चितवन । ओसी ग्रुप सफ्टवेयर प्रालिले ‘मेरो डिस्काउन्टस्’ एप्स सञ्चालनमा ल्याएको छ । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले बिहीवार एप्सको शुभारम्भ गरे । यस्ता एप्सले सेवाग्राही र व्यवसायीबीचको दुरी कम गर्ने र सम्बन्ध बनाउन मदत पुग्ने अध्यक्ष चुकेले बताए । सूचना र प्रविधिको युगमा पर्यटन क्षेत्रमा पनि यसले ५० प्रतिशतसम्म व्यवसाय प्रवद्र्धन गर्न सहयोग पुगेको उनको भनाइ थियो । ‘अहिले जति पनि बुकिङ छन् ५० प्रतिशतसम्म अनलाइनबाट भएको पाएका छौं,’ उनले भने, ‘यसले सेवाग्राहीको समयको बचत र सेवा छनोट गर्न सहयोग पुग्छ भने व्यवसायको प्रवद्र्धन र लागत खर्च कम हुन्छ ।’
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उत्पादित वस्तुको बजारीकरण र मुल्यमा एकरूपता ल्याउन एप्सले सहयोग पुर्याउने बताए । डिजिटल मार्केटिङले वस्तुको उचित मूल्य निर्धारणमा सहयोग पुग्ने अपेक्षा संघले गरेको छ । त्यस्तै सेवाग्राहीलाई घरसम्म सेवा पुर्याउन पनि सजिलो हुने संघका पदाधिकारीहरू बताउँछन् । एप्सले स्थानीय उत्पादनलाई अन्तरराष्ट्रिय बजारसम्म पुर्याउन डिजिटल बजारको मुख्य भूमिका हुने उनको भनाइ थियो ।
मानिसको दैनिक जीवनमा नभई नहुने सम्पूर्ण आवश्यकताहरू पूरा गर्ने उद्देश्यले एप्स सञ्चालनमा ल्याइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रदीप चौधरीले बताए । चौधरीले यो एप्सले नेपाली उपभोक्तालाई मात्र नभएर विदेशमा रहेका नेपाली तथा पर्यटकहरूलाई पनि फाइदा पुर्याउने बताए ।
विश्व बजारमा रहेका प्रख्यात अनलाइन मञ्चहरूको विशेष सुविधाहरू मेरो डिस्काउन्टस् एप्समा संलग्न गरी तयार पारिएको चौधरीको भनाइ छ । ‘हामीले सजिलो र सहज रूपमा हाम्रो ग्राहकहरूले खरीद गरिने प्रत्येक सेवा तथा सुविधाहरूमा विशेष छूट दिने लक्ष्य राखेर एप्स सञ्चालन गरेका छौं’ चौधरीले भने । यस एप्सबाट व्यवसायीहरूलाई उच्च ब्राण्डको स्पष्ट मञ्च प्रदान गरी व्यापार प्रवद्र्धन गर्ने चौधरीको भनाइ थियो ।
कम्पनीकी जनसम्पर्क अधिकृत अञ्जना मल्लले एप्सको मद्दतबाट ग्राहकलाई सेवा सुविधा लिन सजिलो हुने बताइन् । एप्सको मद्दतले व्यवसायीको विक्री वितरण बढाउन र नयाँ व्यवसायीलाई थप प्रोत्साहन गरी अगाडि बढ्न सहयोग पुग्ने मल्लको भनाइ थियो ।