बैंकिङ क्षेत्र बिथोल्नेलाई तत्काल पक्राउ गर

बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरका विरुद्धमा निजी क्षेत्र सडकमा उत्रिएको आधा वर्ष हुन थालेको छ । तर, पछिल्ला दिनमा निजी क्षेत्रकै केही व्यवसायीहरूले बैंकको ऋण र ब्याज दुवै नतिर्ने भन्दै बैंकिङ क्षेत्रमाथि नै भौतिक रूपमा आक्रमण गर्न सुरु गरिएको छ । कतिपय बैंकरलाई कालोमोसो लगाउने कामसमेत भएका छन् । दुर्गा प्रसाईंजस्ता केही व्यवसायीको उक्साहटमा […]

सम्बन्धित सामग्री

वित्तीय क्षेत्रप्रति खेलाँची अर्थतन्त्रमा दूरगामी प्रभावको जोखिम

आफ्नो पीडामाथि राज्यबाट मलम लगाइने पहिलेको आश्वासन कार्यान्वयन नभएपछि अहिले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मीटरब्याज पीडितहरू पुन: पैदल नै हिँडेर नारायणघाटमा भेटिए र त्यहाँबाट सँगै काठमाडौं आइपुगेको पनि धेरै दिन बितिसकेको छ । वास्तवमा यो यस्तो पीडा थियो जसका लागि कुनै पनि सभ्य राज्यको उपस्थिति रहेको मुलुकमा नागरिकले माग राखीराखी आन्दोलन नै गर्नुपर्ने थिएन । यस्तो पीडाको झल्को पाउनेबित्तिकै राज्य संयन्त्रले त्यसको समाधान खोज्नुपर्ने थियो । तर, बिडम्वना, बारम्बारको जानकारी, घचघच्याइ र दिलोज्यान दिएर गरिएको ‘जायज’ आन्दोलन भए पनि अझै जनता नाङ्गो खुट्टा लिएर समस्या समाधानका लागि प्रधानमन्त्री र मन्त्रीहरूलाई बिन्ती बिसाउन बाध्य छन् । त्यसका लागि उनीहरूले तय गर्नु परेको पीडाको बाटोमा घिस्रिएका नाङ्गो खुट्टामा उठेका फोका र लागेका घाउहरूमा मलम लगाउन सत्ता समीकरणको ‘मधुरकुण्ड’ मा अलमलिएकाहरूले समय नै पाएका छैनन् । फेरि संघीयताद्वारा घरघरमा सिंहदरबार पुर्‍याउने उद्घोष गर्नेहरूलाई मात्र होइन प्रदेश सरकार हाँक्नेहरूलाई पनि आफ्नो क्षेत्राधिकारको जँघार नाघेर पीडितहरू सिंहदरबारको ढोका ढकढक्याउन गएको देखेर लज्जाबोध हुनुपर्ने हो । तर, बिडम्वना उनीहरूमा त्यस प्रकारको लज्जा र जिम्मेवारीबोधको लेशमात्र पनि अनुभव गर्न पाइएको छैन । बरु उनीहरूमध्ये नै कतिपय व्यक्ति पीडकका रूपमा रहेकाले पनि समस्याले उचित समाधान पाउन पो नसकेको हो कि भन्ने आम रूपमा आशंकाचाहिँ उब्जिएको छ । करीब १ वर्षअगाडि पनि यस्तै समवेत स्वर लिएर आएका ती पीडितहरूका माग सम्बोधन गर्ने भनी राज्य तर्फबाट प्रयास गरिने बताइएको थियो । यसबाट उनीहरूको पीडा मात्र होइन, पीडाको गम्भीरता र पीडकहरूको बारेमा समेत राज्यलाई पर्याप्त जानकारी भएको नै मान्न सकिन्छ । अझ महत्त्वपूर्ण कुरा यी सबैका बारेमा जानकारी हुँदाहुँदै पनि विगतदेखि नै राज्य संयन्त्रहरू निष्क्रिय बस्दा यस्ता समस्याले जरो गाड्ने मौका पाएका हुन् भन्न सकिन्छ । यसबाट आर्थिक र वित्तीय विच्छृंखलताका लागि मलजल गरी खेलाँची गरिएको मान्न सकिन्छ । जनताको बचतको सुरक्षाको कारण