मध्य भोटेकोशी जलविद्युत् कम्पनीले स्थानीयका लागि मंगलवारदेखि आईपीओ विक्री गर्ने

साउन ४, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले मंगलवारदेखि आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दाको लागि आईपीओ विक्री पुन : खुला गर्ने भएको छ।  गत वैशाख १४ गते विक्री बन्द गरिएकोमा मंगलवारदेखि पुन : विक्री खुल्ला गरिएको कम्पनीले बताएको छ । कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। सोहीअनुसार पहिलो चरणमा कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको कुल ६० लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो। निष्कासन गरिने कुल कित्तामध्ये ३० प्रतिशत अर्थात् १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं १ र ५, बाह्रबिसे नगरपालिका वडा नं ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ। बाँकी ७० प्रतिशत अर्थात् ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुले आवेदन दिन पाउनेछन्।  आईपीओ साउन १७ गतेसम्म र ढिलोमा साउन ३२ गतेसम्म विक्री हुने छ । कम्पनीको आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन पाइनेछ । आईपीओ  विक्रीका लागि सिन्धुपाल्चोक जिल्लामा ३६ ओटा र काठमाडौं जिल्लामा  सात ओटा संकलन केन्द्र तोकिएको छ। उक्त स्थानहरुबाट दरखास्त फारम प्राप्त गर्न र दरखास्तसाथ रकम बुझाउन सकिने छ। बाँकी ९० लाख कित्ता भने कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ। निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । यो कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। मध्य भोटेकोशी जलविद्युत् कम्पनीले १०२ मेगावाट क्षमताको आयोजना बनाइरहेको छ। चिलिमे हाइड्रोपावरको शेयर संरचना सबभन्दा धेरै अर्थात् ३८ प्रतिशत तथा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत शेयर संरचना उक्त कम्पनीमा रहेको छ।