काठमाडौं (अस) । कोरोना महामारीमा संक्रमित हुनेहरू बढ्दै गएपछि डेभलपमेन्ट बैंकर्स संघले विकास बैंकहरूलाई १२ बुँदे निर्देशन दिएको छ ।
सदस्य बैंकले मुख्य कार्यालयमा दुई जना वरिष्ठ पदाधिकारीलाई सम्पर्क व्यक्ति तोकेर तिनको नाम, मोबाइल नम्बर, इमेल संघको सचिवालयलाई उपलब्ध गराउन भनिएको छ ।
डिजिटल प्रडक्टबाट गरिने बैंकिङ कारोबारका प्रक्रिया र अपनाउनुपर्ने सावधानीबारे ग्राहकहरूलाई उपलब्ध र सम्भव भएसम्मका सञ्चार माध्यमबाट जानकारी गराउन सदस्य बैंकलाई संघको आग्रह छ । स्थानीय प्रशासनले बैंकिङ सेवासमेत प्रवाह गर्न रोक लगाएको वा वैकल्पिक व्यवस्था गरेको भए सोहीअनुसार गर्नसमेत निर्देशन दिइएको छ । संघले राष्ट्र बैंकबाट जारी गरिएको निर्देशनको अक्षरशः पालना गरेर कर्मचारी तथा ग्राहकको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई कोभिडको असर पर्न नदिन सम्भव भएसम्मका उपाय अवलम्बन गर्न सुझाएको छ ।
निषेधाज्ञा जारी भएका स्थानमा राष्ट्र बैंकले दिएको निर्देशनको परिधिभित्र रही सेवा प्रदान गर्न प्रत्येक सदस्य बैंकले बनाएको योजना एकअर्काबीच आदान– प्रदान गर्ने, सेवा प्रदान गर्न खोलिने शाखा, वैकल्पिक शाखाको सूची र बैंकिङ समयसमेत उल्लेख गरी प्रत्येक दिन बैंकको वेबसाइट र शाखाका मूल ढोकामा प्रकाशित गर्ने, स्थानीय प्रशासनले बैंकिङ सेवा प्रवाह गर्न रोक लगाए समन्वय गरेर सोहीअनुसार गर्ने, प्रत्येक सदस्य बैंकले मुख्य कार्यालय र शाखामा ग्राहकबाट लिइने जानकारी दिन र समन्वयका लागि सम्पर्क व्यक्ति तोकेर उक्त व्यक्तिको फोन नम्बर र इमेल आइडी बैंकको वेबसाइटमा प्रकाशित गर्न संघले निर्देशन दिएको छ ।