देखाउँदै सहकारी ठगी प्रकरणलाई जोडेर चालू पूँजी कर्जा प्रवाह गर्दा कम धितो लिएको कारण देखाएर व्यावसायिक बैंकरहरूलाई पक्रने राज्य संयन्त्रले मीटर ब्याजको सन्दर्भमा किन जनताको रगत पसिनाको संरक्षणका लागि ‘जनहित’ गर्न सकेन ? उदेकको विषय बनेको छ । सहकारीसँग जोडिएको समस्यामा पनि यस्तै खेलाँची देख्न सकिन्छ । ‘पैसाको मुखै बैरी’ भन्ने लोकोक्ति नै रहेको छ । पैसा संलग्न हुने कुनै पनि कारोबारलाई कडा नियम र अनुशासनमा बाँध्न नसक्ने हो भने त्यसले कुनै न कुनै रूपमा भविष्यमा सकारात्मक परिणाम ल्याउँदैन भन्ने आशयका साथ नै उक्त लोकोक्ति चलेको हो । सहकारीमा अहिले देखिएका संकटले यही लोकोक्तिलाई सार्थक बनाएको छ । त्यसो त सहकारी संगठनहरू संकटमा परेको देखिनुमा अनेक कारण रहेका छन् । तर, ती अनेक कारणमध्ये ‘नियमन र संस्थागत सुशासनको अभाव’लाई प्रमुख कारणका रूपमा लिन सकिन्छ ।  सहकारी विभागले निर्देशन जारी गर्ने तर कार्यान्वयन भए नभएको हेर्ने सामथ्र्य नराख्दा संकट अवश्यंभावी थियो नै । नत्र कुल बचतको १० देखि १५ प्रतिशतसम्म तरलता राख्नुपर्ने उसको निर्देशन कार्यान्वयन हुन्थ्यो भने मात्र पनि अहिले कतिपय सहकारीमा देखिएको तरलताको संकट नदेखिन सक्थ्यो । तर, विडम्बना जहाँ दिनदिनै हजारौं मानिसको सानोसानो बचत संकलन गरी केवल पैसाको मात्र कारोबार हुन्छ त्यहाँ त्यसरी संकलन गरिने रकमको उपयोग कसरी, कसले र कति सावधानीपूर्वक गरेको छ भनी प्रभावकारी ढंगले निगरानी गर्न न त आवश्यक ठानियो न त आन्तरिक सुशासनप्रति नै ध्यान दिइयो ।  लाखौं जनताको रगत, पसिना र सपना जम्मा भएको सहकारीलाई जोगाउन राज्यस्तरबाट शीघ्रातिशीघ्र एक प्रभावकारी, अधिकार, साधनस्रोत र क्षमताले सम्पन्न नियामकको व्यवस्था गर्नुपर्ने अवश्यकता धेरै अगाडि नै महसूस भइसके पनि अहिलेसम्म पनि त्यसमा खेलाँची नै गरिएको छ र दिन प्रतिदिन सहकारीहरूमा नयाँनयाँ समस्या देखिँदै गएका छन् ।  एकातिर सहकारीको दर्ता तथा नियमनको अधिकार प्रादेशिक संरचना मुताबिक तीनै तहको सरकारमा विस्तारित गर्दै सहकारी स्थापनालाई सहज बनाउन दिइएको छ भने अर्कोतिर तिनलाई निगरानी राख्ने नियमनकारी निकायका रूपमा रहेको ‘सहकारी विभाग’ व्यावसायिक र प्राविधिक रूपमा कमजोर सिद्ध भइसक्दासमेत त्यसको क्षमता अभिवृद्धि गरिएको छैन । यसले सहकारी र त्यससँग आबद्ध लाखौं सर्वसाधारणको वित्तीय स्वार्थप्रति उच्च उदासीनता देखाएर वित्तीय क्षेत्रलाई अनुशासित र व्यवस्थित बनाउने सन्दर्भमा राज्यस्तरबाट नै गम्भीर खेलाँची भएको देखिन्छ । प्रत्यक्ष रूपमा यसरी सहकारीप्रति खेलाँची गरेको त देखिन्छ नै त्यसले अप्रत्यक्ष रूपमा वित्तीय क्षेत्रप्रति नै जनविश्वासमा ह्रास ल्याएको छ । यो गम्भीरताप्रति पनि सम्बद्ध पक्ष बेखबर देखिन्छन् । लघुवित्तका