बीमा दाबी भुक्तानी सम्बद्ध कानूनी व्यवस्था : सत्य लुकाए दाबी भुक्तानी दिन कम्पनी बाध्य हुँदैन

बीमामा जोखिम शब्दले निकै महत्त्व राख्छ । जोखिम अर्थात् मानव जीवनमा दैनिक अनिश्चित घटना घट्ने गर्छ । यस्ता अनिश्चित घटनामा हुनसक्ने जोखिम जस्तै दुर्घटना, आगलागी, दैविक प्रकोप, चोरी, दंगा आदि धेरै कुरा हुन सक्छ । यी जोखिमका घटनाले आर्थिक हानिनोक्सानी हुनसक्छ । यस्ता घटना मानव जीवनमा कहिले घट्छ, कसरी घट्छ यसबाट के कति क्षति हुन्छ भन्ने निश्चित हुँदैन ।  अनिश्चित घटनाबाट आर्थिक एवं भौतिक, मानवीय सम्भावित हुन सक्ने क्षति वा हानिनोक्सानीलाई नै बीमाक्षेत्रमा जोखिम भन्ने गरिन्छ । यी जोखिम अर्थात् अनिश्चित घटनाबाट हुने आर्थिक क्षतिको राहत दिनका लागि बीमाको उत्पत्ति भएको मानिन्छ । बीमामा बीमा कम्पनीलाई सानो निश्चित रकमको बीमा शुल्क अर्थात् प्रिमियम तिरेबापत अनिश्चित ठूलो आर्थिक क्षतिको विरूद्ध सुरक्षा प्रदान गर्छ । बीमा एक प्रकार करार भएको हुँदा यहाँ एक पक्ष बीमा कम्पनी (बीमक)ले बीमितसँग बीमा शुल्क लिएबापत आर्थिक वा भौतिक क्षतिको दाबी भुक्तानी दिने प्रतिज्ञा गरेको हन्छ ।  नेपालको सन्दर्भमा विभिन्न बीमा कम्पनीहरूले व्यावसायिक कारोबार गर्दै आएका छन् । यसरी कारोबार गर्न विगतमा बीमा समिति हाल नेपाल बीमा प्राधिकरणबाट इजाजत लिएका छन् । यसरी इजाजत लिनेमा जीवन बीमा, निर्जीवन तथा पुनर्बीमा व्यवसाय रहेका छन् । कुनै पनि नयाँ व्यवसायीले चाहेमा पनि बीमा प्राधिकरणको पूर्वस्वीकृत लिई कम्पनी स्थापना गर्न सक्छ । पूर्व स्वीकृत लिई दर्ता भएका बीमा कम्पनीले पनि व्यवसाय सञ्चालन गर्न बीमा प्राधिकरणमा इजाजत लिनुपर्ने कानूनी व्यवस्था छ ।  नेपालमा कुन बीमा व्यवसाय गर्न सकिन्छ भन्ने सम्बन्धमा बीमा ऐन २०७९, को दफा ६१ (१)ले जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा गरी तीन प्रकारका रहेका छन् । बीमा गर्नेको संख्या दैनिक बढेसँगै बीमा दाबी भुक्तानीसम्बन्धी विवाद पनि बढेको छ । बीमा विवादमा बीमा करारमा उल्लिखित शर्तले ठूलो भूमिका खेल्छ । बीमक कम्पनीले बीमितसँग बीमा शुल्क लिएबापत कुनकुन घटनाका जोखिमका लागि क्षतिबापतको केकति रकम भुक्तानी हुने भन्ने बेहोराको शर्तसहितको बीमा लेख अर्थात् बीमा करारअन्तर्गतका कागजात जारी गर्छ । बीमा दाबी पर्न आएको अवस्थामा बीमितले बीमा गर्न पेश भएका प्रस्तावका कागजात, बीमक कम्पनीले जारी गरेको बीमालेख, त्यसको अनुसूचि तथा बीमासँग सम्बन्धी सम्पुष्टिका कागजातलाई आधार मानी दाबी भुक्तानी गर्छ । बीमकले उल्लिखित कागजातविपरीत दाबी भुक्तानी गर्न अस्वीकार गरेमा दाबीकर्ताले नेपाल बीमा प्राधिकरणमा उजुरी गर्न सक्छ । बीमा प्राधिकरणले दाबी भुक्तानी गर्न वा बीमकले दाबी भुक्तानी नगरेको सदर गर्न पनि सक्छ । बीमा प्राधिकरणले गरेको निर्णयउपर उच्च अदालतमा पुनरावेदन लाग्छ ।  