निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय सामान्य वृद्धि

चालू आर्थिक वर्ष (आव) को फागुनसम्ममा निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा नगन्य सुधार देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आवको फागुनसम्ममा निर्जीवन बीमा कम्पनीहरूले २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गत आवको यसै अवधिमा कम्पनीहरूले २५ अर्ब ८७ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क उठाएका थिए । चालू आवको पहिलो ८ महीनामा १ दशमलव १२ प्रतिशत मात्र बीमाशुल्क वृद्धि गर्न निर्जीवन बीमा कम्पनीहरू सफल भएका छन् । फागुनसम्ममा सबैभन्दा बढी व्यवसाय गर्नेमा शिखर इस्योरेन्स रहेको छ । शिखरले यस अवधिमा ३ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ । यसै गरी सबैभन्दा कम व्यवसाय नेशनल इस्योरेन्सको ७६ करोड १३ लाख रुपैयाँ रहेको छ । फागुनमा भने निर्जीवन बीमा कम्पनीहरूले अघिल्लो महीनाको तुलनामा राम्रो बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार माघमा लघुबाहेकका १४ ओटा निर्जीवन बीमा कम्पनीले २ लाख ४५ हजार बीमालेख विक्रीबाट ३ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । माघको तुलनामा कम्पनीहरूको बीमाशुल्क फागुनमा १६ दशमलव ९० प्रतिशतले वृद्धि भएको हो । माघमा उनीहरूले ३ अर्ब १२ करोड ७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । सोमवार जीवन बीमा कम्पनीहरूको व्यवसाय घटेको तथ्यांक प्राधिकरणले सार्वजनिक गरेको थियो । यसैगरी चालू आवको फागुनसम्ममा निर्जीवन लघुबीमा कम्पनीहरूले १० करोड ३३ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन् । यस अवधिसम्म कम्पनीहरूले ४५ हजार ३५८ ओटा बीमालेख जारी गरेका छन् । हाल नेपाल, प्रोटेक्टिभ र स्टार माइक्रो गरी तीनओटा कम्पनीले निर्जीवन लघुबीमा व्यवसाय गर्दै आएका छन् । त्यसमध्ये सबैभन्दा बढी व्यवसाय गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । फागुनसम्ममा यसले ४ करोड ९० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यसै अवधिमा प्रोटेक्टिभले ३ करोड ४८ लाख र स्टारले १ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले बताएको छ ।  आर्थिक शिथिलतासँगै बैंक, वित्तीय संस्थाको कर्जा प्रवाहमा कमी र व्यावसायिक गतिविधिसमेत प्रभावित भएपछि बीमा कम्पनीको व्यवसाय घट्दै आएको थियो । पछिल्लो समयमा बैंकमा बढेको तरलता, राष्ट्र बैंकको लचिलो मौद्रिक नीतिसँगै पुसयता बीमा व्यवसायमा पनि केही सुधार हुन थालेको बीमक बताउँछन् ।