नागढुङ्गा सुरुङमार्ग निर्माण तीब्र, १४ महिना भित्र सम्पन्न हुने

बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्ग खन्ने कामले गति लिएको छ । यसअघि केही प्राविधिक कारणले सुरुङमार्ग खन्ने काममा प्रभाव परेको भए तापनि हाल सुरुङमार्ग खन्ने काम तीव्र गतिमा अगाडि बढेको सडक विभागका उपमहानिर्देशक अर्जुन थापाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । दैनिक १३ देखि १४ मिटर खन्ने लक्ष्य भए पनि हाल दैनिक आठ मिटर खन्ने काम भइरहेको उहाँले बताउनुभयो । सुरुङको चार ठाउँबाट खनिएको बताउँदै आगामी दिनमा खन्ने कामलाई बढाउँदै लगिने उहाँले बताउनुभयो । हाल सुरुङको १० प्रतिशत काम सम्पन्न भएकोमा चार सय मिटर खनिसकिएको छ ।