काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक पत्रकार समाज नेपाल (सेजन)ले बुधवार आयोजना गरेको पोष्ट बजेट छलफलमा सांसदहरुलाई दिने भनिएको ५/५ करोड रुपैयाँ पनि पूँजीगत खर्च नै भएको जिकिर गरेका छन् ।
‘सांसदहरुले उक्त रकम आफूखुशी खर्च गर्न पाउँदैनन’ उनले भने, ’सांसदहरुलाई दिने भनिएको रकम कोष नभएर संसदीय क्षेत्र विकास कार्यक्रम हो । त्यसैले यस कार्यक्रममा सांसदहरूको भूमिका सिफारिस मात्र गर्ने हो । बाँकी काम सम्बन्धित मन्त्रालयको ठेक्का प्रक्रियाबाट हुन्छ ।’ सांसदहरूबाट सिफारिस नै आउन नहुने भन्ने कुरामा भने आफू सहमत नरहेको उनले बताए ।
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्री सधैं ट्रयापमा पर्ने गरेको बताए । ‘सांसदहरुलाई अहिले ५ करोड रुपैयाँ दिन सक्दैनौं भन्न सकिन्थ्यो । तर अर्थमन्त्रीहरू सधैं पोलिसी ट्रयापमा पर्ने गरेका छन्’, उनले भने ।
अहिले नेपाल आन्तरिक ऋण को ट्रयापमा परेकाले यसलाई कम गर्दै लग्नु पर्ने पनि खतिवडाले बताए ।