काठमाडौं। नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (ईसीएफ)मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले ५ करोड २८ लाख अमेरिकी डलर (६ अर्ब ९० करोड रुपैयाँ) ऋण निकासा दिने भएको छ । मुद्रा कोषले सोमवार जारी गरेको विज्ञप्तिअनुसार कार्यकारी समिति बैठकले ईसीएफअन्तर्गतको ऋण निकासा दिने निर्णय गरेको हो ।
मुद्रा कोषको टोलीले गत फेब्रुअरी १५ देखि २८ तारिखसम्ममा नेपाल आएर ईसीएफअन्तर्गतका कार्यक्रमको कार्यप्रगति समीक्षा गरेको थियो । पहिलो र दोस्रो चरणको समीक्षापछि नेपाललाई थप ऋण निकासा गर्न लागिएको कोषले बताएको छ ।
विदेशी मुद्राको सञ्चिति घट्दै गएर भुक्तानी सन्तुलन बिग्रिएपछि नेपालले आईएमएफमार्फत ईसीएफ ऋण सहायता लिने प्रक्रिया थालेको थियो ।
गतवर्ष अर्थात् सन् २०२२ जनवरी १२ तारिखमा कोषको कार्यकारी समितिले नेपाललाई स्पेसल ड्रइङ राइट (एसडीआर)को रूपमा ३८ करोड ४८ लाख अमेरिकी डलर बराबर ईसीएफ उपलब्ध गराउने निर्णय गरेको थियो । सहुलियतपूर्ण ऋणको कोटामा नेपालले १८० प्रतिशतसम्म ऋण लिएको छ ।
त्यस्तो सहुलियतपूर्ण ऋणमध्ये अमेरिकी डलर ११ करोड बराबर आईएमएफले गतवर्ष जनवरीमै निकासा दिएको थियो । हाल निकासा दिन लागिएको ५ करोड २८ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण पनि त्यही सम्झौताअन्तर्गतको अर्को किस्ता हो ।
नेपालले बजेट फाइनान्सिङको रूपमा प्रयोग गर्न पाउनेगरी ३८ महीनाको वित्तीय सहायता प्याकेजको रूपमा कोषले यस्तो सहुलियतपूर्ण ऋण सुविधा नेपाललाई दिएको हो । नेपालले यसअघि सन् २०२० मे महीनामा कोषमार्फत र्यापिड क्रेडिट फेसिलिटी (आरसीएफ)को रूपमा २१ करोड ४० लाख अमेरिकी डलर बराबर ऋण लिइसकेको छ ।