गुलाफ खेतीमा सम्भावना

प्रेम दिवस (भ्यालेन्टाइन्स डे) का लागि १ सातामै करीब साढे २ करोड रुपैयाँको गुलाफ भित्रिएको छ । भारतबाट २ लाख ६० हजार स्टेम गुलाफको फूल आयात भएको छ । प्रेम दिवसको अवधिभर २ लाख ८० हजार स्टेम गुलाफ विक्री हुने अनुमान छ । यसमध्ये करीब ६० हजार स्टेममात्रै नेपालको उत्पादन हुने देखिन्छ । नेपालमा गुलाफका विविध प्रजातिको खेतीको राम्रो सम्भावना भए पनि प्रेम दिवसकै लागि यति ठूलो परिमाणमा गुलाफ आयात हुनु अचम्मको विषय हो । यद्यपि सरकारले बिहीवार गुलाफको फूल आयात रोक्ने निर्णय गरेको छ । नेपालको उत्पादनले ७ प्रतिशतसम्म माग धान्नु र ९३ प्रतिशत गुलाफको स्टेम आयात गर्नु नेपाली कृषि क्षेत्रको असफलता हो । प्रेम दिवसका लागि विशेष रंग, आकार र कटिङको गुलाफ आवश्यक पर्छ । नेपालमै यस्तो गुलाफ खेती गर्न सम्भव छ । वास्तवमा नेपालले यस्तो गुलाफ आयात होइन, निर्यात गर्न सक्नुपर्ने हो । प्रेम दिवसका लागि उत्पादन गरिने गुलाफका लागि विशेष ध्यान दिनुपर्ने हुन्छ । नेपालमै उत्पादित भए पनि यस समयका लागि सही आकारका गुलाफको स्टेम तयार पार्न निकै सतर्क हुनुपर्छ । यो दिन विक्री नभए खेती गरिएको गुलाफ खेर जाने अवस्था आउन सक्छ । विदेश निर्यात गर्न रेफ्रिजरेशनसहितको ढुवानी व्यवस्था गर्नुपर्ने हुन्छ । त्यही भएर निर्यातको उद्देश्यले थालिएको गुलाफ खेती नेपालमा सफल नभएको उदाहरण छ । गुलाफको फूल प्रेम दिवसबाहेक अन्य अवसरमा पनि प्रयोग हुन्छ । बुके बनाउन र गाडी सजावटका लागि पनि यसको प्रयोग हुन्छ । तर, पनि अन्य समयमा यसको माग निकै कम हुन्छ । यही कारण गुलाफ खेतीप्रति आकर्षण कम भएको हो भन्न सकिन्छ । गुलाफको फूलको विविध प्रयोग हुन्छ । यसको व्यावसायिक खेती गर्ने हो भने यसबाट अन्य लाभ लिन सक्नुपर्छ । गुलाफबाट गुलाब जल बनाइन्छ जुन राम्रो मूल्यमा विक्री हुन्छ । त्यस्तै यसबाट अत्तर बनाइन्छ । गुलाफको सर्बत पनि बन्छ । गुलाफको पत्ता सुकाएर त्यसलाई तातोपानीमा राखेर चियाका रूपमा खाने प्रचलन पनि छ । सौन्दर्य सामग्रीदेखि औषधि निर्माणसम्म प्रयोग हुने भएकाले ती क्षेत्रमा पनि यसको प्रयोग हुने वातावरण मिलाए गुलाफ खेती फस्टाउन सक्छ ।

सम्बन्धित सामग्री

प्रेम दिवसमा रातो गुलाफको विकल्पमा स्ट्रबेरी

प्रेम दिवस लगायत विभिन्न समयमा रातो लगायत अन्य रंगका गुलाफका फूलहरु अत्यधिक प्रयोग हुन्छ । नेपालमा व्यावसायिक रुपमा गुलाफ फूल खेती अझै नहँुदा भारतबाट अत्यधिक आयात हुने गरेको छ । जसका कारणले गर्दा प्रेम दिवस (भ्यालेन्टाइन डे) मा मात्रै रातो गुलाफ आयात गर्दा करोडौं रुपैयाँ विदेशिने गरेको पुष्प व्यवसायी संघले जनाएको छ । प्रेम दिवसमा गुलाफको विकल्प के हुन सक्छ भन्ने धेरैले सोचेका छैनन् । तर भैरहवाका युवा कृषक आश गुरुङले स्ट्रबेरी खेतीमा सम्भावना देखेर तराईजस्तो गर्मि क्षेत्रमा यसको खेती गरिरहेका छन् ।