कार्तिक २९, पर्वत । घरको आँगनबाट देखिने हिमालका पंक्ति । चिटिक्क मिलेको गोरेटो बाटो । सबै घर ढुंगाले छाएका । बजारको कोलाहलबाट टाढा । गाउँलेको न्यानो आतिथ्यता सहितको होमस्टे । पर्वतको पर्यटकीय गाउँ भुकगाउँ जिल्लाकै घुम्नलायक गाउँ हो । कोरोना कहर पछिको अवस्थामा यो गाउँले पर्यटक पर्खिरहेको छ ।
झन्डै एक दशकअघि नेपालमा शुरु भएको ‘इकोभिलेज’को अवधारणाले विस्तारै गति लिइरहेको बेलामा भुक पनि ‘इकोभिलेज’ को रूपमा विकास हुँदै जिल्लाकै नमूना ‘इकोभिलेज’ मा परिणत हुँदैछ । यो गाउँ
गाउँका प्रत्येक गल्लीमा सडक बत्ती, ढल निकाससँगै गाउँमा हिँड्नका लागि कलात्मक ढुंगाले बनाइएको करीब डेढ किलोमिटर लामो सिँढी बाटो, ढुंगाले छाइएका घरहरू, सडक छेउमा रोपिएका बिरुवा, त्यहाँबाट देखिने प्राकृतिक दृश्य र गाउँकै अर्गानिक उत्पादनलगायतका कारण भुकमा कोरोना कहर अगाडिसम्म पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरे पनि कोरोना पछि भने सुनसान जस्तै बनेको छ ।
‘कोरोनाभन्दा अगाडिसम्म त यहाँ पाहुनाहरूको लाइनै लाग्थ्यो। कोरोनाले सुनसान बन्यो‚ हामी पनि अत्तालियौँ,’ भुक देउराली विकास मञ्चका संयोजक पञ्चकाजी गुरुङले भने, ‘अब विस्तारै कोरोनाको जोखिम कम हुँदै गएको जस्तो देखिएको छ । यहाँका रमाइला ठाउँहरू घुम्ने सिजन पनि यही बेला हो । अब त पर्यटकहरु यहाँ आउनुपर्छ ।’
पाहुनाहरूलाई स्थानीय स्वाद र रमाइलोको अनुभूतिका लागि १० ओटा ‘होमस्टे घर’ समेत स्थापना गरिएको भूकमा बाजागाजा, दोहोरी लगायतका मनोरञ्जनात्मक गतिविधिहरू समेत ‘होमस्टे’ मा हुने भएकाले पनि पाहुनाको प्रतीक्षामा रहेको ‘होमस्टे’ का अध्यक्ष टेकबहादुर गुरुङले बताए ।
भुक जानका लागि कास्कीको नयाँ पुल र पर्वतको पातिचौरबाट सवारीमा जान सकिन्छ भने पदयात्राका लागि नयाँ पुल रोजाइको ठाउँ हो । पदयात्रा गर्दै जाँदा करीब चार घण्टा लाग्छ भने सवारीमा जाँदा करीब डेढ घण्टा जति लाग्छ ।
पर्वतका सातओटा पालिकामा गरी झण्डै ४५ ओटा होमस्टे रहेका छन् । कोरोना संक्रमणको दर न्यूनीकरण हुँदै गएपछि दुई वर्षदेखि बन्द होमस्टेहरु विस्तारै तंग्रीन थालेका छन् । अहिले अधिकांश होमस्टे आन्तरिक पर्यटकको भरमा सञ्चालन भइरहेका छन् ।