सामसङको मुनाफा ३ वर्ष यताकै उच्च

कात्तिक ११, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाको विद्युतीय सामग्री निर्माता कम्पनी सामसङ इलेक्ट्रोनिक्सको मुनाफा बढेर ३ वर्ष यताकै उच्च स्तरमा उक्लिएको छ । जुलाई–सेप्टेम्बर त्रैमासमा कम्पनीले सञ्चालन मुनाफा १५८ खर्ब वन (१३ अर्ब ५० करोड डलर) मा पुगेको सामसङले एक नियामक फाइलिङमा भनेको छ ।गत वर्षको सोही अवधिको तुलनामा यो २८ प्रतिशत बढी हो । यो तीन वर्षयताकै उच्च भएको बताइएको छ । महामारीका कारण विश्वको आपूर्ति शृङ्खलामा चुनौती उत्पन्न भएको भएपनि कम्पनीको मुनाफा भने बढेको छ । समीक्षा अवधिमा कम्पनीको विक्री पनि १० प्रतिशतले बढेर ७४० खर्ब वनमा पुगेको छ । चिप एकाईको सुदृढ प्रदर्शनका कारण कम्पनीको  विक्री र मुनाफा तेस्रो त्रैमासमा बढेको हो । चिप बजारमा अनुकुल अवस्थाको निरन्तरताले विक्री उच्च रहेको एक विज्ञप्तिमा कम्पनीले भनेको छ ।  यो खबर सार्वजनिक भएसँगै कम्पनीको शेयर मूल्य बढेको थियो । कोरियाकै अर्कै ठूलो  विद्युतीय सामग्री निर्माता कम्पनी एलजीको भने समीक्षा अवधिमा सञ्चालन मुनाफा ४९ दशमलव ६ प्रतिशतले घटेर५ खर्ब ४० अर्ब वनमा आएको थियो । एजेन्सी