भदौ ९, काठमाडौं । बुधवार नेप्से परिसूचक १ दशमलव ५५ प्रतिशत घटेर बन्द भएको छ ।
मंगलवार १ दशमलव ७६ प्रतिशत घटेर ३ हजार १२४ दशमलव ८७ विन्दुमा बन्द भएको बजार बुधवार पनि ४८ दशमलव ४२ अंक घटेर ३ हजार ७६ दशमलव ४४ विन्दुमा झरेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६७ प्रतिशत अर्थात् ९ दशमलव ६७ अंक घटेर ५६७ दशमलव ९९ विन्दुमा झरेको छ ।
मंगलवार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि सार्वजनिक गरेको एकीकृत निर्देशनमा मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा एक वर्ष भित्र रू. १२ करोडमा झार्न भनेसँगै बुधवार पनि बजार प्रभावित बनेको हो ।
राष्ट्र बैंकले भदौ ८ गते सार्वजनिक गरेको मौद्रिक नीतिले गरेको रू. १२ करोड सम्मको मार्जिन कर्जाको सीमा परिमार्जन हुने विश्वास लगानीकर्ताहरुले गरेका थिए । नेपाल सरकार अर्थमन्त्रालयमार्फत लगानीकर्ता संघका पदाधिकारीहरुले मार्जिन कर्जा रकमको सीमाको विषय परिमार्जन गर्नुपर्ने माग गरेका थिए ।
मार्जिन कर्जा रकमको सीमाले बजार प्रभावित हुने देखिएमा उक्त व्यवस्था परिमार्जन गर्न सुझाव दिन प्रतिक्रिया अर्थमन्त्रालयबाट पनि प्राप्त गरेका लगानीकर्ताहरु सो व्यवस्था परिमार्जन नभएपछि निराश बनेको बताएका छन् ।
बुधवार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । मंगलवार रू. १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार बराबरको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर कारोबार भएकोमा बुधवार रू. १२ अर्ब ९ करोड २१ लाख ३ हजार बराबरको १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर कारोबार भएको हो ।
यस दिन अरुण काबेली पावरको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । कम्पनीको रू. ४८ करोड ७१ लाख ५ हजार बराबरको शेयर कारोबार भएको हो ।
सर्वाधिक रकमको कारोबार भएको यस कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू. ११ दशमलव ४० ले बढेर अन्तिम मूल्य रू. ७८८ दशमलव ९० पुगेको छ । प्रतिकित्ता रू. ७७७ मा खुला भएको अरुण काबेली पावरको शेयरमूल्य यो दिन न्यूनतम रू. ७४५ देखि अधिकतम रू. ८२१ सम्म पुगेको थियो ।
बुधवार कारोबारमा आएका सबै समूहगत परिसूचकहरु घटेका छन् । यस दिन जीवन विकास लघुवित्त र आईसीएफसी फाइनान्सको शेयरमूल्य उच्च दरमा बढेको छ । जीवन विकास लघुवित्तको १० प्रतिशत र आईसीएफसी फाइनान्सको ९ दशमलव ९९ प्रतिशत मूल्य वृद्धि भएको हो ।
यस दिन खानीखोला हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ९ दशमलव ९८ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३९ दशमलव ६० ले घटेर अन्तिम मूल्य रू. ३५७ दशमलव ३० कायम भएको हो ।