काठमाडौं । नेशनल स्टक एक्सचेन्जले केही समयका लागि अदानी समूहका तीन कम्पनीलाई वाचलिस्टमा राखेपछि अमेरिकी शेयर बजारमा पनि अदानीलाई झट्का लागेको छ । अमेरिकाको एसएन्डपी दाउ जोन्स इन्डिसिजले फेब्रुअरी ७ देखि अदानी इन्टरप्राइजेजलाई डाउ सस्टेनेबिलिटी इन्डेक्सबाट बाहिर गर्ने निर्णय गरेको हो ।
दशकौंदेखि शेयरमा चलखेल र खातामा धोकाधडीको आरोपतर्फ औंल्याउँदै अदानी इन्टरप्राइजेजलाई डाउ जोन्स सस्टेनेबिलिटी इन्डेक्सबाट हटाउन लागिएको एसएन्डपी दाउ जोन्स इन्डिसिजले एक विज्ञप्तिमा भनेको छ । सञ्चार माध्यम र शेयरधनीहरूको विश्लेषणपछि यो निर्णय गरिएको बताइएको छ ।
न्यूयोर्कस्थित शर्ट सेलर कम्पनी हिन्डेनबर्ग रिसर्चले जनवरी २४ मा अदानी ग्रुपबारे सनसनीपूर्ण खुलासा गरेयता समूहका सूचीकृत कम्पनीहरूको शेयर ओरालो लागिरहेको छ । यस क्रममा कम्पनीका शेयरधनीहरू त कंगाल भएका छन् । अदानीले भने दिनहुँ अर्बौं डलर बराबरको नेटवर्थ गुमाइरहेका छन् । समूहले २ खर्ब रुपयाको एफपीओ नै रद्द गर्नु पर्यो ।
अन्तरराष्ट्रिय सूचकांकहरूले अदानीको शेयरको सदस्यताको पुनः मूल्याङ्कन गरिरहँदा नेसनल स्टक एक्सचेन्जले यसबारे पहल नगरेको भन्दै प्रश्न तेर्सिन थालेका छन् । एनएसईले अदानी इन्टरप्राइजेज, अदानी पोर्ट्स र अम्बुजा सिमेन्टको शेयरलाई निगरानीको सूचिमा राखेको थियो । विश्वका सबैभन्दा दिगो कम्पनीहरूलाई डाउ जोन्स सस्टेनेबिलिटी वर्ल्ड इन्डेक्समा राखिन्छ ।
लगानीकर्तालाई मार्गदर्शन गर्ने उद्देश्यले सन् २०१२ मा यो सूचकांक शुरु गरिएको थियो । यसको शुरुआत एसएन्डपी ग्लोबल, शिकागो मर्केन्टाइल एक्सचेन्ज ग्रुप र न्यूज कर्पोरेशनले संयुक्त रूपमा गरेका हुन् ।
अदानी ग्रुपका मेगा प्रोजेक्टमा प्रश्न
हिन्दुस्तान टाइम्सका अनुसार अदानीका कम्पनीहरूले चलाइरहेका तीन ओटा अर्बौं डलरका परियोजनाको भविष्यमाथि प्रश्न उठ्न सक्ने छ । मुम्बईको सुकुम्बासी बस्ती धारावीको पुनःविकास परियोजना, नवी मुम्बई इन्टरनेशनल एयरपोर्ट र नवी मुम्बई बिजुली वितरण परियोजना संकटमा पर्ने देखिन्छ । यी तीन ओटै परियोजनामा अदानीको कम्पनीले हात हालेका छन् ।
हिन्डेनबर्गको रिपोर्ट सार्वजनिक भएयता अदानी ग्रुपको बजार पूँजीकरण १०८ खर्ब गुमिसकेको छ । ब्लुम्बर्गको विश्वका धनीहरूको सूचीबाट पनि अदानी २१ औं स्थानमा झरेका छन् । आज पनि अदानीले १० अर्ब ७० करोड डलर गुमाएका छन् । जनवरी २३ मा बजार बन्द हुँदा १ खर्ब २० अर्ब डलर रहेको अदानीको नेटवर्थ आज ६१ अर्ब ३० करोड डलरमा झरेको छ । गएको ६ दिनको कारोबारमा एनएसईमा अदानी इन्टरप्राइजेजको शेयर ५५ प्रतिशतले घटेको छ । अन्य केही कम्पनीको शेयरको मूल्य ६० प्रतिशतभन्दा धेरैले घटेको छ ।