महेन्द्रनगर । संघीय सरकारले संसद समक्ष प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा कञ्चनपुरमा नयाँदेखि पुराना महत्त्वपूर्ण आयोजनालाई सम्बोधन गरिएको छ । कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको निर्माणका लागि नयाँ आर्थिक वर्षका लागि १ अर्ब २४ करोड १ लाख रुपैयाँ विनियोजन गरिएको हो ।
एक दशकभन्दा अघिदेखि निर्माण थालिएको उक्त आयोजना अन्तर्गत हाल २६ किलोमिटरसम्मको मूल नहर तयार हुँदैछ ।
१३ किलोमिटर मूल नहर बनेको क्षेत्रमा दुई हजार हेक्टर क्षेत्रफलका लागि शाखा नहर निर्माण गरेर आगामी वर्ष सिँचाइ सुविधा पुर्याउने लक्ष्य सरकारले लिएको छ ।
चालु आर्थिक वर्षमा पूँजीगततर्फ रु एक अर्ब १७ करोड बजेट रहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणले जानकारी दिएको छ । ‘आगामी वर्षमा सिँचाइ नहर निर्माणका लागि पुँजीगततर्फ रु एक अर्ब २३ करोड ५५ लाख रकम विनियोजन भएको छ ।’ महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जिनीयर शम्भु पण्डितले भने, ‘औषतमा आयोजनाका लागि बजेट बढेर नै आएको छ ।’
उनका अनुसार हालसम्म तीन वटा प्याकेजमा निर्माण भइरहेको १५ किलोमिटर मूल नहरको ८० प्रतिशत काम सकिएको छ । ‘पछिल्लो समय निर्माण सामग्रीको मूल्य वृद्धिले गर्दा निर्माण कम्पनीले कामलाई निरन्तरता दिएको छैन’ उनले भने, ‘निर्माण कम्पनी आन्दोलनमा हुँदा हाम्रो कामलाई असर गरेको छ ।’
त्यस्तै कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका लागि रु ४१ करोड बजेट विनियोजन गरिएको छ ।
करीब ८० प्रतिशत काम भइसकेको पुलमा ड्यामको डिजाइन परिर्वतन भएको छ । उक्त विषयको आर्थिक रूपले टुङ्गो लाग्न बाँकी छ । पुलसँगै बन्ने पोखरी निर्माण तटबन्ध टुङ्गो नलाग्दा हुनसकेको छैन भने पहुँच मार्ग निर्माण अन्तिम चरणमा छ ।
त्यसैगरी यहाँको बेदकोट नगरपालिकामा निर्माण हुने दैजी औद्योगिक क्षेत्रको निर्माण अघि बढाउने पनि बजेटमा उल्लेख छ ।
केही दिनअघि उक्त क्षेत्रको स्थलगत निरीक्षणपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त औद्योगिक क्षेत्रको निर्माण अघि बढाउने गरी बजेट ल्याउने बताएका थिए । त्यसैगरी लामो समयदेखि चर्चामा रहेको दोधारा चादँनी सुख्खा बन्दरगाह निर्माण थालिने पनि बजेटमा उल्लेख छ ।
सुख्खा बन्दरगाह निर्माणका लागि वातावरण प्रभाव मूल्याङ्कनको काम भइरहेको छ । दोधारा चादँनीमा दुई ओटा सामुदायिक वनको जग्गामा सुख्खा बन्दरगाह प्रस्तावित छ । रासस