निगम र थाई एयरवेजबीच ग्राउन्डह्यान्डलिङ सम्झौता

काठमाडौं। नेपाल वायुसेवा निगम र थाई एयरवेजबीच ग्राउन्ड ह्यान्डलिङका विषयमा सम्झौता भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफै ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको थाई एयरवेजले अब यस्तो सेवा निगमबाट लिनेछ । निगम र थाई एयरवेजबीच २९ अक्टोबर २०२३ मा सम्झौता भई निगमले थाईको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको हो । उक्त कम्पनीले आफूसँग रहेको ८० थान ग्राउन्ड ह्यान्डलिङ उपकरण निगमलाई हस्तान्तरण गरेको छ । यसका लागि थाई एयरवेजले गत साउन ३ गते सरकारबाट स्वीकृति पाइसकेको छ ।  निगमको स्वामित्वमा उपकरण रहने गरी मङ्सिर ३० गते हक हस्तान्तरण सम्झौतासमेत भइसकेको निगमले जानकारी दिएको छ । उक्त सम्झौतामा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र थाई एयरवेजका वेस्टर्न एन्ड मिडिल इस्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर गरेको बताइएको छ । केही समयअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धामा लैजाने निर्णय गरेको थियो । निगमले हालसम्म विनाप्रतिस्पर्धा ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदै आएको छ ।