काठमाडौं । भारतीय व्यापारी गौतम अदानीको भाग्य फेरि चम्किन थालेको छ । अदानीको व्यापारिक समूह अदानी ग्रुपका लागि राम्रो खबरहरु आउने क्रम जारी रहँदा उनका विभिन्न कम्पनीको शेयर मूल्यमा पनि तीव्र वृद्धि भइरहेको छ ।
बुधवार लगातार छैठौं दिन पनि कम्पनीका शेयर मूल्यमा लोभलाग्दो वृद्धि देखिएको छ । बुधवार एकै दिन समूहका १० ओटै सूचीकृत कम्पनीको बजार पूँजीकरण १ खर्ब ७० अर्ब रुपयाभन्दा धेरैले बढेको छ । अदानी ग्रिन इनर्जी, अदानी पावर, अदानी ट्रान्समिशन, अदानी टोटल ग्यास र अदानी विल्मर सबैको शेयरले बुधवार अपर सर्किट छोएको छ ।
गएको ६ दिनको कारोबारमा अदानी समूहको शेयरको बजार मूल्य २२ खर्ब रुपयाभन्दा धेरैले बढेको छ । यो वृद्धिसँगै समूहको कूल बजार पूँजीकरण ९० खर्ब रुपया नाघेको छ । फेब्रुअरी २७ मा यो रकम ६८ खर्ब २० अर्ब रुपयामा झरेको थियो । यो संगै रियल टाइम बिलिनयर्समा अदानी २४ औं स्थानमा उक्लिएका छन् । यस अघि उनी २७ औं स्थानसम्म झरेका थिए ।
अमेरिकी लगानी कम्पनी जीक्यूजी पार्टनर्सले समूहमा १ खर्ब ५४ अर्ब ४६ करोड रुपया लगानी गरेको खबर आएयता अदानीको शेयर बढेका छन् । सो कम्पनीले अदानी समूहका ४ कम्पनीको शेयर किनेको थियो । अदानी समूहले ऋणको भाका बाँकी छँदै शेयर धितो राखेर लिएको ७३ अर्ब ७४ करोड रुपया कर्जा भुक्तानी गरेको थियो ।
जनवरी २४ मा अमेरिकी शर्ट सेलर कम्पनी हिन्डनबर्गले अदानी समूहमाथि शेयरमा चलखेल लगायतका आरोप लगाएपछि अदानी समूहका कम्पनीका शेयर मूल्य ८० प्रतिशतसम्म घटेका थिए । तर प्रतिवेदनको प्रभावबाट समूह विस्तारै उब्रिन थालेको संकेत देखिएको छ । एजेन्सीको सहयोगमा