर नजिकको ठाउँमा दैनिक रु पाँच हजारसम्म व्यापार हुन्थ्यो, अहिले शून्य छ ।’ पर्यटक नै नहुने ठाउँमा घाटाको व्यवसाय गर्नुको कुनै औचित्य नरहेको उनको भनाइ छ ।  लुम्बिनीका व्यवसायीहरूले यहाँ भ्रमणमा आउने भारतीय पर्यटकहरूबाट खासै लाभ लिन सकेका छैनन् । भारतीय ट्राभल एजेन्सी र टुर गाइडहरू पर्यटकहरूलाई सिधै गाडीबाट ल्याउने र दुई÷तीन घण्टा घुमाएर पुनः स्वदेश फर्काउने गरेकाले यहाँका व्यवसायीले सोचेअनुरुप लाभ लिन नसकेका हुन् । ‘पर्यटकहरु हुर्रर आउँछन्, मायादेवी मन्दिर दर्शन गर्छन्, फोटो खिच्छन् र उही दिन फर्किहाल्छन्,’ लुम्बिनी होटेल सङ्घका अध्यक्ष गोविन्द ज्ञवाली भन्छन्, ‘यसरी लुम्बिनी आउने पर्यटकको हुल हेर्ने र सङ्ख्या गनेर बस्ने मात्रै भयौं, व्यवसायमा सुधार हुन सकेन ।’  लुम्बिनी होटेल सङ्घका अध्यक्ष ज्ञवाली लुम्बिनी घुम्न आउने पर्यटकको बसाइँ लम्बाउने योजना र वातावरण मिलाउन नेपाल सरकार र लुम्बिनी विकास कोषसँग आग्रह गर्छन् ।   कम्तीमा एक रात मात्रै बास बसाल्ने वातावरण बनाउन सके पनि धेरै लाभ हुने उनको तर्क छ । ‘भारतीय ट्राभल एजेन्सी र टुर गाइडको भर पर्दा यहाँ भारतीय पर्यटक बस्ने वातावरण नबनेको हो,’ अध्यक्ष ज्ञवालीले भने, ‘त्यसैले बेलहिया आइसकेपछि नेपाली टुर गाइडमार्फत भ्रमण नगराउँदासम्म यहाँ पर्यटकलाई एक रात पनि अडाउन सकिन्न ।’ यसैगरी लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले बुद्ध जन्मस्थल लुम्बिनीलाई बुद्धको जीवनीसँग सम्बन्धित तिलौराकोट, रामग्राम र देवदहलाई जोडेर बृहत् अध्यात्मिक केन्द्र र शान्ति शहरको रूपमा विकास गर्न सके पर्यटकको बसाइँ लम्ब्याउन सकिने र व्यवसायीले पनि लाभ लिन सक्ने बताए । उनी भन्छन्, ‘पर्यटकका लागि अत्यावश्यक सामग्रीको सहज उपलब्धता, शान्ति र सुरक्षाको प्रत्याभूति तथा आनन्दको अनुभूति दिने खालका अध्यात्मिक वातावरण तथा सोही अनुकूल भौतिक पूर्वाधार सिर्जना गर्न सकियो भने पर्यटन व्यवसाय वृद्धि हुने निश्चित छ ।’  ‘आन्तरिक र बाह्य दुवै पर्यटकलाई लुम्बिनी आउँदा धेरै दिन भुलाउन मिल्ने छुट्टै आध्यात्मिक वातावरण र भौतिक पूर्वाधार चाहिन्छ,’ लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वप्रमुख मनमोहन चौधरीले भने, ‘लुम्बिनीको बृहत्तर विकासका लागि यस क्षेत्रका अन्य महत्त्वपूर्ण पर्यटकीय स्थललाई समेत जोडेर ‘टुर प्याकेज’ बनाउन सक्नुपर्छ ।’  उनले बौद्धमार्गी भएका विश्वका ३० भन्दा बढी देशमध्ये सम्भव भएका देशहरूमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट सिधा उडान भरेर धेरै पैसा खर्च गर्न सक्ने गुणस्तरीय पर्यटक तान्न सरकारी पहलको खाँचो औंल्याए ।  लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोष पाण्डेयले लुम्बिनीमा पर्यटकको बसाइँ लम्ब्याउन तीनै तहका सरकारबीच सहकार्य भइरहेको बताउँछन् । लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी वरपरका पुरातात्विक तथा धार्मिक स्थल अवलोकन गराउने वातावरण मिलाउनुपर्ने उनको भनाइ छ ।  भगवान गौतम बुद्धसँग सम्बन्धित ठाउँहरूमध्ये अन्यत्रभन्दा फरक लुम्बिनीको पहिचान र चिनारी राम्रोसँग दिन सक्यौं भने मात्रै पर्यटक रमाउने र खर्च गर्ने पूर्व नगरप्रमुख मनमोहन चौधरीले बताउँछन् । भारतको बोधगया, कुसीनगर, सारनाथ, अयोध्या, हरिद्वार र बनारसलगायतका सहरमा लुम्बिनीको बजारीकरण गरेर यहाँको पर्यटन प्रवर्द्धन गर्न सकिने उनको भनाइ छ ।  उनले सरकारी निकायले लुम्बिनीको महत्त्वलाई अझ गहिरोसँग बुझ्न आवश्यक रहेको बताए । उनले लुम्बिनी एक÷दुई दिन घुमेर पुग्ने ठाउँ होइन, लुम्बिनी आउने कुनै पनि देशका पर्यटकले लुम्बिनी घुम्न र बुझ्न समय लाग्ने बताए । उनले भने, ‘लुम्बिनी विश्वकै अति महत्त्वपूर्ण, पवित्र र अलौकिक स्थल हो, यसको भ्रमण गर्न जोसुकैका लागि कम्तीमा पनि एक हप्ता चाहिन्छ ।’  लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले पर्यटकीय विभिन्न सम्पदाहरूको निर्माणका कार्यहरू भइरहेकाले विस्तारै पर्यटकहरूको आकर्षण बढ्ने बताए । यसको लागि तीनै तहका सरकार, निजी व्यवसायीको सहकार्य गर्नुपर्ने उनको जोड छ ।  सूचना अधिकृत राईका अनुसार लुम्बिनी भ्रमणमा आउने अधिकांश आन्तरिक पर्यटकको बसाइँ एक दिनको पनि नभएको तर तेस्रो मुलुकका पर्यटकको बसाइँ अवधि विगतभन्दा बढ्दै गएर औसतमा १.८८ दिन पुगेको छ ।  कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय)ले लुम्बिनीमा पर्यटक सङ्ख्यामा वृद्धि हुनुले विश्व समुदायमा विस्तारै लुम्बिनीको प्रचारप्रसार बढ्दै गएको बताउँछन् । रासस