चितवनका कवाड व्यवसायीद्वारा आन्दोलनको घोषणा

चितवन। भरतपुर महानगरपालिकाले आफ्ना माग पूरा नगरेको भन्दै चितवनका कवाड व्यवसायीले आन्दोलनको घोषणा गरेका छन् । महानगरपालिकाभित्रका कवाडी व्यवसायीले ठेक्का कर प्रणालीविरुद्ध आन्दोलनको तयारी गरेका हुन् । शनिवार सरसफाइ तथा पुन: उपयोगी वस्तु व्यवसायी संघ र चितवन कवाड व्यवसायी संघले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै ठेक्का प्रणाली फिर्ता नभएसम्म आफ्ना आन्दोलनका कार्यक्रम जारी राख्ने बताए ।  सरसफाइ तथा पुन: उपयोगी वस्तु व्यवसायी संघका अध्यक्ष शंकरबहादुर खत्री क्षेत्रीले महानगरमा नियमित धर्ना गर्र्दा पनि सुनुवाइ नभएपछि आज (सोमवार)देखि सशक्त आन्दोलन गर्न लागिएको बताए । ‘पहिले हामी महानगरका व्यवसायी मात्र थियौं, अब जिल्लाका सबै व्यवसायी एक भएका छौं, असोज २१ देखि धर्र्ना विरोध, प्रदर्शन, शान्तिपूर्ण र्‍याली गर्दा पनि महानगरले वार्तामा बोलाएन, अब सशक्त आन्दोलनमा जान्छौं,’ उनले भने । चितवन कवाडी व्यवसायी संघका अध्यक्ष नारायण सिंह गुरुङले आफूहरूले ९ महीनादेखि प्रत्यक्ष अप्रत्यक्ष रूपमा ठेक्का प्रथाको विरोध गर्दै आएको, तर महानगरले आफ्नो अडान नछाडेकाले बाध्य भएर सडकमा आउनुपरेको बताए । ‘हामीले अहिलेसम्म धेरै शान्तिपूर्ण तरीकाले प्रदर्शन गर्‍यौं, कुरा राख्यौं, सुनुवाइ भएन, अब व्यवसाय नै ठप्प पारेर सडकमा आउँदै छौं,’ उनले भने । आफूहरूले आयकर, मूल्य अभिवृद्धि कर, घरबहाल कर, व्यवसाय कर, निकासी कर, अन्तरपालिकासम्मको निकासी कर तिर्दै आएको उनले बताए । उनले भने, ‘हामीले सबै खालका कर तिर्दै आएका छौं, तर महानगरपालिकाले व्यवसायीलाई हतोत्साहित गरेर करको नाममा आफैले व्यवसाय गर्न लागेको छ ।’  संघका सल्लाहकार भोलानाथ सापकोटाले व्यवसाय बन्द गरेपछि यसको नतीजा महानगरले नै भोग्नुपर्ने चेतावनी दिए । महानगरको कुल फोहोरको ४० प्रतिशतसम्म कवाड व्यवसायीले पुन: उपयोग गर्दै आएकाले महानगरले गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ थियो ।  संघका सचिव पुरन मल्लले महानगरको यस निर्णयले सयौंको व्यवसाय र रोजगारी खोसिन लागेको बताए । ‘कवाडी सामानको मूल्यभन्दा बढी कर लिइएको छ, अब हामी कसरी व्यवसाय गर्न सक्छौं ?,’ उनले भने ।