घरजग्गामा कडाईः सिमेन्ट र डण्डीसहित दर्जनौँ उद्योग थला पर्दै, लाखौँको रोजगारी गुम्दै

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत घरजग्गा कर्जामा कडाई गरेपछि यसको असर औद्योगिक क्षेत्रमा पर्ने त्रास सुरु भएको छ । वित्तीय प्रणालीमा तरलता अभावको कारण देखाएर यसलाई सहज बनाउन भन्दै राष्ट्र बैंकले घरजग्गामा प्रवाह हुने लगानीमा कडाई गर्ने गरी मौद्रिक नीतिको समिक्षा गरेपछि घरजग्गामा प्रत्यक्ष जोडिने उद्योग व्यवसायको क्षेत्र प्रभावित बन्ने आवास विकासकर्ताहरुको दाबी छ ।राष्ट्र बैंकले हाउजिङ डेभलपरहरु र प्लटिङवालालाई एकै नजरले हेरेको भन्दै आवास विकासकर्ताहरु असन्तुष्ट बनेका हुन् । उनीहरुले जग्गा प्लटिङ निरुत्साहित गर्ने नाममा यो सँग जोडिने दर्जनौ उत्पादनमूलक उद्योगहरुमाथि अन्याय हुने गरि व्यवस्था गरिएको जनाएका छन् ।निर्माणजन्य सामग्री उत्पादन गर्ने उद्योगमा गम्भीर प्रभावसिमेन्ट, डण्डी लगायतका उद्योगहरु राष्ट्र बैंकको पछिल्लो कदमले घराशायी बन्ने उद्योगीहरु बताउँछन् । घरजग्गा क्षेत्रलाई अनुत्पादक क्षेत्र भनेर गरिने विभेद नै आफूहरुलाई स्वीकार्य नरहेको घरजग्गा व्यवसायी र उत्पादनमूलक उद्योगका उद्योगीहरु बताउँछन् ।‘घरजग्गालाई राष्ट्र बैंकले किन अनुत्पादक क्षेत्र देखिरहेको छ, हामीले बुझ्न सकेका छैनौँ’ जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्ले भन्छन्, ‘जबकी, सबै उत्पादनमूलक उद्योगका उत्पादन यहाँ खपत हुन्छ । सिमेन्ट, डण्डी, इट्टा, गिटी÷बालुवा लगायत क्रसर, पेन्टिङ, फर्निचर सबै घरमा चाहिन्छ । कुन चाहिँ उद्योगको उत्पादन घरमा खपत हुँदैन ? सबैभन्दा बढी उत्पादन खपत हुने क्षेत्र आफैँ अनुपात्दक क्षेत्रका रुपमा विभेदमा पररहेको छ ।’घरजग्गामा कडाई गर्दै लैजाने हो भने कालान्तरमा सिमेन्ट, डण्डी, इट्टा, गिटी÷बालुवा, पेन्टिङ, फर्निचर लगायतका सबै उद्योग क्रमशः बन्द हुँदै जाने र यसले अर्थतन्त्रमा गम्भीर असर निम्त्याउने खतरा रहेको हाउजिङ डेभलपर्सहरु बताउँछन् ।रियलस्टेटको ट्रान्जेक्सन र रेमिट्यान्सले अर्थतन्त्र चलेको दाबी गर्दै उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच तालमेल नमिल्दा रियलस्टेट क्षेत्रलाई कडाई गर्न खोजिएको हुन सक्ने दाबी पनि गरेका छन् ।मजदूरको रोजीरोटी खोसिँदैउद्योगका उत्पादन बिक्रि नभएपछि उद्योगले सिर्जना गरेको रोजगारी पनि घट्ने दाबी उद्योगीहरुकै छ । सिमेन्ट उद्योगीसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका घरजग्गा क्षेत्रमा कडाई गर्दा त्यसले पार्ने प्रभावका विषयमा अध्ययन आवश्यक रहेको बताउँछन् । घरजग्गासँग सबैजसो उत्पादनका क्षेत्र जोडिने भएकाले यो क्षेत्रलाई कडाई गर्दा भौतिक निर्माणमा बाधा पुग्ने र यसले उद्योगमा आवद्ध मजदूरको दैनिकीमा समेत असर गर्ने उनको भनाई छ । सिमेन्ट, डण्डी लगायतका निर्माण सामग्री उत्पादन हुने उद्योगमा लाखौँको संख्यामा मजदूर रहेको भन्दै उद्योगीहरुले उनीहरुको रोजगारी गुम्ने बताउँदै आएका छन् । ‘उत्पादन खपत नहुने भएपछि उत्पादन रोकिन्छ, उत्पादन नहुँदा उद्योगले कामदार राख्न सक्दैन’ एक जना स्टिल उद्योगी भन्छन्, ‘ल उत्पादन भयो रे मानौँ, तर त्यो बिक्रि नभएपछि कहाँबाट पैसा ल्याएर दिनु ? त्यसकारण लगानीका वैकल्पिक क्षेत्रहरु देखाउनु पर्छ, खुला गर्नुपर्छ ।’जग्गा तथा आवास विकासकर्ताहरु पनि अरु लगानीको क्षेत्र विस्तार नगरी एकैपटक कडाई गर्नु गलत हुने बताउँछन् । जग्गाको मूल्य बढेको विषयलाई देखाएर आवश्यकताले बन्ने हाउजिङ लगायतलाई कडाई गर्नु कुनैपनि हिसाबले ठिक नभएको वाग्ले बताउँछन् ।