बारेमा पनि केही कुरा गरौं । लघुवित्त पीडितको नाममा अहिले एकथरी व्यक्तिहरू आफूले लिएको ऋणको साँवा तथा ब्याज नतिर्ने घोषणा गर्दै लामो समयदेखि आन्दोलनरत छन् । कतिपय व्यवसायीहरूलाई परेको परिस्थितिजन्य संकटबाट मुक्त गर्न बैंकिङ क्षेत्र तथा सम्बद्ध सरकारी निकायले पनि यथोचित ध्यान दिएर समाधान खोज्नुपर्छ नै । तर, यसैलाई बहाना बनाई आन्दोलन र जुलुस गर्ने, ऋण मिनाहा गर्नुपर्ने, विप्रेषण नपठाउन आह्वान गर्ने तथा बैंकिङ क्षेत्रका कर्मचारीहरूमाथि दुव्र्यवहारसमेत हुने घटनाहरू भने वित्तीय क्षेत्रका लागि मात्र होइन, समग्र अर्थतन्त्रकै लागि घातक छन् । यस्ता गतिविधिभित्र कुत्सित राजनीतिक स्वार्थ लुकेको कुरा आम सर्वसाधारणले समयमै बुझ्न नसके देशले भविष्यमा चर्को मूल्य चुकाउनुपर्ने अवस्था सृजना हुन्छ । वास्तवमा यस्ता गतिविधि वित्तीय अपराध त हुन् नै साथै त्यसले सामाजिक सद्भाव भड्काउने र राष्ट्रिय विचलन ल्याउने समेत जोखिम रहन्छ । यिनै सम्भावित परिमाणहरूको आलोकमा यस्ता गतिविधिहरूमा संलग्नहरू विरुद्ध सम्बद्ध निकायहरूले यथाशीघ्र यथोचित कानूनी कारबाही अगाडि बढाउनुपर्ने दायित्वप्रति उदासीन भएर राज्य संयन्त्रले वित्तीय र आर्थिक संकट निम्त्याउन गरी हेलचेक्य्राइँ गरेको छ भन्न हिचकिचाउनु पर्दैन । माथि उल्लिखित र अन्य वित्तीय अपराधका अनेकन घटनाक्रममा खेल्न सक्ने तमाम सकारात्मक भूमिकाहरूलाई छोडेर अहिले राज्य संयन्त्रद्वारा धितोभन्दा बढी ऋण प्रवाह गरेको ‘बहाना’मा केही प्रतिष्ठित र व्यावसायिक बैंकरहरूलाई पक्राउ गरेर वित्तीय संकटलाई झन् विकराल बनाउने कार्य गरिएको छ । पक्राउ परेका बैंकरहरू अन्य कुनै वित्तीय अपराधमा संलग्न भएका भए सोही अनुसारको जानकारीसहित अवश्य पनि उनीहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउनैपर्छ तर बैंकका विभिन्न तहमा निर्णय हुँदै जोखिम विश्लेषणसहित आन्तरिक नीतिनियमको परिधिभित्र बसी सांगठनिक रूपमै निर्णय गरेर कुनै व्यवसायलाई वा व्यवसायीलाई प्रदान गरिने कर्जाको ‘उपयुक्तता’का बारेमा असम्बद्ध अन्य कुनै निकायले गरेको मनोगत विश्लेषणको आधारमा उक्त निर्णय प्रक्रियामा संलग्न भएका व्यक्तिहरूलाई व्यक्तिगत रूपमा दोषी करार गरी धरपकड गर्नाले त्यसले देशको अर्थ–वित्तीय क्षेत्रलाई अप्रत्यक्ष रूपमा गम्भीर आघात पुर्‍याएको छ । सम्बद्ध नियामकीय निकायको कार्यक्षेत्र मिचेर असम्बद्ध र राष्ट्रिय अन्तरराष्ट्रिय बैंकिङ अभ्यासको पर्याप्त प्राविधिक ज्ञान नभएको निकायले गरेको यस्तो व्यवहारलाई पनि राज्यको आर्थिक एवं वित्तीय क्षेत्रप्रति गरिएको गम्भीर ‘खेलाँची’ मान्न सकिन्छ ।  