विश्वका ठूला अर्थतन्त्रमा आर्थिक सुस्ती छाउँदा ४.५ % ले बढ्यो चीनको अर्थतन्त्र, 'घरजग्गा चौपट'

काठमाडौं । विश्वका ठूला अर्थतन्त्रहरूले आर्थिक सुस्ती भोगिरहेकै समयमा चीन (China) को अर्थतन्त्र (Economy) तीव्र दरमा बढेको छ । गत वर्षको पहिलो त्रैमासको तुलनामा चालू वर्षको साेही अवधिमा चीनको अर्थतन्त्र ४.५ प्रतिशतले बढेको हो । महँगी नियन्त्रण गर्न केन्द्रीय बैंकहरूले ब्याजदर (Interest Rate) बढाउँदा चीनको अर्थतन्त्र बढेको हो ।  कोभिड विरुद्धको शून्य सहनशीलताको नीति हटाएपछि चीनको अर्थतन्त्र दरिलो गरी लयमा फर्किन लागेको संकेत गरेको छ । चीनको सरकारी तथ्यांक कार्यालय National Bureau of Statistics ले मंगलवार सार्वजनिक गरेको तथ्यांकअनुसार वृद्धिको यो दर गएको वर्षको सोही त्रैमासयताकै उच्च हो । सन् २०२२ को पहिलो त्रैमासमा चिनियाँ अर्थतन्त्र ४ दशमलव ८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिको वृद्धिको दर रोयटर्सको जनमत सर्वेक्षणमा गरिएको औसत अनुमानभन्दा धेरै हो । अघिल्लो त्रैमासको तुलनामा अर्थतन्त्र २ दशमलव २ प्रतिशतले बढेको छ । चीनले गएको वर्षको अन्त्यतिर कोभिड नियन्त्रणसम्बन्धी कठोर नीति अन्त्य गरेयता विश्वको ध्यान चिनियाँ आर्थिक वृद्धिमा छ । मार्चमा चीनको खुद्रा विक्री १० दशमलव ६ प्रतिशतले बढेको थियो । औद्योगिक उत्पादन पनि ३ दशमलव ९ प्रतिशतले बढेको छ ।  औद्योगिक र उत्पादन लगानी वृद्धि सुस्ताउँदा गएको वर्षको सोही अवधिको तुलनामा निश्चित सम्पत्तिमा लगानी भने अपेक्षाकृत कमजोर देखिएको छ । घरजग्गा (Real Estate) बजारमा लगानी भने अघिल्ला त्रैमासमा झैं गएको त्रैमासमा पनि घटेको छ । सन् २०२२ भर चीनको अर्थतन्त्र ३ प्रतिशतले मात्रै बढेको थियो । सो अवधिमा अर्थतन्त्र साढे ५ प्रतिशतले बढ्ने आशा सरकारको थियो । यो वर्ष अर्थतन्त्र ५ प्रतिशतले बढ्ने सरकारी अनुमान छ ।  अमेरिकी बहुराष्ट्रिय लगानी बैंक Goldman Sachs ले पहिलो त्रैमासमा अर्थतन्त्र साढे ४ प्रतिशतले बढ्ने बताएको थियो । यो दरले बढ्दा गोल्डम्यानका अनुसार चीनको यस वर्षको पूर्ण वृद्धि प्रक्षेपण पूरा हुने छ । यो महीनाको शुरुमा चीनको उपभोक्ता मुद्रास्फीति १८ महीनाकै न्यून स्तरमा ओर्लिएको थियो । आर्थिक गतिविधिलाई बढाउन चीनले यो वर्षको पछिल्लो अवधिमा थप स्टिमुलस ल्याउने आशा गर्न लागिएको छ । विश्व अर्थतन्त्रमा छाउने भनिएको सुस्तीका कारण चीनको आर्थिक वृद्धिदरले टन्नै अवरोधहरूको सामना गर्न सक्ने देखिएको छ । बेरोजगारी वृद्धिमा बिर्को लगानी चिनियाँ नीतिनिर्माताहरूले स्टिमुलस कार्यक्रमहरू ल्याउने वाचा गरेका छन् । तर व्यवसाय कर्जाको जोखिमसँग जुधिरहेको अनि संरचनात्मक दुःख अनि विश्व अर्थतन्त्र मन्दीमा जाने भयले स्टिमुलसको प्रयासको असर सीमित पार्ने देखिन्छ । चीनको आर्थिक पुनःबहाली उबडखाबड नै छ । उपभोक्ता, सेवा र पूर्वाधारमा खर्च बढेको भए पनि कारखाना गतिविधि सुस्ताएको छ ।