मंसिर ३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राचीन कला, संस्कृति र सीप विश्वमा पुर्याउन हस्तकला उद्योगको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
नेपाल हस्तकला महासंघको १८ औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता उद्घाटन समारोहलाई शुक्रवार राजधानीमा सम्बोधन गर्नुहुँदै उहाँले आन्तरिक रोजगारी सृजनामा समेत यो उद्योगले सहयोग रहेको बताउनुभयो ।
‘हस्तकला उद्योगले आधुनिकतासँग मिल्नेगरी सामग्री निर्माण गर्नुपर्छ, यसले अझै विश्वजगत्मा हस्तकलालाई चिनाउन सहयोग गर्छ, यसबाट हस्तकलाका सामग्री विक्री वितरणमा पनि मद्दत पुग्छ, यसकै माध्यमबाट प्राचीन कला, संस्कृति विश्वभर फैलन्छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो ।
हस्तकला उद्योगले नेपालको गरिमालाई विश्वमा उच्च बनाएकाले पनि यसको प्रवर्द्धनमा सरकारले सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो । दक्षिण एशियाली क्षेत्रीय सहयोग सहयोग संगठन(सार्क) हस्तकला विकास केन्द्रका माध्यमबाट पनि नेपाली हस्तकलालाई विश्वभर फैल्याउने गरी काम अघि बढाइने प्रधानमन्त्री देउवाको भनाइ थियो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले हस्तकलाले देशको कला, संस्कृतिलाई देशविदेशमा प्रचारप्रसार गर्न सहयोग पुगेको बताए। ‘ढुङ्गा र धातुका मूर्ति, काष्ठकलाका चित्र, मिथिला कला चित्रलगायत हस्तकलाका सामग्री बनाइ विदेशमा निर्यात व्यापार प्रवर्द्धन गर्न सकिन्छ, यसबाट हाल ८० देशमा वार्षिक ६ खर्ब रुपैयाँको हाराहारीमा भइरहेको हस्तकलाको व्यापार वृद्धि गर्न मद्दत पुग्छ’, उनले भने ।
महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले नेपालको मौलिक उद्योगका रुपमा रहेका हस्तकलाले २०४८ देखि नै व्यापार प्रवर्द्धनका लागि सरकारसँगको सहकार्यमा मेला आयोजना गर्दै आएको जानकारी दिए। हस्तकला उत्पादनको बजारीकरणका लागि मेलाले सहयोग गर्दै आएको उनले बताए ।
‘हस्तकलाले आन्तरिक रोजगारी सृजनामा सहयोग गरेको छ, नेपाल आउने पर्यटकले चिनोका रुपमा लैजाने सामग्रीका रुपमा हस्तकला उद्योग उपयोग हुने गरेको छ, कोभिडको जोखिम कायमै रहेपनि वार्षिक रु छ अर्बको सामग्री विदेश निर्यात हुने गरेको छ’, अध्यक्ष शाक्यले भने ।
हाल आन्तरिक बजारमा वार्षिक २ अर्ब रुपैयाँको हस्तकलाका सामग्री वितरण हुने गरेको छ । हस्तकला उद्योगले ८ लाखभन्दा बढी मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा रोजगारी दिएको छ । त्रिपुरेश्वरस्थित उद्योग परिसरमा सार्क हस्तकला विकास केन्द्र निर्माण सम्पन्न भई सञ्चालन हुने तयारीमा रहेको छ ।
महासंघले हस्तकला ग्रामको अवधारणा दुई दशकअघिदेखि अघि सारेपनि कार्यान्वयनमा आउन सकेको छैन । हस्तकला नीति बनाएर सरकारलाई बुझाएको एक दशक पुग्न लाग्दासमेत जारी नभएको महासंघले बताएको छ ।
व्यापार मेला संयोजक रबिन्द्र शाक्यले विसं २०२९मा स्थापना भएको महासंघमा हाल ४ हजार २५५ जना सदस्य रहेको जानकारी दिए। महासंघको नेतृत्वमा ललितपुरलाई विश्वमै ३५औं कला नगरी घोषणा गर्न सफल भएको उनले सुनाए । मंसिर ५ गतेसम्म सञ्चालन हुने मेलामा १ लाख मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । व्यापार मेलामा ५ करोड रुपैयाँका हस्तकलाका सामग्री विक्री वितरण गर्ने लक्ष्य राखिएको आयोजक समितिले बताएको छ ।
