रोल्पामा प्रादेशिक औद्योगिक महोत्सव

रोल्पा (अस) । स्थानीय उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ, रोल्पाको आयोजनामा रोल्पामा प्रादेशिक औद्योगिक महोत्सव शुरू गरिएको छ । जिल्लाको लिबाङमा बिहीवारदेखि प्रथम प्रादेशिक औद्योगिक, कृषि तथा व्यापार महोत्सव शुरू भएको हो । विशेषगरी रोल्पा, रुकुम लगायत  जिल्लामा उत्पादन हुने अल्लो कपडाको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक जानकारी दिएको छ । महोत्सवको उद्धाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थानीय उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउने बताए । ‘रोल्पा, रुकुम जस्ता दुर्गम जिल्लामा निकै मेहनत गरेर उत्पादन गरिएको अल्लो कपडा, लगायतका उत्पादनको बजारीकरण गरिनेछ,’ मुख्यमन्त्री केसीले भने, ‘स्थानीय उत्पादनलाई प्रदेश सरकारले आगामी वर्षको बजेटमा विशेष प्राथमिकतामा पनि राख्नेछ ।’ गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्रदेशका स्थनीय उत्पादन सीधै अन्तरराष्ट्रिय बजारमा पठाउन मिल्ने मुख्यमन्त्री केसीको भनाइ थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अजय शाहले प्रदेश सरकारले १२ ओटा उद्योग स्थापनाको तयारी गरिएको जानकारी दिए । ‘हामी स्वदेशमै रोजगारी सृजना गर्ने उद्योग स्थापनामा जोड दिँदै छौं,’ शाहले भने ‘उद्योगीहरू उद्योगमा लगानी गर्न तयार हुनुस्, लगानीको वातावरण हामी बनाउँछौं ।’ महोत्सवमा स्थानीय घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, कृषि तथा अन्य विभिन्न वस्तुको व्यापारिक स्टलहरू राखिएका छन् ।

सम्बन्धित सामग्री

लिवाङमा प्रादेशिक औद्योगिक महोत्सव सुरु

रोल्पाको लिवाङमा बिहीबारदेखि प्रादेशिक औद्योगिक प्रदर्शनी तथा व्यापार महोत्सव सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ रोल्पाको आयोजनामा सुरु भएको महोत्सव चैत २६ गतेसम्म सञ्चालन हुनेछ ।