यसले प्रत्यक्ष रूपमा बैंकरहरूको मनोबल त गिराएको छ नै, बैंकमा काम गर्ने प्रत्येक व्यक्तिलाई व्यावसायिक दक्षताका साथ भूमिका निर्वाह गर्ने वातावरणलाई समेत प्रदूषित बनाएको छ । यसबाट भविष्यमा कर्जा प्रवाहमा संकुचन आउने त छँदै छ, अहिले शिथिल अवस्थामा रहेको भएको अर्थतन्त्रलाई यस्ता खेलाँचीपूर्ण क्रियाकलापले थप थिलथिलोसमेत बनाएको छ । एकातिर वित्तीय क्षेत्रप्रति वितृष्णा फैलाउनेलाई आम छूट दिने र अर्कोतिर व्यावसायिक बैंकरहरूलाई हतोत्साही बनाउने कार्यले समाजमा अराजकताले प्रश्रय पाउने जोखिम रहन्छ । राष्ट्र बैंकले नियमन गरेको संस्थामाथि अर्कै निकायले देखाएको कमजोरीको कारण राष्ट्र बैंकको नियमन क्षमतामाथि पनि अप्रत्यक्ष रूपमा प्रश्न चिह्न खडा गरेको छ । यसले केन्द्रीय बैंकप्रति आम सर्वसाधारणले गर्ने भरोसामाथि पनि कुठाराघात गरेको छ । यसरी बैंकको आन्तरिक लेखा परीक्षण, बाह्य लेखा परीक्षण, जोखिम विश्लेषण प्रक्रिया, नियामकको सुपरिवेक्षणजस्ता सबै विषयमाथि यो धरपकडले एकै पटक धावा बोलेर गम्भीर रूपमा आघात गरेको छ । यस्तो व्यवहारले राष्ट्र बैंकले समय समयमा सर्वसाधारणलाई आश्वस्त पार्न वित्तीय अवस्थाको बारेमा दिने सूचना तथा जानकारीको विश्वसनीयतामाथि समेत आशंका उब्जने गरी वातावरण बिगारेको छ । झट्ट हेर्दा बैंकरहरूलाई समातेर केही गर्न खोजेको जस्तो देखाए पनि यो मामलामा राज्य संयन्त्रले एकै पटक देशका लागि अर्थवित्त क्षेत्रमा नकारात्मक दूरगामी प्रभाव पर्ने गम्भीर हेलचेक्य्राइँ गरेको देखिन्छ । सहकारीमा देखिएको समस्यालाई लिएर मात्र समाज चिन्तित भइरहेको अवस्थामा बैंकहरूमा पनि समस्या छ भन्ने सन्देश प्रवाह हुने गरी कदम चाल्नुअघि राज्य संयन्त्रले पर्याप्त गृहकार्य गरेको देखिँदैन । अत: यो कदमलाई बैंकिङ क्षेत्रप्रतिको आम विश्वासलाई कमजोर बनाउने गरी हतियार चलाएको मान्न सकिन्छ । नियामकीय निरीक्षण एवं सुपरिवेक्षण, आन्तरिक एवं बाह्य लेखा परीक्षण, जोखिम मूल्यांकन, संस्थागत सुशासन एवं अन्तरराष्ट्रिय अभ्यासलगायत समग्र बैंकिङ प्रणालीमाथि नै गम्भीर प्रहार गर्दै समग्र देशको अर्थतन्त्रले नै चर्को मूल्य चुकाउनुपर्ने गरी यस्तो ‘दिव्यास्त्र’ किन र कसको स्वार्थका लागि प्रयोग भएको हो, त्यो भने खोजीकै विषय बनेको छ ।  लेखक सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा विद्यावारिधिप्राप्त बैंकर हुन् । बैंकको आन्तरिक लेखा परीक्षण, बाह्य लेखा परीक्षण, जोखिम विश्लेषण प्रक्रिया, नियामकको सुपरिवेक्षणजस्ता सबै विषयमाथि यो धरपकडले एकै पटक धावा बोलेर गम्भीर रूपमा आघात गरेको छ । सहकारीमा देखिएको समस्यालाई लिएर मात्र समाज चिन्तित भइरहेको अवस्थामा बैंकहरूमा पनि समस्या छ भन्ने सन्देश प्रवाह हुने गरी कदम चाल्नुअघि राज्य संयन्त्रले पर्याप्त गृहकार्य गरेको देखिँदैन । अत: यो कदमलाई बैंकिङ क्षेत्रप्रतिको आम विश्वासलाई कमजोर बनाउने गरी हतियार चलाएको मान्न सकिन्छ ।