बीमा दुई वा दुई पक्षबीच गरिने करार भएको हुँदा बीमा व्यवसाय करारबाट शुरू हुन्छ । बीमा ऐनको दफा ६२ ले बीमा करार लिखित हुनुपर्ने व्यवस्था गरेको छ । बीमा दाबी भुक्तानीमा मुलुकी देवानी संहिता, २०७४ मा उल्लिखित करारसम्बन्धी व्यवस्थाका साथै बीमाका विशेष कानून बीमा ऐन २०७९ को व्यवस्था पूर्ण पालना गर्नुपर्छ । बीमा ऐनले बीमा करारमा प्रस्ताव, बीमालेख, त्यसको अनुसूचि तथा त्यस सम्बन्धमा जारी गरेको सम्पुष्टि आदि पर्न आउँछ । बीमा दाबी भुक्तानीका लागि बीमा ऐनमा देहायका आधार लिइन्छ । (बीमा ऐनको दफा ६२ (१),२) बीमितले बीमाका लागि राखेका प्रस्तावमा उल्लेख गरेको व्यवस्था  बीमाका लागि बीमितले बीमकलाई बीमासम्बन्धी प्रस्ताव राखेको हुन्छ । बीमा दाबी भुक्तानीमा विवाद आएमा प्रस्तावका आधार पनि बीमा विवाद समाधान गरिन्छ । सद्विश्वास : बीमा ऐन २०७९ को दफा ६२ ले बीमा करार गर्दा बीमक तथा बीमितले प्रस्तावित जोखिम सम्बद्ध तथ्यपरक जानकारी सद्विश्वासको आधारमा एकअर्कालाई स्पष्ट रूपमा गर्नुपर्छ । बीमा गर्दा बीमा कम्पनीले बीमितबाट बीमासँग सम्बन्धी सत्यतथ्य र विश्वासका आधारमा बीमा हुने हुँदा बीमा सद्विश्वास (एड्मस्ट गुड फेथ ) का आधारमा हुने गर्छ ।  बीमा कम्पनीले बीमा गर्न पूर्वबीमित (बीमा गर्ने) सँग बीमा गर्ने विषय वस्तुबारे विभिन्न प्रश्नावली बनाएको हुन्छ । उक्त प्रश्नावलीमा बीमितले सत्यतथ्य लुकाउनु हुँदैन । सत्यतथ्य लुकाएको कुरा पछि पत्ता लागेमा बीमा कम्पनीले बीमा दाबी भुक्तानी गर्न अस्वीकार गर्न सक्छ । उदाहरणका लागि कुनै व्यक्तिले मेडिकल इन्स्योरेन्स गरेको अवस्थामा बीमा कम्पनीलाई उससँग भएका रोगहरू जस्तै उच्च रक्तचाप, मधुमेह, मुटुको रोग आदि छ भने त्यस रोगबारे जानकारी गराउनुपर्छ । यदि यी खुलाउन पर्ने विवरण नखुलाएको र पछि पत्ता लागेमा सद्विश्वास (एड्मस्ट गुड फेथ) का आधारमा बीमा कम्पनीले बीमा दाबी दिन अस्वीकार गर्न सक्छ । बीमायोग्य हित (इन्स्योरेबल इन्टरेस्ट) : बीमा ऐनको दफा ६२ (४)ले बीमा गर्ने प्रस्तावक (बीमा गर्न चाहने) को विषयवस्तुमा बीमायोग्य हित हुनुपर्ने व्यवस्था छ । बीमायोग्य हित नभएको कुरामा बीमा गरेको अवस्थामा बीमा कम्पनीले बीमा दाबी भुक्तानी इन्कार गर्न