रुसले छिमेकी मुलुक युक्रेनमा आक्रमण गरेपछि विश्वभर त्यसको असर परेको छ । युद्ध आफँैमा अमानवीय हो । विश्वका दुईवटा महायुद्ध भोगिसकेको मानव संसार शान्ति चाहन्छ तर युद्धले संसार छोडेको छैन । गएको बिहीबार रुसले युक्रेनको हवाई अड्डा, सैनिक मुख्यालयलगायत स्थानमा हमला गरेपछि विश्वबजारमा कच्चा तेलको भाउ एक सय डलरभन्दा माथि पुगेको छ । त्यसै पनि कोरोना महामारीले थिलथिलो बनाएको अर्थतन्त्रमा कच्चा तेलको भाउ माथि चढ्दा विश्व अर्थतन्त्रले महँगीको सामना गर्नु परेको थियो । पेट्रोलियमको भाउ माथि जाँदा विश्व अर्थतन्त्र नराम्ररी थला पर्ने सम्भावना छ । नेपालजस्तो मुलुकका लागि त्यसको असर महँगो पर्ने छ । यो खुनी युद्धको मार न्यून गर्न नेपालले रणनीतिक र कार्यनीतिक उपाय तत्काल खोज्नु पर्नेछ ।