एनएमबि र सांग्रिला डेभलपमेण्ट बैंकलाई ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

वैशाख १२, काठमाडौं । एनएमबि बैंक र सांग्रिला डेभलपमेण्ट बैंकले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् ।  एनएमबि बैंकले दुई ओटा एनएमबि ऋणपत्र ८ दशमलव ५ प्रतिशत ब्याजदरमा २०८७/८८ सम्मका लागि र एनएमबि उर्जा ऋणपत्र वार्षिक ४ प्रतिशत ब्याजदरमा २०९२/९३ ऋणपत्र निष्कासन गर्ने स्वीकृति पाएको छ ।  त्यसैगरी, सांग्रिला डेभलपमेण्ट बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा आगामी २०८७ सम्मका लागि रू. ७५ करोड बराबरको ७  लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको हो । जसमध्ये ३ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ४ लाख ५० हजार कित्ता ऋणपत्र व्याक्तिगत तबरबाट विक्री गर्नेछ । ऋणपत्रको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  त्यसैगरी, एनएमबि बैंकले ८ दशमलव ५ प्रतिशत वार्षिक ब्याजदरमा आगामी १० वर्ष सम्मका लागि रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । कुल २० लाख कित्तामध्ये बैंकले ८ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १२ लाख कित्ता व्याक्तिगत तबरबाट विक्री गर्नेछ । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । यस्तै, एनएमबि बैंकले आगामी १५ वर्ष सम्मका लागि उर्जा ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । बैंकले रू. १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये ६ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ९ लाख कित्ता व्याक्तिगत तबरबाट अन्य संस्थागत लगानीकर्ताहरुलाई विक्री गर्नेछ । विक्री प्रबन्धक हिमालय क्यापिटल लिमिटेड रहेको छ ।