भारतको लगानी अभिवृद्धि र व्यापार सहजीकरणका लागि नेपाली निजी क्षेत्रले गर्‍यो आग्रह

चैत २०, काठमाडौं । नेपालमा भारतीय लगानी बढाउन र भारततर्फको निर्यात सहजीकरण गर्न सरकार र निजी क्षेत्र दुवैले भारतसँग आग्रह गरेका छन् । भारत भ्रमणका क्रममा शनिवार भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालमा लगानीको वातावरण सहज बनाउन सरकार रहेको वताउनुभयो । कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्यविना समृद्ध नहुने पनि भन्दै उहाँले त्यसका लागि वातावरण वनाउने बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भ्रमणका क्रममा भएको सम्झौताले विद्युत् आदान प्रदान र रेल सेवा सञ्चालनमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।  कन्फिडरेसन अफ इन्डियन इन्डिष्ट्रिज (सिआईआई) ले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । सिआईआई भारतमा महासंघको साझेदार संस्था पनि हो ।  कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए । ‘पछिल्ला वर्षहरुमा भारतीय लगानी घटिरहेको छ’, उनले भने, ‘यसलाई बढाउन निजी क्षेत्रको के कस्तो सहयोग चाहिन्छ हामी गर्न तयार छौं । सहजीकरणका लागि महासंघमा विदेशी लगानी सहायता कक्षसमेत स्थापना भएको छ ।’  उनले पर्यटन क्षेत्रमा सम्भावना बढदै गएको पनि बताए । ‘पहिले घुम्न आउनोस, त्यसपछि लगानी गर्नुहोस, अनि आम्दानी पनि गर्नुहोस’, उनले भने । उनले अबको दुई वर्षमा अहिलेको पर्यटन पुर्वाधारले नपुग्ने र सरकारी नीतिका कारण यस क्षेत्रमा लगानी सहज भएको पनि बताए । नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरुले राम्रो मुनाफा आर्जन गरिरहेको पनि उनले बताए । नेपाल भारतका लागि नवौ ठूलो निर्यात गन्तव्य भएको सन्दर्भ प्रस्तुत गर्दै अध्यक्ष गोल्छाले नेपालले पनि भारतमा निर्यात बढाउन खोजिरहेको बताए । नेपालको भारततर्फ र तेस्रो मुलुकको निर्यातमा भारतले सहजीकरण गरिदिनुपर्छ भन्दै उनले नाकामा पुर्वाधार सुधार र गैर भन्सार अवरोध हटाउनुपर्नेमा जोड दिए । कृषिजन्य उत्पादनको निर्यातका लागि समान गुणस्तरको ल्याब स्थापना गरि एक अर्काको देशमा मान्यता दिनुपर्ने पनि उनले बताए । कार्यक्रममा सिआईआईका अध्यक्ष टीभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको र नेपालमा लगानी बढाउन सहजीकरण गर्ने बताए । सिआईआईको उर्जा संयन्त्रले नेपालमा लगानी बढाउन सहकार्य गर्ने पनि उनले बताए । कृषिजन्य वस्तुको निर्यातमा गुणस्तरीय कायम गर्न भारतले सहयोग गर्न सक्ने उनले बताए । कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले नेपाल भारतबीचको संयुक्त व्यवसायिक फोरमको बारेमा जानकारी गराएकि थिइन् । त्यस्तै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) शुसिल भट्टले लगानीका लागि भइरहेको प्रयासबारे जानकारी दिएका थिए । कार्यक्रममा करीब ३० ओटा भारतीय बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिको सहभागिता थियो । करीब १५ ओटा कम्पनीका सीईओले नेपालमा लगानीको सम्भावना बारे चासो र अनुभव आदान प्रदान गरेका थिए ।  कार्यक्रमअघि महासंघ र सिआईआईका पदाधिकारीहरु बीच सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल भारत लगानी एवं व्यापार सहजीकरणका बिषयमा छलफल  द्विपक्षीय छलफल भएको थियो ।