असोज २४, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आगामी एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युतबाट चलाउने गरेर संरचना निर्माण गर्न आह्वान गरेकी छन् ।
ललितपुरको महालक्ष्मी उद्योग वाणिज्य संघले विजयादशमी, दीपावली, नेपाल संवत् ११४२ तथा छठपर्वका उपलक्ष्यमा आइतवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भनिन्, “एक वर्षभित्र एलपी ग्यास नै नराख्ने गरेर संरचना बनाऔँ, विद्युतीय चुल्हो प्रयोग गरौं।”
लोडसेडिङका समयमा सबैभन्दा कम विद्युत् खपत गर्ने संरचना निर्माण गरिएको उल्लेख गर्दै मन्त्री भुसालले बत्तीमात्र बाल्नका लागि बनाइएका संरचनामा सबैखाले उपकरण विद्युतबाट चलाउन नसक्ने अवस्था पनि हुन सक्ने भएकाले अब विद्युतको चुल्हो बाल्ने गरी संरचना निर्माण गर्दै जान आवश्यक रहेको बताइन् । उनले अब आफ्नै देशको जलविद्युतको अधिकतम प्रयोग गर्न सकिने पनि बताइन् ।
उनले सामाजिक एवं आर्थिक रुपान्तरणको आधार भनेको ऊर्जा, सडक र खानेपानीको उपलब्धताबाट हुने बताउँदै सबै खाले ऊर्जाका स्रोतलाई विस्थापित गरेर जलविद्युतको प्रयोगतर्फ अगाडि बढ्नुपर्ने समय आएको उल्लेख गरिन् ।
मन्त्री भुसालले आगामी दिनमा यातायात र उद्योगीले मागेजति विद्युत् उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गर्दै सबै ठाउँमा ऊर्जाका रूपमा जलविद्युतको प्रयोग गर्न आग्रह गरिन् ।
स्वदेशी विद्युत् खपतलाई बढवा दिने उद्देश्यले आफूले मन्त्रालय सम्हालेपछि महसुल दरमा कमी गरेको उनको भनाइ छ । उनले खास गरेर घरायसी प्रयोजनमा त्यस्तो निर्णय भएको भन्दै अब एलपी ग्यासभन्दा विद्युतीय चुल्हो सस्तो हुने पनि बताइन् ।
मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका नेपाली जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने निर्णय गरेको जानकारी दिंदै आफ्नो निर्णयले ग्रामीण जनताका लागि महत्वपूर्ण योगदान पुग्ने बताइन् । रासस