बैंकहरूले यस महीनाबाट लागू हुने गरी निक्षेपको ब्याजदर घटाएका छन् । कर्जाको ब्याजदर घट्न अझै केही समय लाग्नेछ । बजारलाई प्रभाव पार्ने ब्याजदरबाहेक अन्य पक्ष पनि रहेका हुन्छन्, जस्तो बैंक दर, मुद्रास्फीति, राजनीतिक अवस्था आदि । व्यापारको अवस्था अहिले खस्कँदो छ । आफैनो व्यापार व्यवसाय विक्रीमा राख्ने जमात पनि प्रशस्त देखिन्छ । व्यवसाय विक्रीमा राखेर विदेशिने जमात पनि बढ्दो छ ।
व्यवसाय हुन व्यापार हुन आवश्यक छ, व्यापार हुनलाई ग्राहक चाहिन्छ । ग्राहक भन्नाले किन्ने इच्छा र क्षमता राखेको व्यक्ति भनेर बुझिन्छ । अहिले ग्राहकमा इच्छा छ तर क्षमता न्यून छ । व्यापार नहुनुमा सर्वसाधारणले खर्च गर्न सक्ने क्षमता गुमाएको अवस्था भनेर बुझ्न सकिन्छ । ग्राहकको जनसंख्या घटेको होइन, तर ग्राहकको खर्च गर्न सक्ने क्षमता घटेको हो ।
सर्वसाधारणले खर्च गर्ने आधारभूत क्षेत्र भनेको शिक्षा, स्वास्थ र दैनिक घरगृहस्थी हो । अहिले शिक्षा निकै महँगो भएको छ, काठमाडौंमा बस्ने मध्यम वर्गीय परिवारले मासिक १०–१५ हजारसम्म आफैनो एउटा बच्चा पढाउन मात्र खर्च गर्नुपर्छ । एकपटक बिरामी भएर अस्पताल भर्ना हुँदा ३० देखि ५० हजारसम्म सहजै खर्च हुन्छ ।
विलासी वस्तुको खरिद तब मात्र हुन्छ, जब आधारभूत वस्तुको माग पूरा हुन्छ । मान्छे तब मात्र नयाँ लुगा किन्न तत्पर हुन्छ जब उसले दुई छाक खान, आफैना छोराछोरीको विद्यालयको शुल्क तिर्न र स्वास्थ्यका लागि खर्च जुटाउन सक्छ । यही खर्च जुटाउन नसक्दा कठिनाइ छ भने उसले नयाँ कपडा, घरजग्गा वा फर्निचरजस्ता क्षेत्रमा आफैनो बजेट छुट्याउँदैन । आज व्यापार तिनै विलासी वस्तु मात्र घटेको छ । अस्पताल, शिक्षा, खाद्यान्न वस्तुहरूका व्यापारी अहिले पक्कै पनि मारमा छैनन् । उपभोक्ताले आधारभूत मागहरू प्राप्त गरेपश्चात् मात्र अन्य मागतर्फ प्रवेश गर्छ भन्ने बारे अब्राहम मास्लोले सन् १९४३ मै उल्लेख गरिसकेका थिए । के पुष्टि हुन्छ भने बजारमा ग्राहक हराएका होइनन्, उनीहरूको प्राथमिकतामा परिवर्तन आएको हो ।
ग्राहकहरू हिजोझैं खर्च गर्न किन सकिरहेका छैनन् त ? कि त ग्राहकको आम्दानी घट्नुपर्यो, कि बजार महँगिनुपर्यो । अहिलेको अवस्थामा ग्राहकको आम्दानी केही हदसम्म घटेको हुन सक्छ । व्यापारीहरूले नै आफैनो व्यापार नहुँदा आफू मातहतको कर्मचारीहरूलाई जागीरबाट निकालेको प्रशस्त उदाहरण छँदै छन् । त्यसबाहेक पनि कोभिडकालीन समयमा ठूलो मात्रामा सर्वसाधारणले बेरोजगारी भोग्नुपर्यो । उक्त समयमा विदेशिने नेपालीहरूमा पनि कमी आयो, जसले गर्दा विप्रेषण सोही मात्रामा आउन सकेको थिएन । यसरी सर्वसाधारणको खर्च गर्न सक्ने क्षमता खुम्चिँदै गयो । बैंकले लगाएको चर्को ब्याजले गर्दा पनि खर्च गर्न सक्ने क्षमता खुम्चिँदो अवस्थामा पुर्याएको छ भन्न सकिन्छ ।