पनि सक्छ । बीमायोग्य हित (इन्स्योरेबल इन्टरेष्ट ) भन्नाले बीमा गर्ने व्यक्तिले जुन कुरा बीमा गर्न चाहेको त्यसमा आर्थिक हित रहेको हुनुपर्छ । बीमा सिद्धान्तले बीमा गर्ने विषयवस्तु र बीमा गर्ने व्यक्तिको सम्बन्धित विषयवस्तुमाथि आर्थिक हित गाँसिएको हुनुपर्छ भन्ने रहेको छ । बीमा गर्नेलाई बीमा गरेको विषयवस्तु सुरक्षित भएमा गर्नेको आर्थिक लाभ र क्षति भएमा नोक्सानी हुन्छ । कुनै बैंकले ऋणीको घर धितो राखी कर्जा दिन्छ भने उक्त धितो सम्पत्तिमा बैंकको बीमायोग्य हित (इन्स्योरेबल इन्टरेस्ट) छ । अर्थात्, उसको आर्थिक हितमा हुने हुँदा उक्त धितोको मालिक बैंक नभए तापनि पनि बैंकले बीमा गर्न सक्छ किनभने उक्त सम्पत्ति नोक्सान भएमा बैंकलाई नोक्सानी हुन्छ । त्यस्तै कुनै व्यक्तिले आफ्नो जीवन बीमा गर्न सक्छ भने लोग्नेले स्वास्नीको र स्वास्नीले लोग्नेको बीमा गर्न सक्छ । यी व्यक्तिबीच पनि बीमायोग्य हित हुने अवस्था रहन्छ । बीमा गर्ने व्यक्तिको बीमायोग्य हित नभएको बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनी बाध्य नहुन सक्छ ।  बीमा लेख, अनुसूचि, सम्पुष्टि तथा नोक्सानको क्षतिपूर्ति : बीमा इन्डेम्निटी अर्थात् नोक्सानको क्षतिपूर्ति दिने वा संरक्षण गर्न गरिन्छ । नोक्सानको क्षतिपूर्ति दिने वा संरक्षण गर्नेे बीमा करारभित्र बीमालेख, अनुसूचि, सम्पुष्टि आदि व्यवस्था रहेको हुन्छ । बीमा कम्पनीले बीमितसँग निश्चित बीमा शुल्क लिई भविष्यमा कुनै घटना घटेमा सो घटनाबाट भएको क्षतिको उत्तरदायित्व ग्रहण गरी क्षतिपूर्ति दिने प्रतिज्ञा गरी बीमालेख जारी गर्छ । बीमालेखमा भएको व्यवस्था अनुसूचि, सम्पुष्टिले अझ स्पष्ट्याएको हुन्छ । बीमकले बीमा प्राधिकरणले स्वीकृति दिएबमोजिम बीमालेख जारी गर्नु पर्ने व्यवस्था छ । बीमालेख जारी भएपछि बीमक र बीमितबीच बीमा करार भएको मानिन्छ । त्यस्तो करारको शर्त दुवै पक्षका लागि बन्धनकारी रहने व्यवस्था छ । (बीमा ऐन २०७९ को दफा ६३(१) ,(२) । बीमा दाबी भुक्तानी, फछ्र्योट गर्नुपर्ने  सम्पत्ति वा चिज, वस्तु जिउधनको आर्थिक नोक्सानको क्षतिपूर्ति वा संरक्षण गर्न बीमा गरिन्छ । बीमितले बीमालेखमा उल्लिखित शर्तबमोजिम बीमक कम्पनीमा बीमा दाबी पेश हुन आएमा त्यस्तो दाबीको मूल्यांकन गराउन पर्ने भए त्यसो गराई र क्षति मूल्यांकन गराउन नपर्ने भए त्यसरी पेश भएमा बीमा प्रस्ताव, बीमालेख, अनुसूचि, सम्पुष्टि तथा नोक्सानको क्षतिपूर्ति दिई दाबी फछ्र्योट गर्नुपर्ने दायित्व बीमकको हुन्छ । बीमा ऐनको दफा १२३ ।  लेखक अधिवक्ता हुन् ।