कोरोना महामारी शुरु भएपछि विदेशी पर्यटक घटेका कारण हस्तकला उद्योगमा समस्या आएकाले आन्तरिक बजार प्रवर्द्धनमा सरकारले सहयोग गर्नुपर्ने कार्यक्रम संयोजक शाक्यको माग छ । मेलाका लागि सरकारी निकाय निर्यात प्रवर्द्धन केन्द्रले पहिले लागतको आधा सहयोग गर्ने गरेकामा कोरोना महामारीबाट हस्तकला उद्योगको व्यापार घटेका बेला घट्नु दुःखद् भएको बताए ।
मेलामा हस्तकलाका ४२ ओटा विधाका १२० ओटा कक्ष राखिएको छ । कार्यक्रममा महासंघले प्रकाशन गरेको हस्तकला उद्योग डाइरेक्ट्री र संस्कृत भाषामा लेखिएको साधनामाला ग्रन्थको नेपाली अनुवादको प्रधानमन्त्री देउवाले विमोचन गर्नुभएको थियो । हस्तकलाका सामग्रीको अनलाइन मार्केटिङका लागि इकला पोर्टलको पनि उहाँले शुभारम्भ गर्नुभएको छ । पोर्टलका माध्यमबाट हस्तकला उद्योग प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको बताइएको छ ।रासस
काठमाडौं (अस) । नेपाल हस्तकला महासंघले सरकारले आर्थिक वर्ष ०७८÷०७९ का लागि प्रस्तुत गरेको बजेट हस्तकला व्यवसायको उत्थानमा सहयोग पुग्ने खालको रहेको बताएको छ ।
महासंघले कोभिड–१९ बाट थलिएको हस्तकला उद्योग व्यवसायको पुनरुत्थानका लागि निकासी अभिवृद्धिको पञ्चवर्षीय लक्ष्यसहितको अवधारणा प्रधानमन्त्री, अर्थमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमक्ष प्रस्तुत गरिएकामा सोहीअनुसार बजेट आएकामा खुसी व्यक्त गरेको छ ।
महासंघका अनुसार उक्त अवधारणामा हस्तकला उद्योग व्यवसाय प्रवद्र्धनका निम्ति सीपमूलक तालिम व्यवस्था, उद्योग व्यवसाय सञ्चालनका लागि स्टार्टअप ऋणको व्यवस्था, कर सहुलियत, पुनर्कर्जा कोषको निरन्तरता, रोजगारीमूलक सीप विकासका निम्ति कार्यस्थलमा तालिम व्यवस्थालगायत विषयलाई बजेटले सम्बोधन गरेको छ ।
हस्तकला उद्योग व्यवसायको दिगो संस्थागत विकासका निम्ति महासंघको पहलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा सार्वजनिक/निजीसाझेदारी अवधारण अनुसार स्थापना गरिने सार्क हस्तकला विकास केन्द्रको भवन निर्माणलाई पूर्णता प्रदान गर्ने सरकारको प्रतिवद्धताप्रति पनि उसले धन्यवाद दिएको छ ।
हाल कोभिड– महामारीका कारण हस्तकलाको आन्तरिक र अन्तर्राष्ट्रिय बजार संकुचन हुँदा निकासी तथा रोजगारीमा ३० प्रतिशतले कमी भए पनि करिब ८ लाख व्यक्ति हाल पनि यस क्षेत्रमा संलग्न रहेको महासंघको अनुमान छ ।
निकासीकर्तालाई दिइने निर्यात अनुदानलाई उत्पादकको तहसम्म पुर्याइने तथा निर्यात अनुदानको वृद्धि बढाउने विषय सकारात्मक रहे पनि निर्यातमा सरकारले उपलब्ध गराउँदै आएको नगद प्रोत्साहन लघु, घरेलु तथा साना उद्यमीले प्राप्त गर्न नसकेको महासंघले बताएको छ ।
त्यसका लागि उनीहरूलाई नगद प्रोत्साहनका साथै आय कर, कर छुटलगायत सुविधा उपलब्ध गराउनुपर्ने महासंघको माग छ ।
हस्तकला क्षेत्रको दीर्घकालीन विकासका निम्ति सात वटै प्रदेशमा हस्तकला ग्राम स्थापना गर्न सरकारलाई अनुरोध गरे पनि बजेटले सम्बोधन नगरेकामा उसको गुनासो छ ।
