दाङ औद्योगिक महोत्सवको तयारी अन्तिम चरणमा

फागुन २५, दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा शुरु हुन लागेको ‘दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८’ को तयारी अन्तिम चरणमा पुगेको छ ।  विभिन्न उपसमितिहरु गठन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुर्‍याएको आयोजक संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघले बताएको छ । ‘उद्योग व्यापार कृषि एवम् पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ मुल नाराका साथ यही फागुन २६ गतेदेखि शुरु हुन लागेको महोत्सवमा भौतिक निर्माण, प्रचारप्रसार, आमन्त्रण, विभिन्न पक्षहरुसँग छलफललगायत तयारी अन्तिम चरणमा पुगेको महोत्सव मुल आयोजक समितिका संयोजक एवम् संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताए ।  ‘महोत्सवको तयारी करीब अन्तिम चरणमै पुगेको छ’, उनले भने, ‘विभिन्न उपसमितिहरुले आफ्नो काम तदारुक्ताका साथ गरिरहेका छन् ।’ घोराही उपमहानगरपालीका वडा नं. १४ झिगौंरामा आयोजना गरिने महोत्सवमा औद्योगिक तथा व्यापारीक वस्तुहरुको प्रदर्शनी एवम् विक्री, हस्तकला, कृषि, जडिबुटी तथा पर्यटन सूचना एवम् सूचना प्रविधिको प्रदर्शनी गरिने छ ।  महोत्सवमा लुम्बिनी प्रदेश १२ ओटै जिल्लाबाट विभिन्न व्यापारिक स्टलहरु रहने र करीब ५ लाख दर्शकहरुले अवलोकन गर्ने र २० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ ।