काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपाली र स्थानीयका लागि आईपीओ जारी गरेको हो । स्थानीयमा भने फागुन १५ गतेसम्म आईपीओ विक्री खुला गरिने कम्पनीले जानकारी दिएको छ । मागभन्दा बढी आवेदन पर्न आएमा तोकिएको मितिअघि नै आईपीओ विक्री गरिने कम्पनीको भनाई छ ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५२ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि विक्री खुला गरेको हो ।
त्यस्तै जारी पूँजी ७६ करोड रुपैयाँको प्रतिशेयर १०० रुपैयाँ दरका ७ करोड ६० लाख रुपैयाँ बराबरको ७ लाख ६० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो । स्थानीयमा जारी हुने कुल कित्तामध्ये अति प्रभावित क्षेत्र दोलखाको गौरीशंकर गाउँपालिकाको वडा नं. ५ र ६ का बासिन्दाहरूमा ३ लाख ४ हजार कित्ता, प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका वडा नं. १, २, ३, ४, ७ ८ र ९ का बासिन्दाहरूमा ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र दोलखा जिल्लाको विगु गाँउपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरूमा १ लाख १४ हजार कित्ता शेयर विक्री गरिने कम्पनीले जानकारी दिएको छ ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । स्थानीय बासिन्दाहरूले यो आईपीओमा अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थलहरू, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूले भने आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले दोलखा जिल्लामा ६ दशमलव ४ मेगावाटको सुरिखोला जलविद्युत आयोजना र ७ मेगावाटको माथिल्लो सुरिखोला जलविद्युत आयोजना निर्माण गरेको छ । ६ दशमलव ४ मेगावाट क्षमताको सुरिखोला जलविद्युत आयोजनाबाट २०७९ वैशाख १८ गतेबाट व्यापारिक उत्पादन शुरु भएको छ भने ७ मेगावाट क्षमताको माथिल्लो सुरिखोला आयोजनाबाट आगामी चैत ३० गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य लिइएको छ ।