हाम्रो देशको सामाजिक आर्थिक विकासको गतिलाई तीव्रता दिन जनशक्तिको विकासलाई पहिलो प्राथमिकतामा राख्नुुपर्ने हुन्छ । गुणस्तरीय जनशक्ति मुलुकको विकासका लागि पहिलो पूर्वाधार हो । सरकारले देशको जनशक्तिलाई नयाँ प्रविधि र बजार सुहाउँदो गुणस्तरीय वस्तु उत्पादन गरी स्वदेशी तथा विदेशी बजारमा आयात निर्यात गर्नु आवश्यक छ । यसका लागि औद्योगिकीकरण गर्नु अति आवश्यक छ । जबसम्म कृषिक्षेत्रमा रहेको निर्भरतालाई घटाई मुलुकमा विद्यमान बेरोजगारी, अर्ध बेरोजगारी र गरीबी न्यूनीकरण गरी औद्योगिकीकरणको दिशामा गति लिन सकिँदैन तबसम्म अपेक्षित आर्थिक वृद्धिदर प्राप्त हुने छैन । भूपरिवेष्टित, साँघुरो भौतिक पूर्वाधार, सानो आन्तरिक बजार त्यसमाथि राजनीतिक अस्थिरता र सामाजिक–आर्थिक विभेद र शोषणबाट सृजित द्वन्द्वका कारण विगतका वर्षमा औद्योगिकीकरणले गति लिन सकेन । अन्तरराष्ट्रिय बजारमा उच्च प्रतिस्पर्धा र विकसित राष्ट्रहरूको पक्षपात पूर्ण व्यवहारले स्वदेशी उद्योगहरूलाई मार परी व्यापार सन्तुलन र भुक्तानी सन्तुलनमा असर परेको त छँदै छ, स्वदेशी उत्पादित वस्तुमा गुणस्तरको ह्रास, उन्नत प्रविधि र दक्षताको अभाव, विदेशी वस्तुहरूको अनियन्त्रित बाढीले उद्योग क्षेत्र फस्टाउन सकिरहेको छैन । नीतिगत स्थायित्व नहुनु, कानूनी जटिलता र असुरक्षा, प्रक्रियागत ढिलासुस्ती, पूँजीको अपर्याप्तता अतिवादी पर्यायवरणीय संरक्षण सोचले अहिले उद्योग क्षेत्रको विकासमा थप चुनौती सृजना भएको छ । उद्योग क्षेत्रमा प्राप्त अवसरहरूलाई अधिकतम सदुपयोगका लागि सो क्षेत्रमा आबद्ध सरकारी वा सार्वजनिक तथा निजीक्षेत्रका विभिन्न निकाय, प्रतिष्ठान र व्यापारिक फर्म÷कम्पनीहरूले रणनीतिक कार्ययोजनाहरू निर्माण गरी कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ ।
उद्योग क्षेत्रमा सेवा प्रवाहका लागि उपलब्ध साधनहरू (मानवीय, वित्तीय र वस्तुगत) को कुशल उपयोग हुन सकेको छैन । नियमकानूनको फितलो कार्यान्वयन, सेवा प्रवाहमा ढिलासुस्ती र गुणस्तरीयता नहुनु, निगरानी राख्ने निकायहरूको बेवास्ता, सेवा प्रवाहमा संलग्न कर्मचारीहरूमा उचित तालीमको अभाव, सम्बद्ध कर्मचारीहरू व्यक्तिगत स्वार्थमा संलग्न रहनु र दण्डहीनताको स्थिति रहनु, दरिलो र स्वच्छ नेतृत्वको अभाव आदिले उद्योगको स्थापनामा असर परेको छ । लामो समय बितिसक्दा पनि यी समस्या निराकरण गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउनेतर्फ अपेक्षित सुधार भएको पाइँदैन । अधिकांश सेवाहरू जति प्रभावकारी र उत्पादक हुनुपर्ने हो, त्यति हुन सकेको छैन ।
देशको आवाधिक योजना, वार्षिक कार्यक्रम तथा बजेटमा घरेलु तथा साना उद्योगहरू प्रवद्र्धन गर्नेतर्फ उच्च प्राथमिकता दिई कार्यनीतिहरू स्पष्ट गरिए तापनि यस क्षेत्रको आशातीत रूपमा विकास हुन सकेको छैन । नेपाली परम्परा एवम् मौलिकतालाई संवर्द्धन गर्नमा सघाउ पुर्याउने परम्परागत उद्योगहरू खुला प्रतिस्पर्धामा टिक्न नसकी पयाप्त संरक्षणको अभावमा टिक्न नसक्ने अवस्था सृजना भएको छ । आफ्नो मौलिक संकृति र परम्परामा आधारित घरेलु उद्योगमा जोड दिनुपर्ने देखिन्छ । दक्ष तथा व्यवस्थापकीय जनशक्तिको अभावबाट कतिपय घरेलु तथा साना उद्योगहरू पुरानै परिपाटी र पारिवारिक परिवेशबाट नै सञ्चालन हुने हुँदा आधुनिक व्यवसाय तथा व्यवस्थापकीय दक्ष तथा कौशलताको विकास गरिनुपर्छ । घरेलु तथा साना उद्योगहरूमा पुराना विस्थापित भइसकेका अनुपयुक्त प्रविधिहरू