कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिन आवश्यक : चेम्बर अध्यक्ष मल्ल

पुस १९, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आइतवार गोरखा चेम्बर अफ कमर्स गोरखाद्वारा आयोजना गरिएको कृषि तथा  व्यापार प्रवर्द्धन मेला - २०७८ को उद्घाटन गरेका छन् । पुस १८ देखि २७ गतेसम्म आयोजना हुने उक्त मेलाको उद्घाटन गर्दै अध्यक्ष मल्लले मुलुकको ६६ प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेको र कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३० प्रतिशतभन्दा वढि योगदान रहेकाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिइनु पर्ने बताए । उनले कृषिमा परम्परागत पद्दतिले उत्पादकत्व नबढ्ने भएकाले व्यावसायिक कृषिको प्रवर्द्धन हुनु आवश्यक रहेको भन्दै यसलाई निजी क्षेत्रले उद्योगको रुपमा अघि वढाउनु पर्ने समय आइसकेको बताए । उनले गोरखा नामनै विश्व प्रसिद्ध व्राण्ड भएकोले अर्गानिक वस्तुहरुको उत्पादनमा प्राथमिकता दिइ कृषि पर्यटनलाई प्रवर्द्धन गर्न आग्रह गरे । उनले गोरखा जिल्ला प्राकृतिक विविधतायुक्त जिल्ला भएकोले जडीबुटी खेतीको पनि प्रशस्त संभावना रहेको बताए ।  गोरखा चेम्बरले व्यावसायीक कृषिकोप्रवर्द्धन को लागि आयोजना गरेको मेलाको सफलताको कामना गर्दै अन्य जिल्ला चेम्बरहरुले पनि गोरखा चेम्वरको प्रयासलाई अनुशरण गर्न आग्रह गरे ।  अध्यक्ष मल्लले अहिले बजारमा मौद्रिक तरलताको अभावले व्यावसायीहरुलाई कठिनाइ भइरहेको छ  भन्दै यही समयमा बैंकले वेसरेटमा लिने सेवा शुल्कको दर पनि वृद्धि गरेकोले व्यवसायीहरुलाई झनै मर्का पर्न गएकाले यसतर्फ सरकारलाई ठोस कदमचाल्न आग्रह गरे । उक्त अवसरमा गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष तथा कार्यक्रमका सभापति भाईचन्द्र श्रेष्ठले गोरखा जिल्ला कृषि उत्पादनको लागि संभाब्य क्षेत्र भएको बताउँदै स्थानीय कृषि उत्पादनको बजारीकरण हुन सकेमा व्यावसायिक उत्पादनको लागि स्थानीय किसान आकृष्ट हुने भएकोले मेला आयोजना गरिएको बताए ।