आगलागीपछि फेरिँदै दोभान बजारको मुहार

ताप्लेजुङको सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो दोभान बजारको मुहार बिस्तारै फेरिँदै गएको छ । तीन महिनाअघि आगलागीले ध्वस्त बनेको संरचनाहरुको पुनर्निर्माण हुन थालेसँगै दोभान बजारको मुहार फेरिँदै गएको हो ।      जिल्लाको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा पर्ने दोभान बजार पुरानो व्यापारिक केन्द्र र ऐतिहासिक स्थल पनि हो । तमोर नदी, मेवा र मैवा खोलाको सङ्गमस्थल नदी तथा खोला किनारमा रहेको दोभान बजारमा गत फागुन १९ गते बिहान भीषण आगलागी भएको थियो । कुल ५० घर पूर्णरूपमा ध्वस्त भएका र ६३ परिवार विस्थापित हुनेगरी भएको आगलागीले खण्डहर बनेको दोभान बजारमा नयाँ संरचना बन्न थालेपछि बजारको स्वरूप अर्थात मुहार फेरिँदै गएको छ ।       हालसम्ममा डेढ दर्जनभन्दा बढी घर संरचनाहरु निर्माणको अन्तिम चरणमा पुगेका छन् भने धमाधम निर्माणको क्रम चलिरहेको छ । आठराई त्रिवेणी, मैवाखोला, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकासहित तमोरपारिका चारवटा स्थानीय तहको मुख्य व्यापारिक केन्द्र भएकाले दोभान बजार पुनर्निर्माणमा तीव्रता दिइएको बताइएको छ ।     साविकका २० भन्दाबढी गाविस समेटिएका हालको चारवटा स्थानीय तहका बासिन्दाको बजार अर्थात व्यापारिक केन्द्र भएका कारण पुनर्निर्माण चाँडो भएको मेरिङ्देन गाउँ कार्यपालिका सदस्य एवं प्रवक्ता सूर्यमान बराइली बताउनुहुन्छ । बराइलीका अनुसार चारवटै गाउँपालिकाका स्थानीय उपभोक्ताको सबै उपभोगका सामान खरिद बिक्री गर्ने केन्द्र दोभान बजार नै हो ।

सम्बन्धित सामग्री

आगलागीमा परेको दोभान बजारको मुहार फेरिँदै

फुङ्लिङ, १३ असोज । ताप्लेजुङको सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो दोभान बजारको मुहार बिस्तारै फेरिँदै गएको छ । सात महिनाअघि आगलागीले ध्वस्त बनेको संरचनाको पुनःनिर्माण हुन थालेसँगै दोभान बजारको मुहार फेरिँदै गएको हो । जिल्लाको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा पर्ने दोभान बजार पुरानो व्यापारिक केन्द्र र एक ऐतिहासिक स्थल पनि हो । तमोर नदी, मेवा र मैवा […]