प्रयोगमा रहेकाले नवीन प्रविधि हस्तान्तरण जरुरी छ । घरेलु उद्योगका लागि दिइने सुविधा सहुलियतमा निश्चितता दिई निर्बाधरूपमा प्रक्रियागत झन्झटविना प्रदान गर्नुपर्छ । उच्च प्रविधियुक्त विदेशी सामानको बढ्दो प्रयोग, न्यून उत्पादकत्व, पुरानो प्रविधिबाट उत्पादित सामानको गुणस्तरमा कडा निगरानी राख्न नसक्नुजस्ता समस्या उद्योगमा छ । बजार विश्लेषण राम्रोसँग नगरी बजार मागलाई अधिक प्रक्षेपण गर्ने प्रवृत्ति, बजार सूचना प्रणाली विकास नहुनु, नयाँ वस्तु उत्पादन तथा विविधीकरण नभई उत्पादित वस्तुले समेत बजार नपाई बन्द हुने स्थिति देखिएबाट बजारीकरण समस्या समाधानको लागि विशेष पहल गरिनुपर्छ । लघु, घरेलु तथा साना उद्योग विकासका लागि अलगै नीतिगत एवम् कानूनी व्यवस्था र विद्यमान औद्योगिक नीति एवम् ऐनमा समेत पुनरवलोकन हुन आवश्यक देखिन्छ ।
मौलिकता, संस्कृति तथा परम्परामा आधारित हस्तकला उद्योग प्रवर्द्धनका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्छ । औद्योगिक जनशक्ति तयारका लागि विभिन्न शीप विकास प्रदान गर्ने सस्थाहरूबाट प्रदान हुने शीप विकास तालीममा दोहोरोपन नल्याई नहुने गरी प्रशिक्षकहरूको सक्षमता अभिवृद्धि गरिनुपर्छ । शीप प्रविधि, पूर्वाधार विकास एवम् व्यवस्थापकीय सक्षमता अभिवृद्धि गर्न निजीक्षेत्रलाई नेतृत्वदायी भूमिका प्रदान गरी, सरकार निजी साझेदारी कार्यक्रम सशक्तरूपमा सञ्चालन गरिनुपर्छ । अनुसन्धान तथा विकास बजार प्रवर्द्धनका लागि संस्थागत सुदृढीकरण गरी वस्तु विशिष्टीकरण तथा विकासजस्ता कार्यक्रमहरू सघन रूपमा सञ्चालन गरिनुपर्छ । स्थानीय स्तरमा उपलब्ध प्रकृतिक स्रोत र स्थानीय शीपमा आधारित उद्योगहरूलाई प्रोत्साहन गरी एक गाउँ एक माल वस्तु उत्पादन गर्न प्रोत्साहन गरिनुपर्छ । प्राकृतिक रूपमा नेपालमा पाइने बहुमूल्य एवम् अर्ध बहुमूल्य पत्थरहरूलाई स्वदेशमै काट्ने, कुद्ने, चम्काउने, कार्य गरी रत्न र गहना स्वदेशमा नै उत्पादन गर्न, प्रयोग गर्न र निकासी गर्न प्रोत्साहित गर्न नेपालमा एक रत्ननगरी स्थापना गर्नमा जोड दिनुपर्छ ।
नेपालका स्थानीय स्रोत, साधन शीप प्रयोग गरी रोजगारीको अवसर बढाउन र गरीबी न्यूनीकरण गर्न घरेलु तथा साना उद्योगहरूको प्रचुर सम्भावना विद्यमान छ । वर्तमान खुला अर्थतन्त्रमा खरो उत्रन सक्ने गरी प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने, स्थानीय साधन र शीपलाई कसरी अधिकतम बजारमुखी बनाउने, तुलनात्मक लाभ हुने वस्तुहरूको पहिचान गरी त्यस्ता वस्तुहरूको उत्पादन र उत्पादकत्व बढाउने, परम्परागत प्रविधिमा दक्षता अभिवृद्धि गर्ने एवम् गुणात्मक सुधार ल्याउनैपर्ने विषयहरू चुनौतीका रूपमा रहेका छन् । साना उद्योगहरूलाई ठूला उद्योगहरूको सहायक उद्योगका रूपमा कसरी अन्तरसम्बन्ध कायम गर्ने हो, कसरी एकअर्काको परिपूरकका रूपमा विकास गर्ने भन्ने नीति र व्यवस्थातर्फ ध्यान जानुपर्ने देखिन्छ । यसका लागि नेपाली युवालाई खाडी मुलुक जानबाट रोकी देशमै उद्योगसम्बन्धी आवश्यक रोजगारीको स्थापना गर्नुपर्छ । यसो हुन सकेमा यस क्षेत्रबाट मुलुकको औद्योगिक विकासमा ठूलो योगदान भई सबल आर्थिक कारोबार भई मुलुक अग्रपंक्तिमा लम्कने आशा लिन सकिन्छ ।
लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।