गाईपालन र छुर्पी उद्योगबाट मासिक डेढ लाख आम्दानी

भदौ २९, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ मारेकका कमल अधिकारीले १५ लाख रुपैयाँको लागतमा गाउँमै गाईपालनसँगै छुर्पी उद्योग व्यावसायबाट राम्रो आम्दानी गरिरहेका छन् । शुरुमा केही गाईबाट व्यवसाय शुरु गरेका अधिकारीले नमूना गाईफार्म दर्ता गरेर डेरी उद्योग नै सञ्चालन गरिरहेका छन् ।  विसं २०७४ देखि नै डेरी उद्योग व्यवसाय सञ्चालन गरेका अधिकारीले शुरुमा आफ्नै फर्ममा उत्पादित ६० लिटर दूधबाट व्यवसाय शुरु गरेका थिए । करीब डेढ वर्ष आफ्नै फर्ममा उत्पादित दूधबाट मात्रै उद्योग सञ्चालन गरेका अधिकारीले अहिले आफ्नो गोठ र गाउँका कृषकको गरी दैनिक एक हजार २०० लिटर दूध प्रशोधन गर्ने गरेको बताए ।  उत्पादित छुर्पीलाई बजारको कुनै समस्या छैन । यहाँ उत्पादन भएको छुर्पी, घ्यू धनकुटा लगायत पूर्वी तराईका जिल्ला सहित भारत, कोरिया, अमेरिका लयातका मुलुकमा निर्यात हुने गरेको छ । छुर्पी खरीदका लागि व्यापारीहरू उद्योगसम्मै आउने गरेका छन् । उद्योगबाटै छुर्पी प्रतिकिलो ८०० रुपैयाँ र घ्यू प्रतिकिलो ५०० रुपैयाँमा विक्री हुने गरेको छ । ४ वर्षदेखि व्यवसाय सञ्चालन गरिरहेका अधिकारी गाउँमै मनग्य आम्दानी गर्न सफल भएका छन् । गाईपालन र डेरी उद्योगमा मासिक १५ लाख दूध अन्य किसानको खरीद गर्ने बताउने अधिकारीले मासिक ३ लाख आम्दानी गरेको भएपनि खर्च कटाएर मासिक एक लाख ५० हजार रुपैयाँसम्म बचत गर्ने गरेको बताए ।  हुन त युरोपका बजारमा छुर्पीको माग बढेपछि पूर्वी नेपालको पहाडी जिल्लामा दुग्ध प्रशोधन उद्योग खुल्ने क्रम निकै बढेको छ। तरपनि अधिकारीले गाईको दूधबाट बनाइने छुर्पीको माग धान्न नसकेको बताउँछन् । अधिकारीले आफ्नो उद्योगमा दूधका अन्य परिकार समेत बनाइरहेका छन् । यसरी भयो उद्योग स्थापना गाउँका किसानले उत्पादन गरेको दूध विक्री नभएपछि गाउँलेको समेत दूध खरीद गरेर छुर्पी उद्योग सञ्चालन गरेको अधिकारीले बताउँछन् । शुरुमा सुनसरीको एक सहकारीले गाउँमा आएर किसानहरुसँग वार्षिक कति दूध विक्री गर्ने भनेर सम्झौता गरेको र पछि दूध धेरै भएको सो सहकारीले नलिएपछि आफैं उद्योग स्थापना गरेको अधिकारीले बताए । उद्योग स्थापनाका शुरुका दिनमा काम नजानेर धेरै सामान खेर गएको अधिकारीको भनाइ छ ।  डेढ वर्षसम्म आफूलाई दुग्ध परिकार बनाउन सिक्नै लागेको अब केही जान्दछु भनेर अन्य किसानको दूध संकलन गर्न थालेको अधिकारीले बताए । उनले छुर्पी उद्योगसँगै आफ्नै गाई फर्ममा देनिक १७० लिटर दूध उत्पादन गर्दै आएका छन् ।   किसानलाई सहज गाउँमै छुर्पी उद्योग स्थापनासँगै महालक्ष्मी १ का किसानले उत्पादन गरेको दूधले बजार पाउन निकै सहज भएको छ । दुग्ध विकास संस्थान र कामधेनु सहकारी सुनसरीले आफूलाई आवश्यक पर्दा मात्रै दूध लाने गरेको बताउने किसानहरु गाउँमै स्थापना भएको उद्योगले दूध खरीद गर्न थालेपछि खुशी भएका छन् । उद्योगले दूध खरीद गर्न थालेपछि आम्दानीको मुख्य स्रोतको रुपमा पशुपालन रोज्न शुरु गरेका छन् ।  यहाँका किसानले दैनिक कम्तिमा १५ लिटर दूध उत्पादन गर्न थालेका छन् । भनेको बेला विक्री नभएको दूध सहज रुपमा विक्री हुन थालेपछि किसानलाई राहत मिलेको स्थानीय राजेन्द्र थापाले जानकारी दिए । उद्योगले गाईको दूध प्रतिलिटर ३५ र भैँसीको ४५ रुपैयाँमा खरीद गरिरहेको छ । गाउँमै छुर्पी उद्योग सञ्चालनमा आएपछि दूधको खपत पनि बढेको किसानको भनाइ छ ।