पोखरामा नयाँ वर्षको रमझम (फोटो फिचर)

वैशाख ४, काठमाडौं । कोरोना महामारी शुरु भएको लगभग दुई वर्षपछि पर्यटकीय नगरी पोखराले नयाँ वर्ष - २०७९ लाई स्वागत गरेको छ। शिथिल अवस्थामा रहेको पर्यटन क्षेत्रमा पोखरामा देखिएको आन्तरिक तथा बाह्यि पर्यटकको चहलपहलले केहि सुधार आएको महसुस गरिएको छ। पोखराको फेवा तालमा डुङ्गा सयर गरी ताल बाराही दर्शन गर्न आन्तरिक मात्र नभई भारतीय पर्यटकहरू पनि उत्तिकै सहभागी छन् । बिदेशी पर्यटकहरू आफै डुङ्गा खियाएर रमाइलो गरिरहेका थिए। लेक साइडका सडकहरुमा राती अबेरसम्म पर्यटकहरू तथा अन्य मानिसहरुको आवतजावत  हुने गरेको पाइएको छ । अन्नपूर्ण बेसक्याम्प जाने पर्यटकहरुको पोखरा बसाईले पनि पोखराको पर्यटनमा अझ ऊर्जा थपेको देखिन्छ। मौसमले साथ दिएको कारण पाराग्लाईडिङ तथा अल्ट्रालाइट चढ्ने मानिसहरुको पनि भीड लागेको छ । दुई वर्षदेखि कोरोना संक्रमणले थला परेको यहाँको व्यवसाय अब चलायमान हुने अपेक्षा पर्यटन व्यवसायीले गरेका छन् । कोरोना संक्रमण पहिले पर्यटक आगमन बढ्ने आशामा व्यवसायीले पर्यटन क्षेत्रमा ठूलो लागानी गरेका थिए । त्यसै समयमा कोरोना संक्रमण बढेसँगै पर्यटन क्षेत्र शिथिल बनेको थियो । अहिले कोरोनाको संक्रमण कम हुँदै गएको, कोभिडका सबै प्रतिबन्ध हटाइएको र पछिल्लो समय सरकारले चौबीसै घण्टा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेकाले अहिले यहाँका पोखराका पर्यटन व्यवसायी उत्साहित छन् । तस्वीहरु : सुनिल शर्मा/ आर्थिक अभियान