प्युठानमा व्यावसायिकरूपमा नेपाली कागज उत्पादन शुरु गरिएको छ । विगत दुई वर्षदेखि प्युठान नगरपालिका–१० सारीबाङमा गौमुखी नेपाली कागज उद्योग सञ्चालन गरी व्यावसायिक उत्पादन शुरु गरिएको हो । जिल्लालाई नेपाली कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले जङ्गलमा पाइने लोक्ता र खर सङ्कलन गरी नेपाली कागजको उत्पादन थालिएको उद्योग सञ्चालक नेगनसिंह कुँवरले बताउनुभयो ।
जिल्लामा नेपाली कागजको माग बढ्दै गएपछि उद्योग स्थापना गरी कागजको उत्पादन गर्न थालेको उहाँको भनाइ छ । “कागज उत्पादनमा प्रयोग हुने लोक्ता प्युठानकै सङ्कलन गर्ने गरेको छु”, उहाँले भन्नुभयो, “कच्चा पदार्थको रुपमा प्रयोग हुने अर्को वस्तु खर भने जिल्ला बाहिरबाट ल्याउनुपरेको छ ।” प्रदेशका सबै जिल्लामा निर्यात हुने नेपाली कागज काठमाडौँमा रहेको नेपालकै प्रख्यात उद्यमी अञ्जना ताम्राकारमार्फत अमेरिकासम्म निर्यात हुने गरेको उद्योग सञ्चालक कुँवरले बताउनुभयो । उत्पादित कागजको बजारीकरणका लागि कुनै समस्या नरहेको बताउनुभयो ।