तरलताको असर घरजग्गा कारोबारमा : चितवनमा ५० % भन्दा बढीले कमि

पुस १५, चितवन ।  घरजग्गा कारोबारमा आकर्षक गन्तव्य मानिएको चितवनमा पछिल्लो केही महीना यता ठूलो कमि आएको छ । पछिल्लो समय बैंकमा तरलताको अभावका कारण घरजग्गा कारोबार सुस्त छ । ठूला - ठूला घरजग्गा कारोबार हुन सकेका छैनन् भने साना कारोबारमा समेत सहकारीको भर पर्नुपर्ने बाध्यता छ । चितवनका चार ओटै मालपोत कार्यालयमा समेत ५० प्रतिशतभन्दा कम रजिष्ट्रेशन पास हुने गरेको ती कार्यालयका कर्मचारीले बताएका छन् ।  गंगा  ग्रुपका अध्यक्ष घरजग्गा व्यवसायी दिनेशलाल चुके दशैंतिहारपछिदेखि नै घरजग्गा कारोबारमा कमि आएको बताउँछन् । ‘दशैंसम्म त कारोबारले गतिलिएको अवस्था थियो’, उनले भने, ‘त्यसपछि ओरालो लागेको कारोबारमा सुधार हुनै सकेन ।’  बैंकमा तरलताको अभावका कारण चितवनमा ठूला योजना, होटल, रिसोर्ट, उद्योगधन्दा, व्यावसायिक भवनमा लगानी शून्य भएको चुकेले बताए । साना - साना घडेरी, जग्गाको कारोबार भएपनि ती सबै सहकारीको माध्यमबाट गर्नुपरेको उनको भनाइ छ ।  ‘हामीले जग्गाधनी र ग्राहकहरुको सहजताको लागि सहकारीमार्फत केही प्रतिशत रकम फिक्स डिपोजिट गर्न लगाएर कामलाई भने नियमित गरेका छौं’, चुकेले भने । तरलताका कारण  जग्गा व्यवसायी भन्दा पनि ग्राहकलाई मर्का परेको चुकेले बताए ।  प्रभु हाउजिङ्गका अध्यक्ष केशव कार्की कोरोना महामारीपछि घरजग्गा कारोबार केही सुध्रिने संकेत देखिएपनि तरलताका कारण घरजग्गा ठप्प जस्तै भएको बताउँछन् । ‘हामीलाई बैंको ब्याज नियमित गर्न पनि पैसानै चाहिन्छ, ग्राहकले किन्दा पनि बैंकको नै सहायता चाहिन्छ’, कार्कीले भने ।   तरलताको अभावको कारण दुवै पक्षलाई मर्का परेको  उनको भनाइ छ । तरलताकै कारण कतिपय जग्गा बैना बट्टा गरेर पनि राजीनामा पास गर्न नसकिएको उनले बताए । बैंकमा तरलता अभाव हुँदा व्यक्ति विशेषबाट रकम ऋण लिएर कारोबार गर्दा महँगो ब्याज पर्ने गरेको उनले बताए ।  कारोबारमा सुस्तता आएपछि बिहानैदेखि भीडभाड हुने चितवनका मालपोत कार्यालयमा सेवाग्राहीको न्यून उपस्थिति हुने गरेको छ । हाल मालपोत कार्यालयमा अंशवण्डा, रोक्का,फुकुवा, भर्पाई, दृष्टि बन्धक, राजीनामा पासका काममा ५० प्रतिशतभन्दा बढी कमी भएको छ । मालपोत कायर्नालय, भरतपुरका प्रमुख शेरबहादुर भण्डारी दशैंअघि दैनिक रुपमा करीब ३५० को हाराहारीमा सबै काम हुँदै आएपनि अहिले यो संख्यामा निकै कम भएको बताउँछन् ।  ‘दशैंपछिबाट कम भएको हाम्रो काममा अहिले झन सुस्त छ’, भण्डारीले भने, ‘यसअघि ३५० ओटा जति काम हुन्थ्यो, अहिले १५० ओटाको हाराहारीमा छ ।’ तरलताका अभावका कारण घरजग्गाको कारोबारमा कमी आउनुका साथै, अंशवण्डा, नामसारी, फुकुवालगायतका काममा पनि असर परेको उनको भनाइ छ ।  बैंकहरुले डिपोजिट एकदमै सुस्त हुँदा बैंकहरुमा ऋणको माग अत्यधिक भएपनि लगानी गर्न सकेका छैनन् । तरलता अभावकै कारण पुराना ऋणीहरुलाई समेत थप लगानी गर्न नसकिएको र नयांँ सेवाग्राहीको लागि त लगानी शुन्य जस्तै भएको छ । कामना सेवा विकास बैंकका क्षत्रीय प्रबन्ध सुरेन्द्र भण्डारी निक्षेप र ऋण मागको सन्तुलन नहुँदा बैंकले चाहेरपनि लगानी गर्न नसकेको बताउँछन् । ‘ऋणको लगानी त बढेको बढेयै छ के गर्नु , डिपोजिट एकदम सुस्त छ । ऋणको माग अत्यधिक छ ’, भण्डारीले भने । बैंकमा डिपोजिटको साथै ऋणीहरुको ब्याजसमेत नियमित संकलन हुन कठिनाई भएको उनको भनाइ छ । सेवाग्राही लगानी क्षेत्रको प्रकृतिको आधारमा र पुराना सेवाग्राहीलाई पहिलो प्राथमिकता दिएर लगानी गर्नुपरेको उनको भनाइ छ । ‘रकम प्रशस्त नहुँदा हामीले स–साना व्यवसायीहरुलाई प्राथमिकता दिएका छौं’, उनले भने, ‘अन्यलाई आंशिक रुपमा ऋण भुक्तानी गरेर भएपनि काम चलाएका छौं ।’