पुस १३, काठमाडौं । एनएमबि बैंकले स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम) सँग पहिलो पटक १ करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने गरि सोमवार सम्झौता गरेको छ ।
सिफेमबाट उक्त कम्पनीले प्राप्त गरेको कर्जा रकम मुख्यतः लघु साना तथा मझौला उद्यमहरुलाई कर्जा प्रदान गर्न र वित्तीय पहुँच अभिवृद्धि गर्न, वित्तीय क्षेत्रको विकासमा योगदान पुग्ने, रोजगारी वृद्धिमा सहयोग र स्थानिय अर्थ व्यवस्थामा सहजता बढाउन सहयोग पुग्ने क्षेत्रहरुमा लगानी गर्नेछ ।
सम्झौतापछि नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापेलरले स्वीस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ मार्केटसको एनएमबि बैंक लिमिटेडमा ऋण लगानीबाट नेपाल – स्वीस सहकार्यमा नयाँ अध्यायको शुरुवात भएको बताइन् । उनले यो लगानीले नेपालको अर्थतन्त्रका प्रमुख संवाहकहरु, अर्थात नेपाली लघुसाना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच बढाउन सहयोग गर्ने पनि बताइन् ।
त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सम्झौताको महत्वलाई प्रकाश पार्दै नेपालमा नै पहिलो पटक सिफेमबाट कर्जा लगानी भित्र्याउनका लागि सम्पन्न भएको ऋण सम्झौताले वास्तविक अर्थतन्त्रका क्षेत्रमा लगानी गर्ने हाम्रो प्रतिबद्धतालाई थप गति दिएको बताए ।
उनले हालको चुनौतीपूर्ण समयमा साना व्यवसायहरूले उनीहरूको व्यवसायलाई निरन्तरता दिनको लागि निर्वाध रुपमा नगद प्रवाहमा पहुँच पुर्याउन यो सम्झौताले सहयोग गर्ने पनि बताए ।
उक्त सम्झौता गानीका स्रोतहरूलाई विविधीकरण गर्दै अन्तरराष्ट्रिय सरोकारवालाहरूसँग सहकार्यलाई बढाउने रणनीतिको निरन्तरता भएको कम्पनीले बताएको छ ।
विगतमा समेत कम्पनीले अन्तरराष्ट्रिय वित्त निगम, सीडीसी समूह, अन्तरराष्ट्रिय विकासका लागि ओपेक कोष र सिम्बायोटिक्स लगायतका संस्थाहरुबाट ऋण लिई नेपाल राष्ट्र बैंकले तोके बमोजिम प्राथमिकताका क्षेत्रहरुमा लगानी गर्दै आएको छ ।
सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्राउने गरि भएको उक्त सम्झौतामा सिफेम र स्वीस सरकार विकास सहयोग एसडीसी बीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको छ ।