क्रस होल्डिङ भएका लघुवित्तलाई मर्जरको कार्ययोजना पेश गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले दोहोरो लगानी (cross holding) भएका लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरको लागि कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै दोहोरो लगानी (cross holding) भएका लघुवित्त वित्तीय संस्थाहरुलाई २०७९ असार मसान्तसम्ममा एक आपसमा गाभ्न/गाभिन वा प्राप्तिमा जानको लागि कार्ययोजना पेश गर्न निर्देशन दिएको हो ।राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ' इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गको एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेका संस्थाहरु वीच एक आपसमा र/वा इजाजतपत्र प्राप्त एक भन्दा बढी “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत भन्दा वढी शेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न/गाभिन वा प्राप्तिमा जान २०७९ असार मसान्त भित्र यस बैंक समक्ष कार्ययोजना पेश गर्नु पर्नेछ ।'नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ७८/७९ मौद्रिक नीति सार्वजनिक गर्दै वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी (cross holding) भएका लघुवित्त वित्तीय संस्थाहरु २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनु पर्ने व्यवस्था गरिने उल्लेख गरेको थियो । सोहिको कार्यन्वयनको लागि राष्ट्र बैंकले आज सर्कुलर जारि गरेको हो । मौद्रिक नीतिमा राष्ट्र बैंकले 'थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाबीच समेत एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत भएमा खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा कार्य गर्न सक्ने व्यवस्था गरिनेछ ।' भन्ने पनि उल्लेख गरेको थियो ।