जगदीश ढकाल, नेपालगञ्ज ।
राष्ट्रिय जनमोर्चा बाँकेले शनिबार राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर र डुडुवा गाउँपालिकाको कम्दी मिलन चोकमा विरोधसभा सम्पन्न गरेको छ । फत्तेपुरमा आयोजित विरोध सभामा राजमोका पूर्व महासचिव तथा पूर्व सांसद हरि आचार्यले सम्बोधन गर्दै ओली सरकारले गरेको संसद विघटनले प्रतिगमनलाई नै मद्दत पुग्ने भएकोले संसदको पुनर्स्थापना हुनुपर्नेमा जोड दिनुभयो ।
एकातिर राजावादीहरुले धर्म निरपेक्षताको विरोध गर्दै राजतन्त्रलाई अगाडि सार्ने षड्यन्त्र गरिरहेको र आफूलाई क्रान्तिकारी भन्ने विप्लव र वैद्य लगाएतले पनि संसद र संविधानको बिरोध गरिरहेको बेला संसद विघटन गर्नुले प्रतिगमनलाई फाइदा पुग्ने उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसले संंसद विघटनको घटनाको स्पष्ट विरोध गर्नुको बदला ढुल्मुले नीति देखाइएको उहाँले आरोप लगाउनुभयो ।
सभामा अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पाण्डेले सम्बोधन गर्दै सरकारले संघीयताका नाममा जनतामाथि करको अत्यन्त ठुलो भारी बोकाएर दुःख दिएको बताउँदै अब जनताको आन्दोलनले संघीयता खारेज गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । सभाको सञ्चालन मनबहादुर सुनारले गर्नुभएको थियोे ।
त्यसैगरि शनिवार नै डुडुवा गाउँपालिकाको कम्दी मिलनचोकमा सम्पन्न विरोध सभामा सम्बोधन गर्दै युवक संघका महासचिव पाण्डेले ओली सरकारले गरेको संसद विघटनको घटनाले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतामा खतरा उत्पन्न भएको हुँदा यस घटनाका विरुद्ध एकजुट हुन जनसमुदायहरुमा आग्रह गर्नुभएको थियोे ।
उक्त सभामा जातीय समता समाजका वैकल्पिक केन्द्रीय सदस्य मनबहादुर सुनारले सम्बोधन गर्दै आफूलाई कम्युनिस्टको सरकार बताउने ओली सरकार श्रमजिवी किसान, मजदुर तथा दलित समुदायहरुका समस्याहरुको समाधान प्रती उदासीन रहेको बताउनु भयो ।
यो पनिः
बाँकेको बैजापुरमा राजमोको विरोध सभा
राजमो बाँकेले साताव्यापी सञ्चालन गरेको विरोध कार्यक्रम अघैयामा
संसद विघटन गरेर मन्त्रिमण्डल विस्तार गर्नु अधिनायकवादी शैली : आचार्य