प्राप्ति प्रस्ताव पारितका लागि हिमालयन र सिभिल क्यापिटलले बोलाए विशेष साधारण सभा

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेड र सिभिल क्यापिटल लिमिटेडले भदौ २७ गते विशेष साधारण सभा बोलाएका छन् । हिमालयन क्यापिटलको भदौ ९ गते र सिभिल क्यापिटलको भदौ ११ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । हिमालयन क्यापिटलले कम्पनी रजिष्टर्ड कार्यालय ठमेल, काठमाडौंमा उक्त दिन बिहान ११ बजे सभा गर्ने निर्णय गरेको छ भने सिभिल क्यापिटलले कम्पनीको रजिष्टर्ड कार्यालय सिटिसी मल, सुन्धारा, काठमाडौंमा साेही दिन सोही समयमा सभा गर्ने निर्णय गरेको हो । दुवै कम्पनीले प्राप्तिसम्बन्धि प्रस्तावलाई सभामार्फत पारित गर्नेछन् । सिभिल क्यापिटल लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले प्राप्ति गर्न लागेको हो । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी एक भएसँगै यी दुई बैंकका सहायक कम्पनीको रूपमा रहेका यी कम्पनीहरू समेत एक हुन लागेका हुन् । सिभिल क्यापिटल लिमिटेडको १०० कित्ता शेयर बराबर हिमालयन क्यापिटलको ३१ कित्ता शेयर आदानप्रदान गर्ने गरी यी दुई कम्पनी एक हुन लागेका हुन् । विशेष साधारण सभामार्फत शेयर आदानप्रदान अनुपातलाई समेत अन्तिम स्वीकृति दिइनेछ । प्राप्ति प्रक्रिया सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी कम्पनीको सञ्चालक समितिलाई दिने निर्णय पनि दुवै कम्पनीले सभामार्फत गर्नेछन् ।  सिभिल क्यापिटललाई प्राप्ति गरेपश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्तावसमेत हिमालयन क्यापिटल लिमिटेडको सभामा पारित गरिने बताइएको छ ।