बचत गरेकाे पैसा फिर्ता नपाएपछि लेबनानमा निक्षेपकर्ताहरूले गरे बैंकहरूमा तोडफोड र आगजनी

बेरुत । लेबनानमा निक्षेपकर्ताहरूले बैंकहरूमा तोडफोड गरेका छन् । वर्षौंदेखि नगद झिक्न लगाइएको अनौपचारिक प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका उनीहरूले बैंकहरूमा तोडफोड गरेका हुन् । बेरुतको छिमेकमा मात्रै बिहीवार दर्जनौं आक्रमणकारीहरूले कम्तीमा पनि ६ बैंकहरूमा तोडफोड गरेको भन्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् । आम लेबनानीहरूले बैंकमा बचत गरेकाे रकम बैंकहरूले दिन नमानेपछि अवस्था तनावग्रस्त बनेको छ । बिहीवार लेबनानी पाउन्डको भाउ कीर्तिमानी न्यून स्तरमा झरेको थियो । सन् २०१९ यता लेबनानी बैंकहरूले अमेरिकी डलर र लेबनानी पाउन्डमा रकम झिक्न प्रतिबन्ध लगाएका छन् । यो प्रतिबन्धलाई कानूनीरूपमा औपचारिक मान्यता दिइएको छैन । तर बैंकहरूको यस्तो व्यवहारका कारण निक्षेपकर्ताहरूले आफैले बैंकमा राखेको पैसा झिक्न कानूनी झमेला वा बल जफ्तीको सहारा लिन बाध्य भएका छन् । सन् २०१९ को वित्तीय क्षेत्रमा विस्फोटनयता लेबनानी पाउन्डको भाउ ९८ प्रतिशतले घटिसकेको छ । प्रतिडलर लेबनानी पाउन्डको भाउ बिहीवार ८० हजार कायम भएको थियो । दुई दिनअघि यो दर ७० हजार लेबनानी पाउन्ड थियो । पछिल्लो वित्तीय संकटको व्यवस्थापन गर्न त्यहाँको केन्द्रीय बैंकलाई निल्नु न ओकल्नु बनेको छ । पाउन्ड धराशयी हुनुको कारणबारे केन्द्रीय बैंकले केही भनेको छैन । देशको वित्तीय संकट मत्थर गर्ने प्रयास जारी भएको सरकारको भनाइ छ । लेबनान सन् २०२२ को अप्रिलमै बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग वित्तीय उद्धार हासिलको पहिलो चरणमा थियो । तर, एक वर्षपछि कोषले वित्तीय उद्धार दिनका लागि तोकेका शर्तअनुरूपका सुधारहरू गर्न नसकेपछि वार्ता बीचमै बिथोलियो । त्यहाँ राजनीतिक अस्थिरता चुलिएको छ । अहिले वित्तीय संकट झनै चर्किएको छ । सहयोगका लागि सरकारले विश्वभर अनुरोध गरिरहेको छ । एजेन्सी