बजार महँगिएको विषयलाई नकार्न मिल्दैन । विगत केही वर्षमा बजारको मूल्य आकाशिएको छ । बिहान उठेर प्रयोग गरिने दन्तमञ्जनदेखि बेलुका सुत्ने बेला टाँगिने झुलसम्मको मूल्य विगत केही वर्षमा मात्र दोब्बर भएको छ । बाहिर गएर खाना वा खाजा खाँदा लाग्ने रकम विगत केही वर्षमा मात्र दोब्बर भएको छ । भूकम्प, नाकाबन्दीदेखि कोभिडलाई बहाना बनाएर बढाइएको मूल्य त्यसपश्चात् कहिले घटेन र बजार महँगो नै रही रह्यो । अहिलेको महँगीको भार हरेक भान्छामा अनुभव गर्न सकिने अवस्था छ । मध्यमवर्गीय बाहुलता रहेको नेपाली समाजमा अहिले महँगी चुनौतीपूर्ण विषय बनिरहेको छ । बैंकको ब्याजदर होस्, घरबेटीको भाडा होस् या फलफूल र सब्जीको मूल्य होस्, सबैलाई महँगीले समाएकै छ ।
समस्या यही दुई विषयको अन्तरमा छ । एकतर्फ सर्वसाधारणको आय नबढ्नु, अर्कोतर्फ महँगीले एउटा चरण पार गर्नु । तलब वृद्धि नभएको होइन तर जुन गतिमा भइरहेको छ, त्यो अनुपातमा मूल्य वृद्धि भएको छैन । कछुवाको गतिमा तलब वृद्धि हुनु र खरायोको गतिमा मूल्य वृद्धि हुँदा सर्वसाधारणको खर्चयोग्य रकम संकुचित भएको छ । यसले गर्दा व्यवसायले आफैनो ग्राहक गुमाउनुपर्ने अवस्था आएको बुझ्न सकिन्छ । हिजो त्यही वस्तु आफैनो आम्दानीबाट किन्न सक्ने हैसियत राखेका नेपाली सर्वसाधारण, आज उक्त वस्तु किन्न नसक्ने अवस्थामा पुगेका छन् । नेतृत्वलाई ज्ञान नहोला तर यो महँगीले कतै न कतै सबैको स्तर खस्काएकै छ । बासमती चामल प्रयोग गर्नेहरू जिरा मसिनो राम्रो भन्नु, दुईओटा तरकारी प्रयोग गर्नेहरू एउटामा झरिसकेको अवस्था छ । हिजो चार जोर वार्षिक लुगा किन्न सक्ने क्षमता भएकाहरू आज दुई जोरमा चित्त बुझाउन थालेपछि स्वाभाविक रूपमा व्यवसाय र व्यापार कम भएको आकलन गर्न सकिन्छ ।
अर्थतन्त्रको चक्रीय फेरोमा यो अवस्था आउनु एउटा सामान्य अवस्था हो । तर, यो तत्काल समाधान पक्कै हुँदैन । बैंकहरूले ब्याजदर घटाउँदैमा समग्र समाधान तत्काल हुँदैन । सर्वसाधारणको आय बढ्न आवश्यक छ महँगीसँग सामना गर्नलाई । राजस्व खुम्चिएको यस अवस्थामा सरकारले तलब बढाउन पनि सक्दैन, जसले गर्दा तलब बढ्दैन र महँगी यथावत् या झन् बढ्छ । वैदेशिक ऋण लिएर सरकारले तलब बाँड्ने कुरा पनि हुँदैन । यस अवस्थाबाट उम्किन महँगी नियन्त्रण गर्न र आय बढाउन समग्र पहल सबै पक्षबाट आवश्यक छ । आखिर सबै आफैनो जीवनस्तर वृद्धिको अपेक्षा र रहर बोकेकै हुन्छ, परिश्रम गरिनै रहेका हुन्छन् । राजनीतिक र आर्थिक माहोलले उक्त अवस्था तत्काल सृजित गरिदिनुपर्ने अभिभारा राज्यले वहन गर्न सक्नुपर्छ ।
रेग्मी बैंकर हुन् ।