सन् २०१९ मा आफ्नो एक जना ग्राहकबाट औसतमा दुई सय ६९ रुपियाँ आम्दानी गरेको एनसेलको त्यस्तो आम्दानी सन् २०२० मा प्रतिग्राहक दुई सय १४ रुपियाँमा सीमित भयो ।
सोही वर्ष कुल आम्दानीको २२ प्रतिशत डेटा बिक्रीबाट प्राप्त गरेकोमा कम्पनीको यो हिस्सा बढेर सन् २०२० मा २४ प्रतिशत पुग्यो । पछिल्लो वर्ष एनसेलको आम्दानी १२ अर्ब रुपियाँभन्दा बढीले घटेको छ । आम्दानी ४१ अर्ब ९२ करोड रुपियाँमा झरेको छ । जबकी सन् २०१९ मा कम्पनीले ५४ अर्ब १६ करोड रुपियाँ आम्दानी गरेको थियो ।
एनसेलको खुद नाफामा त झन् भारी गिरावट नै देखिन्छ । एनसेलको मुख्य लगानीकर्ताले एजियटाले सार्वजनिक गरेको पछिल्लो वित्तीय प्रतिवेदनअनुसार सन् २०२० मा खुद नाफा केवल तीन अर्ब रुपियाँ हाराहारी मात्र छ । सन् २०१९ मा एनसेलले १४ अर्ब रुपियाँ नजिक खुद मुनाफा आर्जन गरेको प्रतिवेदनमा देखिन्छ ।